गलकोट (बागलुङ)- ढोरपाटनको मोहनी दृश्यले कसलाई नलोभ्याउला र ? टिकटक र फेसबुकका रिल्समा ढोरपाटनको सौन्दर्य देखेर यता आउन हिँडेका धेरैलाई त्यहाँ पुग्ने सडकले भने अप्ठ्यारोमा पार्छ। भुजीखोलाको किनारैकिनार यात्रा गर्दा पहिलोपटक ढोरपाटन पुगेका पर्यटकलाई वर्षायाममा भने निकै सास्ती हुने गरेको छ।
बागलुङको बुर्तिबाङदेखि ३२ किलोमिटर कच्ची सडक पार गर्दै ढोरपाटन पुगेका पर्यटकले यहाँको प्राकृतिक दृश्यले कष्टकर यात्रा बिर्साउँछ। सामाजिक सञ्जालका कारण ढोरपाटन पुग्ने पर्यटकहरू दिनदिनै बढ्दै गएको र सयौंथरिका बुकी फूलका कारण ढोरपाटनले पर्यटकलाई लोभ्याएको छ।
पर्यटकका कारण घरबास र होटलहरू फस्टाउँदै आएका छन् भने शिकार आरक्षको राजस्व संकलन भइरहेको छ। महँगो मूल्यमा नाउर झारलको शिकार गर्न सकिने ढोरपाटनमा कतिपय विदेशी पर्यटक हेलिकप्टरबाट पनि पुग्ने गरेका छन्।
खाल्डाखुल्डी, उकालो र हिलाम्य सडक पार गर्दै दैनिक सयौं सवारीसाधन ढोरपाटनमा पुग्ने गर्छन्। राष्ट्रीय प्राथमिकताको सडक भएर पनि बुर्तिबाङदेखि ढोरपाटन जोड्ने सडकको अधिकांश स्थानमा स्तरोन्नति हुन सकेको छैन।
ढोरपाटनको दृश्यले लोभ्याएर आए पनि सडक भने असहज रहेको बुटवलबाट ढोरपाटनको बुकीपाटन घुम्न आएका सिजन परियार गुनासो गर्छन्। भन्छन्, ‘ढोरपाटन उपत्यकामा मोटरसाइकल राखेर एक दिन हिँडेर बुकी पाटन पुगियो। ढोरपाटन आएपछि बाटाको दुःख बिर्सिइँदो रहेछ। यति धेरै पर्यटक आउने सडक स्तरीय हुन आवश्यक छ।’
बागलुङ बजारबाट चार दिनको पैदलमार्ग ढोरपाटनमा ०७१ सालमा सडक पुगेपछि एक दिनमा छोटिएको छ। तर, स्तरीय सडक नहुँदा पर्यटकले दुःख पाइरहेका छन्। ५ वर्षदेखि हिउँदमा जेनतेन मिनी बस पुग्न थाले पनि बर्खामा यो सडकमा यात्रुले सास्ती बेहोर्नुपर्छ। यहाँ पुग्ने सडक कालोपत्र गर्नसके थेगिनसक्नु पर्यटक पुग्ने ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख कल्याण कायतको आशा छ।
आरक्षले राजस्व उठाउने मात्रै काम गरेको उनको गुनासो छ। र, पर्यटकलाई उचित सूचना पनि नदिएको कायत बताउँछन्।
‘पटक-पटकको प्रयासपछि हिउँदमा त मिनी बस ढोरपाटन पुग्छ। तर, बर्खामा उकालो सडक हिलाम्य भएपछि साना सवारी साधनसमेत जान कठिन हुन्छ। अहिले जिप र मोटरसाइकल मात्रै जान सक्छन्,’ भन्छन्, ‘बर्खा सकिँदासाथ सालझण्डी-ढोरपाटन सडक आयोजनामार्फत स्तरोन्नतिको काम शुरु गर्ने सहमति भएको छ। बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक कालोपत्र भएमा ढोरपाटनले नथेग्ने पर्यटक यहाँ आउने देखिन्छ।’
देशका सय पर्यटकीय गन्तव्यमा सूचीकृत ढोरपाटन विश्वभर चर्चित छ। चर्चित गन्तव्यमा पुग्ने सडक भने कष्टकर छ। ढोरपाटन भ्रमणका लागि बर्सेनि २० हजारभन्दा बढी आन्तरिक पर्यटक सडक मार्गबाट ढोरपाटन पुग्ने गरेका छन्। दुई वर्ष अघिसम्म गुमनाम रहेको बुकीपाटन र जलजलाजस्ता क्षेत्रमा अहिले पर्यटक ह्वातै बढेका छन्।
