कैलाली- धनगढी उपमहानगरपालिकाको आयोजनामा आजदेखि सीप तथा रोजगार मेला सुरु भएको छ । मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले गरेका छन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले देशभित्र रोजगारी सिर्जना गर्न सीप विकास अनिवार्य रहेको बताए । “आजको आवश्यकता प्रमाणपत्रभन्दा सीप हो,” भन्दै उहाँले सीपयुक्त जनशक्ति उत्पादनमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गरे। मन्त्री भण्डारीले यस्ता मेलाले युवालाई वैदेशिक रोजगारीको विकल्प दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सीप तथा रोजगार मेलामार्फत स्थानीय युवालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताए । उनले धनगढीलाई रोजगारी सिर्जनाको केन्द्र बनाउने दीर्घकालीन योजनाअनुसार सीपमूलक तालिमलाई प्राथमिकता दिइएको उल्लेख गरे ।
मेयर हमालले “सीप सिकेर आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको बताउदै युवालाई अवसरको अधिकतम उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपमेयर कन्दकला कुमारी रानाले सीप विकासले आर्थिक सशक्तीकरणसँगै सामाजिक रूपान्तरणमा टेवा पुर्याउने बताइन् ।
सीप तथा रोजगार मेलामा सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये ५१ पालिकाको सहभागिता रहेको आयोजक धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ ।
मेलाअन्तर्गत अटोमोबाइल, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि (ICT), शैक्षिक तथा सेवा तथा आर्ट, क्राफ्ट एण्ड डिजाइनिङ गरी ७ विधाअन्तर्गत २२ फरक–फरक तालिम सञ्चालन भइरहेका छन् ।
रोजगारी सृजना र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्षेत्रका २२ वटा निशुल्क सीपमूलक तालिम सञ्चालन गरिने भएको छ । तालिम कार्यक्रमबाट ६ सय जना सहभागी लाभान्वित हुने आयोजकले जनाएको छ ।
तालिमहरू अटोमोबाइल, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि (ICT), शैक्षिक तथा सेवा र आर्ट, क्राफ्ट तथा डिजाइनिङ क्षेत्रअन्तर्गत सञ्चालन हुनेछन् । प्रत्येक तालिममा २५ जनाको सहभागिता रहने व्यवस्था गरिएको छ भने सांस्कृतिक पोशाक निर्माण तालिममा ३५ जनालाई समेटिनेछ ।
अटोमोबाइल क्षेत्रअन्तर्गत इलेक्ट्रिक कार (EV) र मोटरसाइकल/स्कुटर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिनेछ । निर्माण क्षेत्रमा फर्निचर, प्लम्बिङ तथा बिल्डिङ इलेक्ट्रिकल वाइरिङ तालिम समावेश गरिएको छ ।
यस्तै, आतिथ्य तथा सत्कार क्षेत्रमा कफी बारिस्टा, फास्टफुड/कुक, वेटर/वेट्रेस र बेकरी तालिम सञ्चालन हुनेछन् । इलेक्ट्रिकल तथा मेकानिकल क्षेत्रमा वेल्डिङ तथा रेफ्रिजरेटर एसी प्राविधिक तालिम समेटिएको छ ।
सूचना प्रविधि (ICT) क्षेत्रमा डिजिटल मार्केटिङ, इलेक्ट्रोनिक्स (मोबाइल/सीसीटीभी) तथा फोटोग्राफी र ड्रोन अपरेशन तालिम सञ्चालन हुनेछन् । शैक्षिक तथा सेवा क्षेत्रमा ईसीडी शिक्षक, पुरोहित, लेखा व्यवस्थापन, एडभान्स ब्युटिसियन तथा हेयर कटिङ तालिम राखिएको छ ।
त्यसैगरी, आर्ट, क्राफ्ट तथा डिजाइनिङ क्षेत्रमा बुटिक तथा कढाई, सांस्कृतिक पोशाक निर्माण र वेतबाँस क्राफ्ट तथा हस्तकला सामग्री निर्माणसम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
यी तालिमहरूबाट स्थानीय युवायुवती तथा बेरोजगार व्यक्तिहरूलाई सीपयुक्त बनाइ स्वरोजगार तथा रोजगारीमा जोड्ने लक्ष्य लिइएको आयोजकको भनाइ छ । तालिम स्थलमा सुदुरपश्चिमका बिभिन्न भेगमा पाइने रैथाले उत्पादन प्रबर्धन गर्ने उद्देश्यले निशुल्क रुपमै स्टल उपलब्ध गराइएको छ । तालिम फागुन १२ गते सम्पन्न हुने छ । सम्पन्नपश्चात सहभागीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न वा रोजगारीका अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
