२४ भदौ (९ सेप्टेम्बर २०२५) को घटनापछि अराजक भीडले कैयौं तथाकथित विशिष्ट व्यक्तिहरूको घरमा तोडफोड र लुटपाट गरे। लुटिएको विदेशी ब्रान्डका सोमरस पान गरिरहेका दृश्यहरू देखिए। त्यससँगै एउटा दुर्लभ ब्रान्डको नाम पनि खुब प्रचार भयो,। त्यो ब्रान्ड हो- Royal Salute ५३ (रोयल स्यालुट ५३)।
त्यो ब्रान्डका बहुमूल्य सोमरस पान गरिरहेको तस्बिर केही दिनअघि नै फेसबुकमा देखिएको थियो। तर, धेरैले विदेशी मदिराको यस्तो बहुमूल्य ब्रान्डलाई खासै ध्यान दिएनन्। ८८४८ भोड्का र खुकुरी रममा रमाउनेहरूको कल्पनामा पनि यसको मूल्यवारे अनुमान हुने कुरै भएन।
नेपो किड्सहरूले प्रदर्शन गरेको शानो शौकत र यस्तो ब्रान्डको मदिरा सेवन गरिरहेका तस्बिरहरू विभिन्न सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती आउनलागेको विशेष योजनाअन्तर्गत रहेछ भन्ने सुनिन्छ। नेपाली नवाबहरूको दुर्गतिको तयारी कतैबाट हुँदै थियो, नयाँ-नयाँ नवाबहरू जनता जनार्दनको मन पोल्नेगरी शानशौकत प्रदर्शन गर्दै थिए। गरिब दु:खी जनताको मुटु पोलिरहेको थियो। तर, उनीहरूको नाकमा जलेको गन्ध पुग्न सकेन। विलासिताको कारण सबै इन्द्रिय -ज्ञानेन्द्रियहरू काम नलाग्ने भइसकेका रहेछन्।
मलाई यो ‘रोयल स्यालुट ५३’ के चिज हो भन्ने लाग्यो र यसको बारेमा सर्च गर्दा प्राप्त भएको जानकारी म यहाँ प्रस्तुत गर्छु।
के हो ‘रोयल स्यालुट ५३’ ?
– ‘रोयल स्यालुट ५३’ एक अति दुर्लभ ब्लेन्डेड स्कच ह्विस्की हो, जुन ५३ वर्षको ब्लेन्ड प्रयोग गरी तयार गरिएको हुन्छ।
– यसको पहिलो विमोचन ‘द आर्ट अफ वन्डर’ नामक संग्रहअन्तर्गत भएको हो।
– यो ५३ नम्बर सन् १९५३ सँग सम्बन्धित छ। त्यस वर्ष महारानी एलिजाबेथ द्वितीयाले राज्याभिषेक गरिन्। र, त्यस वर्ष रोयल स्यालुट ब्रान्डको स्थापना पनि भएको थियो।
विशेषताहरू
– यस ह्विस्कीलाई अत्यन्त उच्च उमेर (५३ वर्ष) को ब्लेन्ड प्रयोग गरी तयार गरिएको हुन्छ।
– उत्पादन कति सीमित छ भने केवल २१ डिक्यान्टर (decanters) मात्र बनाइएको छ।
– प्रत्येक डिक्यान्टर ‘डार्टिङटन क्रिस्टल’ (Dartington Crystal) द्वारा हस्तकलामा बनेको हुन्छ र तिनमा सुन (२४ carat gold leaf) तथा कलासम्बन्धी एलिमेन्टहरू जस्तै सुन्दर पक्षी (pheasant)को पखेटाबाट बनाइएको कलात्मक कामहरू सामेल छन्।
– साथै, त्यहाँ एउटा काठको बक्स (wooden cabinet) र कला पुस्तक पनि साथमा आउने गर्छ, जसले कलाकार र ब्रान्डको सहकार्य र प्रक्रिया वर्णन गर्छ।
