भैरहवा- नेपालभर उत्कृष्ट नगरपालिकाको अवार्ड बटुल्दै सतहमा चम्किरहेको सिद्धार्थनगर नगरपालिकाको भित्री अवस्था भने लाजमर्दो र जनविरोधी देखिन्छ। अवार्डलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउनेहरूसँग एउटा जटिल प्रश्न आज फेरि उब्जिएको छ- के पुरस्कारले वास्तविकता ढाक्न सक्छ ?
सिद्धार्थनगर नगरपालिका-४ स्थित सुगरमिल क्षेत्र देशकै एक प्रमुख खाद्यान्न ट्रान्जिट पोइन्ट हो। यहींबाट दैनिक हजारौं मेट्रिक टन चामल, गहुँ, दाललगायत सामग्री देशभर पठाइन्छन्। तर, यो क्षेत्रको सडक भने २० वर्षअघिको कच्ची नेपालकै प्रतीकझैं लाग्छ- खाल्डाखुल्डी र विकासको अभावले भरिएको।
गर्मीमा नाक, मुख, आँखा नै छोप्नुपर्ने धुलो र वर्षातमा त गाडीका पांग्रा गाडिएर निकाल्नै गाह्रो हुन्छ।
यो क्षेत्र नगरपालिकाका लागि आयस्रोतको थलो हो- व्यवसायीहरू कर बुझाउँछन्, दस्तुर तिर्छन्। तर, सुविधा तिनको भाग्यमा छैन। सुविधाको साटोमा मिलेको छ, उपेक्षा र पीडा। कतिपय स्थानमा त सडकको नाममा कागजमै अस्तित्व छ, वास्तविकतामा केवल धूलो, हिलो र अन्धकार।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्य भन्छन्, ‘हामी नगरपालिकाभित्र त पर्छौं तर नगरपालिकाको नजरभित्र कहिल्यै परेका छैनौं। हामी अभिभावक भएर पनि अनाथजस्ता बनेका छौं।’
पटक-पटक नगरपालिकामा यो विषयमा ध्यानाकर्षण गराउँदा जनप्रतिनिधिहरूबाट तपाईंहरू व्यवसायी हो, करोडौंको व्यवसाय गर्नुहुन्छ, आफैं बनाउनुहोस् न त्यति बाटो भन्ने जवाफ आफूले पाएको आचार्य बताउँछन्।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म हरेक दिन यही सडकमा जोखिममा पाइला चालिरहेका छन्। सडककै छेउमा सिद्धार्थनगर सिटी अस्पताल छ, जसको एम्बुलेन्स दैनिक यही बाटोबाट ओहोरदोहोर गर्छ। कतिपय समयमा एम्बुलेन्सलाई धकेलेर बाटो कटाउनुपरेको व्यवसायी विष्णु शर्मा बताउँछन्।
बारम्बार नगरपालिकामा गएर बुझ्न खोज्दा जनप्रतिनिधिहरूले आज बन्छ भोलि बन्छ भन्दै आश्वासनबाहेक अरू केही नगरेको उनी बताउँछन्।
एम्बुलेन्स आउन नसक्ने अवस्था, दमका बिरामीलाई अस्पताल लैजान हिलो छिचोल्नुपर्ने बाध्यता यी केवल उदाहरण मात्र हुन्।
यस्तै, अर्का व्यवसायी सागर श्रेष्ठ आफूले व्यापार गर्न लागेदेखि यो बाटोको अवस्था जस्ताको तस्तै रहेको बताउँछन्। र, स्थानीय तहको लापरवाही देखेर आफू एकदमै निराश भएको उल्लेख गर्छन्।
अर्का व्यवसायी गौरव पोखरेल बाटो तत्काल नबने पनि यसको विकल्पमा खाल्डाखुल्डी पुरिदिन भन्दा पनि नगरपालिकाले बजेट कुर्नुपर्ने जवाफ दिइरहेको बताउँछन्।
मालवाहक सवारी चलाउने चालक खहेब अली पनि सवारी साधन चलाउँदा खाल्डो बचाएर चलाऊँ भन्दा पनि जताततै खाल्डो भएका कारण सवारी साधन खाल्डाखुल्डीमा परी बिग्रिने गरेको बताउँछन्। भन्छन्, ‘यो बाटोमा सवारी चलाउँदा कतिबेला दुर्घटना हुन्छ भन्ने कुराको पत्तो नै हुँदैन।’
सार्वजनिक चासोका विषयमा निरन्तर बेवास्ता गरिरहेको नगरपालिकाले प्राथमिकता केलाई दिएको हो- कर संकलन कि जनजीवनको समृद्धि ? जनप्रतिनिधिहरू, जसलाई जनताको सेवक बन्ने भनिएको थियो, उनीहरू सेवा होइन, केवल सन्देश दिने र तस्बिर खिचाउने क्रियामा सीमित भएका छन्।
नगरपालिकाले पाएको ‘उत्कृष्ट’ उपाधि आज स्थानीय बासिन्दामाझ व्यंग्यको विषय बनेको छ। जसले नगरपालिकाको यथार्थ देख्छ, ऊ सोध्न बाध्य हुन्छ- यस्तो दुर्गति देख्दा पनि किन पुरस्कार ? के अवार्ड वितरणको मापदण्ड आँखामा पट्टी बाँधेर तय हुन्छ ?
यदि अब पनि सरोकारवाला निकायहरू, जनप्रतिनिधिहरू र स्थानीय प्रशासनले आँखा नखोले भने यो सडक मात्र होइन, जनताको भरोसा, लोकतन्त्रप्रतिको आस्था र प्रणालीप्रतिको विश्वास नै दलदलमा गाडिनेछ। यसर्थ, तत्काल सुधारको स्पष्ट योजना, जिम्मेवार निकायको जवाफदेहिता र जनसहभागितामा आधारित दीर्घकालीन समाधान आवश्यक छ।