कसले फैलायो निराशा ? कसले लखेट्यो देशका युवा ? यी आजका यक्ष प्रश्न हुन्। यिनै यस्ता प्रश्न हुन्, जो दैनिकजसो मिडिया रिपोर्टिङका विषयवस्तु बन्छन्। यिनका जवाफ सरल र सहजजस्ता लाग्छन्। किनकि, हर कोहीले यी प्रश्नका जवाफ दिन सक्छन्।
सतहमा देखिने र आम रूपमा बुझिने केही कारणहरू दृष्य प्रकृतिका छन्। देखिने र बुझिने यी कारणहरू असत्य छैनन्। तर, यी मात्र कारणहरू पर्याप्त छैनन्। केही अदृष्य कारणहरू, जसले युवालाई मुलुक छाड्न अभिप्रेरित गरिरहेको छ, तिनका यथोचित विवेचना गर्नु यस आलेखको उद्देश्य छ।
सनातनी बुझाइ
देखिँदै र बुझिँदै आएका युवा पलायनका कारणहरू यसप्रकार छन्। जस्तो कि मुलुकको शिक्षा प्रणाली ध्वस्त छ; त्यसैले उच्च शिक्षाका लागि विदेशिनुको विकल्प छैन। नेपालमा रोजगारीको नितान्त अभाव छ, त्यसैले युवा विदेशिन बाध्य भएका छन्। एवं रितले सबैले भन्ने अर्को जवाफ हो- नेपालमा सुशासन भएन, पहुँचवालालाई एउटा कानून र सर्वसाधारणलाई अर्को कानून लाग्छ। आदि।
यसैगरी, दिइने अर्को जवाफ यस्तो प्रकारको छ। निरन्तरको राजनीतिक अस्थिरता, नीति निर्माणमा ढिलाइ र सरकारी निकायमा व्याप्त भ्रष्टाचारले गर्दा देशमा लगानीको वातावरण बन्न सकेको छैन। यसले नयाँ उद्योग र व्यापारको विकास हुन दिँदैन, जसको प्रत्यक्ष असर रोजगारी सिर्जनामा पर्छ। युवाले आफ्नो र परिवारको आधारभूत आवश्यकता पनि पूरा गर्न सक्दैनन्। विकसित देशहरूमा पाइने उच्च ज्यालाले गर्दा युवा आर्थिक रूपमा सक्षम हुनका लागि विदेशतिर आकर्षित हुन्छन्।
आम मानिसले खुट्याउने अर्को जवाफ पनि कम्ती रोचक छैन। जस्तो कि विदेशमा गएर पैसा कमाएको व्यक्तिलाई समाजमा बढी सम्मान दिइने र उच्च सामाजिक प्रतिष्ठा भएको मानिने हुँदा धेरै युवा ‘अरू गए म पनि जानुपर्छ’ भन्ने सोचले प्रेरित भएर विदेशिन्छन्। विदेश नगएका युवालाई समाजले हेर्ने दृष्टिकोण पनि फरक हुने गरेको छ।
संक्षेपमा, एउटा सामान्य जीवन बिताउन असमर्थ भएको वर्तमान, राज्यका निकायहरूबाट न्याय नपाइने अवस्था र असुरक्षाभाव, अन्योलग्रस्त भविष्यको आकलन, विदेशिनुलाई सामाजिक स्वीकृति (चलेको चलन वा फेसनका रूपमा लिइनु), व्यक्तिगत रहर र आकांक्षाको परिपूर्ति आदि कारणहरू, जसलाई ‘सनातनी कारणहरू’ भन्न सकिन्छ।
विश्व भर्सेस नेपाल
सनातनी कारणहरू, जुन माथि चर्चा गरियो, तिनीहरू मुलत: आर्थिक, शैक्षिक, राजनीतिक कारणहरू हुन्। र, यी विश्वव्यापी छन्। नेपालमा सत्तासीन व्यक्ति र केही मिडियाहरूले समेत यसलाई सामान्यीकरण गरेका छन्।
नेता भनिएका व्यक्तिहरूले- ‘अवसरको खोजीमा मुलुक छाड्ने प्रवृत्ति नौलो नभएको, संसारभर प्रचलित र स्वीकृत मानव-व्यवहार भएको, सृष्टी वा आदिमकालदेखि नै मानिस घुमन्ते (नोम्याड) रहेको, नेपालबाट मात्र नभई भारतबाट ठूलो संख्यामा युवा विदेशिएको, नेपाली युवाले मुलुकमै अवसर हुँदाहुँदै पनि लहलहैमा विदेश गएको, युवाले देश-विदेश चाहरेर ज्ञान प्राप्त गरेको, नेपालमा फर्केर नयाँ उद्यममा हात हालेको, रेमिटेन्स पठाएर मुलुकलाई सहयोग पुर्याएको’ आदि तर्क-वितर्क दिने गरेका छन्।
केही समयअघि ‘सेतोपाटी’ अनलाइनले एक कदम अघि बढ्दै ‘नेपालभन्दा सानो मुलुक भुटानबाट समेत युवा विदेशिएको’ आशयको आलेख प्रकाशित गरेको थियो। नेतागणको बोली र अनलाइन पत्रिकाको बोली त्यत्तिकै मिल्न गएको होइन होला। झट्ट हेर्दा यी तर्कहरूलाई अन्यथा ठान्नपर्ने कुनै कारण पनि देखिँदैन।
नेपाल स्पेसिफिक केही कारण
पहिलो कारणमा भूराजनीतिक अवस्थितिबाट सिर्जित पराजयभाव हो भन्ने मैले देखेको छु। तपाईंहरूले नेपालमा अचम्मलाग्दो गरी विद्युतीय गाडी (ईभी) प्रतिको सर्वस्वीकार्यता देखिरहनुभएकै छ। यो सर्वस्वीकर्यता संसारभरमै अद्वितीय छ- कारण के होला ?
