नयाँदिल्ली- अमेरिकाका प्रसिद्ध ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. जोसेफ सलहबले चेतावनी दिएका छन्- सन् १९५० मा जन्मेकाहरूको तुलनामा १९९० मा जन्मेका मानिसमा कोलोन (ठूलो आन्द्रा) क्यान्सरको जोखिम दोब्बर भएको छ। यो सुन्दा अचम्म लाग्छ, किनभने पहिले यो रोग ५० वर्षभन्दा माथिका मानिसहरूमा बढी देखिन्थ्यो। अहिले युवा पनि यसको शिकार हुनुको कारण के हो?
विश्व स्वास्थ्य संगठनका अनुसार कोलोन क्यान्सर तेस्रो सबैभन्दा बढी लाग्ने क्यान्सर हो। यो विश्वमा क्यान्सरबाट हुने मृत्युको दोस्रो ठूलो कारण पनि हो। सन् २०२० मा कोलोन क्यान्सरका १९ लाखभन्दा बढी नयाँ केसहरू दर्ता भएका थिए।
कोलोन क्यान्सरलाई कोलोरेक्टल क्यान्सर पनि भनिन्छ। यो ठूलो आन्द्रा अर्थात् कोलोनमा हुने गम्भीर रोग हो। कोलोन हाम्रो पाचन प्रणालीको एक महत्त्वपूर्ण भाग हो, जसले पाचन पछि खानाको बाँकी भाग मलाशयमा पुर्याउँछ। यो क्यान्सर तब शुरु हुन्छ, जब कोलोनको भित्री तहमा साना गाँठाहरू बन्न थाल्छन्, जसलाई पोलिप्स भनिन्छ। यी पोलिप्स विस्तारै क्यान्सरमा परिणत हुन सक्छन्, विशेष गरी यदि समयमै निदान गरिएन भने।
कोलोन क्यान्सरका प्रारम्भिक लक्षणहरू
कोलोन क्यान्सरका प्रारम्भिक लक्षणहरू कहिलेकाहीं साना रोगहरू जस्तै देखिन्छन्। त्यसैले मानिसहरूले तिनीहरूलाई गम्भीरतापूर्वक लिँदैनन्। यद्यपि, यी संकेतहरू बुझेर तपाईंको जीवन बचाउन सकिन्छ। डा. सलहबले ५ प्रमुख लक्षणहरू बताएका छन्, जसद्वारा यो प्रारम्भिक दिनहरूमा पहिचान गर्न सकिन्छ। ती हुन्, दिसामा रगत देखिनु, पेटको दुखाइ, निरन्तर थकान, दिसा गर्ने बानीमा परिवर्तन, कारण बिना तौल घट्नु।
युवामा किन बढिरहेको छ ?
पछिल्ला केही वर्षमा २० देखि ४९ वर्ष उमेरका मानिसहरूमा कोलोन क्यान्सरका घटनाहरू द्रुत रूपमा बढेका छन्। यो हरेक वर्ष लगभग १.५ प्रतिशतका दरले बढिरहेको छ। डाक्टरहरूलाई यसको सही कारण थाहा छैन।
कोलोन क्यान्सरका कारण
– सिडेन्टरी लाइफस्टाइल
– खराब फुड ह्याबिट्स
– प्रशोधित खानेकुरा बढी खाने बानी
– फलफूल र तरकारी कम खाने बानी
– मदिरा र चुरोटको अत्यधिक सेवन
– ओभरवेट र मोटोपनको समस्या
– बारम्बार एन्टिबायोटिक खानु
– राति अबेरसम्म नसुत्नु या कम सुत्नु
यसरी बच्न सकिन्छ
– मदिरा सेवन बन्द गरौं
– धुम्रपानबाट टाढा बसौं
– रातो मासुको सेवन कम गरौं
– हरिया सागसब्जी र मिलेट्स ज्यादा खाऊँ
– तौल नियन्त्रणमा राखौं, बढ्न नदिऊँ
– नियमित कुनै न कुनै शारीरिक व्यायाम गरौं
– सम्भव भएसम्म गाडीको साटो पैदल यात्रा गरौं
– तनाव र स्क्रिन टाइम कम गरौं
– नियमित जाँच गराऊँ
भास्कर डट कमबाट