भैरहवा- पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तूप आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले अत्यन्त महत्त्वपूर्ण धरोहर हो। बौद्ध ग्रन्थहरूका अनुसार गौतम बुद्धका अस्तु धातु सुरक्षित रूपमा राखिएको विश्वकै एक मात्र स्तूपका रूपमा यसको विशिष्ट पहिचान छ। यही ऐतिहासिक र धार्मिक महत्त्वका कारण यस क्षेत्रको नामबाट स्थानीय तह रामग्राम नगरपालिका नामकरण गरिएको हो।
तर, यति ठूलो महत्त्व बोकेको स्थलको संरक्षण, विकास र प्रबर्द्धनमा अपेक्षित ध्यान नपुग्दा अहिले यो क्षेत्र विभिन्न समस्या र चुनौतीको घेरामा परेको छ। विशेषगरी कानूनी तथा प्रशासनिक अधिकार क्षेत्र स्पष्ट नहुँदा स्थानीय सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिन्छ। यसले गर्दा न त स्थानीय बासिन्दा सन्तुष्ट छन्, न सम्बन्धित निकायहरूले अपेक्षित उपलब्धि हासिल गर्न सकेका छन्।
बुद्ध जीवन र दर्शनसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस स्तूपलाई धार्मिक पर्यटन, शैक्षिक अध्ययन तथा शान्ति खोज्ने तीर्थयात्रीहरूको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने पर्याप्त सम्भावना छ। तर, आवश्यक पूर्वाधार, व्यवस्थापन र दीर्घकालीन योजना अभावका कारण यसको पूर्ण उपयोग हुन सकेको छैन। विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको यो धरोहरले एकातिर अन्तर्राष्ट्रीय महत्त्व बोकेको छ भने अर्कोतर्फ आन्तरिक व्यवस्थापनको कमजोरी र अधिकार क्षेत्रको विवाद झेल्नु विडम्बनापूर्ण देखिन्छ।
हालै रामग्राम क्षेत्रको भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरूले पनि त्यहाँको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। भैरहवाबाट दर्शनका लागि पुगेका एक पर्यटकले स्तूप क्षेत्र विश्व सम्पदामा सूचीकृत हुन सक्ने उच्च सम्भावना भए पनि सुरक्षा व्यवस्था, सूचना प्रणाली र पर्यटकीय पूर्वाधारको अभावले आफूहरू निराश भएको प्रतिक्रिया दिए।
यस्तै, स्थानीय बासिन्दाहरूले विकासका योजना कागजमै सीमित हुँदा आधारभूत सरसफाइ, संरचना व्यवस्थापन र संरक्षण कार्यमा समेत ध्यान नपुगेको गुनासो गरेका छन्। उनीहरूका अनुसार रामग्रामजस्तो महत्त्वपूर्ण स्थलमा न्यूनतम व्यवस्थापनसमेत नहुनु दुःखद अवस्था हो।
आन्तरिक पर्यटक मात्र होइन, नेपाल भ्रमणमा आउने विदेशी बौद्ध भिक्षु तथा तीर्थयात्रीहरूले पनि रामग्रामको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस स्थललाई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै यसको मौलिकता, शान्त वातावरण र धार्मिक गरिमालाई जोगाउन स्थानीय तहको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।
पर्यटनका दृष्टिले ‘हीरा खानी’ सरह सम्भावना बोकेको रामग्राम विभिन्न कारणले पटक-पटक विवादमा तानिँदै आएको छ। कहिले प्रशासनिक अधिकारको विषयमा, कहिले व्यवस्थापन संरचनामा त कहिले विकास योजनाको प्राथमिकतामा देखिने असमझदारीले यसको विकास प्रक्रियालाई अवरुद्ध बनाएको छ।
रामग्रामको विकासमा सबैभन्दा ठूलो गाँठो कानूनी तथा प्रशासनिक कार्यक्षेत्रमै देखिएको छ। रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवका अनुसार विद्यमान ऐन-कानूनकै कारण स्थानीय सरकारले चाहेर पनि आवश्यक पूर्वाधार निर्माण, संरक्षण तथा व्यवस्थापनका काम अघि बढाउन सकेको छैन। स्थानीय सरकारलाई पर्याप्त अधिकार नदिइँदा रामग्रामजस्तो राष्ट्रीय महत्त्वको सम्पदाको विकासमा अवरोध सिर्जना भएको उनले बताए।
नगरपालिकाले ‘रामग्राम विकास कोष’ गठन गरी अन्तर्राष्ट्रीय स्तरमा यसको प्रचारप्रसार गर्न अमेरिका र चीनसम्म पहल गरेको भए पनि केन्द्र सरकारको अपेक्षित सहयोग नपाउँदा योजना कार्यान्वयन प्रभावकारी बन्न सकेको छैन। यसले स्थानीय तह र केन्द्रबीच समन्वय अभावको समस्या झनै स्पष्ट पारेको छ।
बुद्ध पूर्णिमाको अवसरमा पण्डितपुरबाट रथयात्रा गरी अस्तु धातु सम्मान गर्ने सांस्कृतिक परम्पराले रामग्रामको ऐतिहासिक गरिमा जोगाइरहेको छ। यस्ता गतिविधिले धार्मिक तथा सांस्कृतिक महत्त्वलाई जीवन्त राखे पनि दीर्घकालीन पूर्वाधार विकास, संरक्षण योजना र व्यवस्थित पर्यटन व्यवस्थापन अझै अपर्याप्त रहेको देखिन्छ।
रामग्राम स्तूप केवल एउटा ऐतिहासिक ढिस्को मात्र नभई विश्वभरका करोडौं बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। त्यसैले यसको संरक्षण र विकास केवल स्थानीय तहको मात्र नभई राष्ट्रीय तथा अन्तर्राष्ट्रीय चासोको विषय बन्नु आवश्यक छ।
यसका लागि लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग र स्थानीय सरकारबीच स्पष्ट कार्यविभाजन, समन्वय र सहकार्य अनिवार्य देखिन्छ।
अस्तु धातु सुरक्षित रहेको यस अद्वितीय धरोहरको संरक्षणमा भइरहेको ढिलाइले हाम्रो राष्ट्रीय गौरवमाथि नै प्रश्न उठाइरहेको छ। त्यसैले एकीकृत गुरुयोजना निर्माण गरी कानूनी स्पष्टता ल्याउने, स्थानीय सरकारलाई आवश्यक अधिकार प्रदान गर्ने र दीर्घकालीन दृष्टिकोणसहित विकास कार्य अघि बढाउने आजको प्रमुख आवश्यकता बनेको छ।