नेपालीहरू वातावरणीय प्रदूषणका बारेमा जानकार भएर हो कि ? ईभी गाडीहरू खरिद गर्दा पेट्रोल गाडी बराबर मूल्यमा सस्तो भएर हो कि ? ईभी गाडीहरूको सञ्चालन खर्च (रनिङ कस्ट) कम पर्ने भएर हो कि ? नयाँ र नौलो गाडीप्रतिको आकर्षण भएर हो कि ? सयौं वर्ष अघिदेखि चल्दै चलाउँदै आएका पेट्रोल गाडीप्रतिको भरोसा अचानक र रातारात कसरी परिवर्तन भयो ? नेपालभर ईभी गाडीको वर्कसप छैनन्, मिस्त्री छैनन्, भरपर्दो रिचार्जिङ सुविधा छैनन्, कति दिन चल्छन्, कुन पार्टपुर्जा कहाँ गएर टुट्ने हो कुनै ग्यारेन्टी छैन। तथापि, ईभी गाडी नेपालमा धडाधड बिक्नुको कारण- छिमेकी राष्ट्रले कुनै पनि बेला लगाउन सक्ने नाकाबन्दी। ०७२ सालको नाकाबन्दी, त्यसबाट सिर्जित डिजेल, पेट्रोलको अभाव र हाहाकारको अवस्था नेपालीहरूले बिर्सेका छैनन्।
पेट्रोलियमलगायत दैनिक उपभोगका सामानहरूका आपूर्तिमा छिमेकी राष्ट्रको हात माथि पर्नु, उसको छवि भरोसालायक नहुनु र त्यसको विकल्पमा कुनै उपाय नहुनु निश्चय नै दु:खदायी अवस्था हो। नेपालका नेताहरूले छिमेकी राष्ट्रहरूलाई विश्वासमा लिन नसक्नु अर्को कटु सत्य हो। हरेक नेपालीको मनमा यो तथ्य बिझेको छ।
यसलाई मैले ‘भूराजनीतिक जटिलताबाट सिर्जित पराजयभाव’ नामाकरण गरेको छु। यो हरेक नेपालीको मनमा रहेको अदृष्य कारण हो। यो मनोसामाजिक कारण पनि हो। नेपालमा केही हुन नसक्ने, विदेशीकै निर्देशनमा चल्न-चलिरहन पर्ने, हाम्रा नेताहरू विदेशीकै दबाब र प्रभावमा रहने, नेताहरूको विवेक र आत्मसम्मान नभएको कारण सधैंजसो र हरेक ‘इस्यु’हरूमा विदेशीको स्वार्थ पूरा गर्नुपर्ने आमनेपालीको बुझाइ छ। सत्य-असत्य जे भए पनि सबैजसो नेपालीजन यो भाष्य बुझ्न अभिशप्त छ।
दोस्रो कारण हो- अन्तर्राष्ट्रीय सूचकांकहरूले देखाएको पछौटेपन र त्यसबाट सिर्जित हिनताबोधको अवस्था। संसारभरका देशहरूका सूचकांक (इन्डेक्स) हरूले नेपाली मनमष्तिष्कलाई छियाछिया पारेको छ। जीडीपी-प्रतिव्यक्ति आयको सूचकांक होस् वा मानव विकास (ह्युमन डेभलपमेन्ट)को सूचकांक होस् या नेपालले जारी गरेको पासपोर्टको मान्यता होस्, अथवा भ्रष्टाचारको सूचकांक (सीपीआई इन्डेक्स)- नेपालको स्थान सधैं पुछारतिर रहेको पाइन्छ। साथै, नेपाली वायुसेवालाई कालोसूची र उडान प्रतिबन्ध, नेपालको अर्थतन्त्रलाई खैरो सूचीको स्थान आदि अन्तर्राष्ट्रीय घटना-परिघटनाहरूले पनि नेपालीलाई आजित तुल्याएको छ। जसको परिणाम मुलुक छाड्ने हतारोमा देख्न सकिन्छ।