राष्ट्रीय प्राथमीकरणको आयोजनाअन्तर्गत स्तरोन्नतिसँगै कालोपत्रका लागि ठेक्का लागिसकेकाले नगरपालिकाले अवरुद्ध सडक खुलाउने मात्रै काम गर्दै आएको उनी बताउँछन्। पर्यटक बढेपछि स्थानीयवासीको घरबास, होटल चलेकोे र घोडाधनीलाई लाभ मिले पनि शिकार आरक्षका कारण पर्यटकलाई भने असहज भएको छ। ढोरपाटन जाने सडक स्तरोन्नतिका लागि ४ वर्षअघि ठेक्का भए पनि ३५ प्रतिशत मात्रै काम भएको देखिन्छ। बुर्तिबाङ फल्लेघरसम्मको सडक ग्राभेल गर्न ठेक्का लिएको स्वच्छन्द-ओमबुद्ध संयुक्त निर्माण कम्पनीले दशैंसम्ममा स्तरोन्नतिको काम पुनः थाल्नेगरी सहमति भएको ढोरपाटन नगरपालिकाले जनाएको छ।
खर्च ६ हजार मात्र !
६ हजार रुपैयाँ खर्च गरेपछि पोखराबाटै ढोरपाटन पुग्न सकिने व्यवस्था मिलाइएको छ। पोखराको महाशीला एडेभेन्चरले अहिले दिनमा ४ वटा स्कोरपियो गाडी ढोरपाटनका लागि छुटाउँदै आएको छ। ढोरपाटन पुगेको दुई दिन एक रातको ६ हजार र बुकी पुगेको तीन दिन दुई रातको ८ हजार रुपैयाँमा पोखराबाट पर्यटकहरू पठाउने गरेको महाशीला एडेभेन्चरका सन्तोष देवकोटा बताउँछन्।
दुई वर्षयता प्याकेजमै ढोरपाटन र बुकी पुर्याउँदै आएको महाशीलाले सस्तो प्याकेजमै पर्यटकलाई बुकी पाटन पुर्याउन थालेको छ। प्याकेजमा जाने पर्यटकलाई बुकीसम्म घोडामा झोलासमेत लैजाने व्यवस्था मिलाइएको र ढोरपाटनबाट भने पर्यटक पैदल हिँड्नुपर्ने उनी बताउँछन्।
एक वर्षमा आठ हजारले बढे पर्यटक
नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकको संख्यामा बर्सेनि वृद्धि भइरहेको छ। ढोरपाटन शिकार आरक्ष कार्यालयका अनुसार यहाँ आउने आन्तरिक पर्यटकको संख्यामा एक वर्षमै आठ हजारले वृद्धि भएको छ। कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष ०८०-८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा ०८१-८२ मा यो संख्या ८ हजारले बढेर २३ हजार ६९२ पुगेको छ।
ढोरपाटनमा शिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि पुग्न थालेका छन्।
उनीहरूका लागि ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा रहेको र सोझै पोखरादेखि पर्यटकलाई प्याकेजमै ल्याउने लैजाने व्यवस्थापनका कारण पर्यटकलाई सहज भएको ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्ती बताउँछन्।
ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा मार्गका कारण पर्यटकको संख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ। समुद्री सतहदेखि २ हजार ९०० मिटरको उपत्यकादेखि ४ हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्।
के हो ढोरपाटनको आकर्षण ?