स्वाद (Tasting Notes) र अनुभव
– सुगन्ध (Nose) : फलफूल (berries), क्यान्डिड वालनट (candied walnuts) र मीठो टोस्टेड ओक (toasted oak)को मिश्रण सुगन्धमा अनुभव हुन्छ।
– स्वाद (Palate) र समाप्ति (Finish) : लामो, धनी (Rich) र हल्काफूल्का सुक्खा समाप्ति (slightly dry finish) हुन्छ।
मूल्य र उपलब्धता
– यो उत्पादन अत्यन्त महँगो छ- सूची मूल्य (RRP) लगभग अमेरिकी डलर ९० हजार राखिएको छ। यो आजको सटही दरअनुसार १ करोड २० लाख ३३ हजार ९०० रूपैयाँ मात्र हुन्छ।
– आज संसारभर २१ वटा डिक्यान्टर (Decanter) मात्र उपलब्ध छन्।
– केही डिक्यान्टरहरू विशेष रूपमा हाइनान, सिड्नी, लन्डन हिथ्रो, दुबई, सिंगापुर चांगी एयरपोर्टको ड्युटी फ्री स्थानहरूमा बिक्रीका लागि राखिएका छन्।
डिक्यान्टर भनेको के हो ?
डिक्यान्टर भन्नाले एउटा विशेष प्रकारको सुन्दर बोतल वा भाँडो हो, जसमा महँगो र दुर्लभ मदिरा (जस्तै- वाइन, ह्विस्की, ब्रान्डी आदि) राखिन्छ।
– सामान्य बोतलभन्दा फरक, डिक्यान्टर सजावटी, क्रिस्टल वा उच्च गुणस्तरको काँचबाट बनाइन्छ।
– यसको उद्देश्य केवल पिउनका लागि होइन, प्रदर्शन (डिस्प्ले) र शान-शौकत (प्रेस्टिज) देखाउन पनि हुन्छ।
– महँगो र सीमित संस्करणका मदिरा ब्रान्डहरूले प्राय: आफ्नो उत्पादन डिक्यान्टरमा राख्छन्। ताकि, त्यो वस्तु लक्जरी कला-कृतिजस्तै देखियोस्। ‘रोयल स्यालुट ५३’को हकमा डिक्यान्टर हातैले बनाइएको क्रिस्टलको भाँडो हो, जसमा सुन (२४k gold leaf) र कलात्मक डिजाइन राखिएको छ।
डिक्यान्टरलाई नेपाली पारम्परिक भाँडासँग तुलना गर्ने हो भने :
– यो ‘कलश’ वा ‘घट’जस्तै हुन्छ, जुन विशेष धार्मिक वा सांस्कृतिक महत्त्वका काममा प्रयोग हुन्छ। कलश प्राय: सजाएर राखिन्छ र त्यसले गरिमा झल्काउँछ।
– अर्को उदाहरण : पुरानो समयमा धातुको सुन्दर भाँडो (पित्तल/तामाको सुराही), जसमा खास पाहुनालाई मात्र पानी वा मदिरा खुवाइन्थ्यो।
त्यसैले, डिक्यान्टर पनि साधारण बोतल होइन, प्रतिष्ठा र सौन्दर्य देखाउन प्रयोग हुने सुन्दर भाँडो हो।
‘रोयल स्यालुट ५३’मा राखिएको क्रिस्टल डिक्यान्टरलाई पनि त्यस्तै कलात्मक सुराही/कलश ठान्न सकिन्छ।
के तपाईं पनि यसको चाहना राख्नु हुन्छ ? सपनामा भए पनि सेवन गर्नोस्। तर, वैधानिक हैसियत छैन भने सामाजिक सञ्जालमा फोटो नराख्नु होला, खासगरी नयाँ नवाबहरूलाई सुझाव।