तेस्रो कारणमा राष्ट्रीय पहिचानको संकट हो भन्ने मलाई लाग्छ। जस्तो कि विदेशी सपनाको पर्याप्त रूपमा बजारीकरण हुनु। नेपाली शिक्षा प्रणालीले ‘अमेरिकन ड्रिम’, ‘अस्ट्रेलियन ड्रिम’जस्ता विदेशी आकांक्षाहरू बेच्न थालेको छ। कलेजहरूमा कन्सल्टेन्सी व्यवसायले यसलाई व्यावसायिक बनाएको छ। यसैगरी, सांस्कृतिक निरन्तरतामा पनि खलल आएको देखिएको छ। फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालहरूले यसमा मलजल गर्दै आएको पाइन्छ। नेपालमै रहेका वा लामो समयसम्म विदेश बसेका युवामा नेपाली भाषा, संस्कृति र सामाजिक मूल्यप्रतिको लगाव कमजोर हुँदै गएको छ, जसले दीर्घकालमा राष्ट्रीय पहिचानलाई जोखिममा पार्न सक्ने देखिन्छ।
चौथो कारणमा मैले नेपाली युवा खासगरी ‘प्लस टु’ सकेका विद्यार्थीहरूमा पारिवारिक तथा सामाजिक नियन्त्रणबाट मुक्तिको चाहना रहेको बुझेको छु।
पाँचौं कारणमा केही राजनीतिक र मनोसामाजिक कारणहरूका मिश्रण रहेको मैले बुझेको छु। जस्तो कि गाउँ वा शहर जहाँ बसे पनि मुलुकको राजनीतिबाट अछुतो वा अलग रहन नसकिने अवस्था। राजनीतिक दलमा आबद्ध नभएमा कुनै गाउँपालिकाबाट एउटा सिफारिस लिन गाह्रो छ। त्यसैगरी, ‘४० कटेपछि रमाउने‘ मनोसामाजिक यथार्थता। विदेशिने युवामा ‘अहिले कष्ट सहेर पैसा कमाउने, बुढेसकालपछि नेपालमै आराम गर्ने’ भन्ने मनोविज्ञानले गर्दा पलायनलाई सामाजिक रूपमा स्वीकार्य बनाएको छ।
एवं रूपमा नेपालीहरूमा भविष्यप्रति चरम अविश्वास छ। राजनीतिक अस्थिरता र आर्थिक मन्दीले युवामा ‘नेपालमा भविष्य छैन’ भन्ने गहिरो धारणा बसालिदिएको छ। विदेश जानु नै सफलता हो भन्ने भ्रम सबैजसोको मनमा पलाएको छ। गाउँघरमा विदेश गएको मानिसलाई ‘सफल’को रूपमा हेर्ने सामाजिक धारणा पलायनलाई प्रोत्साहन गर्छ। यो मानसिकता विशेषगरी मध्यम वर्गीय परिवारहरूमा प्रबल छ।
युवामा मानसिक असुरक्षा र निराशाको भावना बढाएको छ। उनीहरूलाई देशमा बसेर केही गर्न सकिन्छ भन्नेमा विश्वास नै छैन, जसले गर्दा उनीहरू विदेशलाई नै एक मात्र विकल्प मान्न पुग्छन्। युवा पलायनलाई राज्यले ‘समस्या’भन्दा पनि ‘समाधान’ (रेमिट्यान्सको स्रोत)को रूपमा हेर्न थालेको छ, जसले नीति निर्माणमा उदासीनता बढाएको छ।
यी दृश्य र अदृश्य कारणहरूले नेपाललाई युवाविहीन देश बनाउने खतरा बढाएको छ। यस समस्यालाई समाधान गर्न सरकार, निजी क्षेत्र र समाज सबैले मिलेर काम गर्नु जरुरी छ। अन्यथा, हामीले हाम्रो सबैभन्दा ठूलो मानव संशाधन गुमाउँदै जानेछौं, जसको असर आगामी पुस्तासम्म पुग्नेछ।