बर्खामा फुल्ने अनेकथरि फूलले रंगिएको ढोरपाटन मुख्य आकर्षण हो। ८ किमी लामो ढोरपाटन उपत्यकामा फुलेका रातो, सेतो, पहेला रङका फूल बर्खामा ढोरपाटनको मुख्य विशेषता हुन्। विभिन्न रङमा फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ।
ढोरपाटन उपत्यका, प्रसिद्ध ढोरबारही मन्दिर, ढोरपाटन शिकार आरक्षको संग्रहालय, निसेलढोर, जलजला र बुकीपाटन ढोरपाटनका मुख्य घुम्न लायक ठाउँ हुन्।
बर्खाको समय अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले गुल्जार बनेको छ। ढोरपाटन उपत्यकामा फूलेका रंगीबिरंगी वन फूलसँगै फाँटमा चरिरहेका घोडाको दृश्यले पर्यटकको मनै लोभ्याउँछ। प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा उत्तिकै पर्यटक आउने गरेका छन्।
ढोरपाटन सामुदायिक घरबासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन गुल्जार बनिरहेको छ। घोडा सफारीका कारण स्थानीयवासीको आयआर्जनमा वृद्धि भएको छ।
कञ्चन उत्तरगंगा नदी, सुन्दर र समथर भूबनोट, अनेकथरि बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेको काठमाडौंबाट मोटरसाइकलमै घुम्न आएका अनिल राजवंशी बताउँछन्।
चार हजार मिटरभन्दा माथिको बुकिपाटन एक दिनको पदयात्रामार्फत पुगे उनी। ढोरपाटनको सौन्दर्य बयान गरेर नसकिने बताउँछन्। पाटनैभरि फूल्ने वनफूल, फूलमा घोडा, भेडाबाख्रा र गाईभैंसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ। अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चार सुविधाले यहाँ आउन निकै सहज भएको छ।
गोठालाको उत्पादन गोठमै खपत
पर्यटक बढेपछि यहाँका भैंसी र भेडी गोठाला उत्साहित भएका छन्। बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालाको आम्दानी बढ्दै आएको छ। पदमार्ग आसपास र बुकीपाटनमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ। बुकीपाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैंसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो।
भैंसीपालन गरी उत्पादित घ्यू बिक्री गर्दै आएका बुकी पाटनका गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए। बुकीपाटन उक्लनेले बीच बाटोको चेप्टेढुंगामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाई बताउँछन्। दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झण्झट नभएको उनको भनाइ छ।
‘गोठस्टे’ सञ्चालन
पर्यटकलाई लक्षित गरी बुकीपाटनमा दुई वटा गोठस्टे (गोठमा हुने बसाइ) सञ्चालनमा छन्। अस्थायी रूपमा सञ्चालन गरिने गोठस्टे असारदेखि असोजसम्म चल्ने हाइअल्टिच्युट तथा टेन्टस्टेका सञ्चालक मेहेन्द्र घर्तीमगर बताउँछन्। ४ हजार मिटर उचाइमा पर्यटकलाई लक्षित गरी अस्थायी रूपमा भए पनि खाने र बस्ने सुविधा दिएको उनी बताउँछन्।
सादा खाना ५०० र मासु खाना ८०० रुपैयाँमा उनले पस्किने गरेका छन्। बुकीपाटन जाने पर्यटकको संख्या दिनानुदिन बढ्दै गएकाले गर्पाछेडामा दुई वटा गोठस्टे सञ्चालनमा ल्याइएको छ। पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक मिलन घर्ती बताउँछन्।
शिकारमा रमाउँछन् विदेशी शिकारी
शिकारका कारण प्रसिद्धी कमाएको ढोरपाटनमा शिकार खेल्न महँगो मूल्य तिरेर विदेशी शिकारी आउने गरेका छन्। वैधानिक रूपमा शिकार खेल्न पाइने नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनमा विदेशका धनाढ्य शिकारी शिकारमा रमाउन हेलिकप्टरमार्फत आउने गरेका छन्।
रेन्जर सुवेदीका अनुसार दोस्रो याममा ११ नाउर र ७ झारलको शिकार भएको थियो। वन्यजन्तु तथा राष्ट्रीय निकुञ्ज विभागले गत १५ माघमा शिकारका लागि बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गर्ने अनुमति दिएको थियो।
शिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी ६ वटा कम्पनीले एक आर्थिक वर्षमा दुई याममा अनुमति प्राप्त गर्दै आएका छन्। १२ बँदेलको शिकार अनुमति दिए पनि एउटा पनि शिकार नभएको उनको भनाइ छ।
ढोरपाटनमा हरेक वर्ष (असोज-मंसिर) पहिलो र (फागुन-वैशाख) दोस्रो याममा शिकार हुने गर्छ। शिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन, फ्रान्सलगायत देशबाट शिकारी आउने गर्छन्।