काठमाडौँ । जिल्लाको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी निर्वाचित भएका छन् । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मत गणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थापाले १० हजार १६६ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन् । अधिकारी र थापाको मतान्तर १७४ रहेको थियो ।
यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन् । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गरिन् ।
उपप्रमुखमा पराजित डङ्गोल अघिल्लो कार्यकालमा टोखाको उपप्रमुख रहेकी थिइन् । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो ।