भैरहवा– बुटवल उपमहानगरपालिकाले ०७८ सालमा शुरु गरेको ‘नन्दिनी गौ संरक्षण केन्द्र’ हाल ‘बुटवल खस्यौली बहुउद्देश्यीय धार्मिक पर्यटकीय गौशाला’को नाममा सञ्चालनमा छ। गाईलाई देवीको रूपमा मान्ने वैदिक परम्पराको सम्मानमा शुरु गरिएको यो केन्द्र अहिले अपारदर्शिता र विवादको केन्द्र बन्दै गएको छ।
धार्मिक आस्था, पशु सेवा र पर्यटकीय सम्भावनालाई जोडेर स्थापित गरिएको यो गौशाला लाखौं रुपैयाँ खर्च गरेर बनाइएको हो। शिवनगर सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा निर्माण सम्पन्न गरिएको केन्द्रको उदघाटन ब्रह्महनिष्ठ सन्त श्री लोकानन्द स्वामी र तत्कालीन नगरप्रमुख शिवराज सुवेदीले गरेका थिए। तर, आज चार वर्षपछि जनताको पहुँचविहीन र रहस्यमय बनिसकेको यो केन्द्र गम्भीर प्रश्नको घेरामा छ।
जनताको पहुँच निषेध, पारदर्शिताको संकट
गौशालामा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। न गाई हेर्न पाइन्छ, न जानकारी माग्न सजिलो छ, न त सूचना प्रवाह नै छ। स्थानीय बासिन्दा आक्रोशित छन्। ‘आइसियुमा बिरामी भेट्न पाइने देशमा गाई हेर्न किन नमिल्ने ?’ उनीहरू सोध्छन्।
फागुन ०८० मा ७०० भन्दा बढी गाई रहेको गौशालामा अहिले मात्र २५० गाई रहेको कर्मचारीहरू बताउँछन्। बाँकी गाई कहाँ गएका हुन्– मरे, बेचे वा तथ्य लुकाइएको हो ? कुनै स्पष्ट जानकारी छैन। प्रजनन प्रक्रियाका कारण गाईको संख्या स्वाभाविक रूपमा बढ्नुपर्ने हो, घट्नु शंकास्पद देखिन्छ। न त मृत्युको अभिलेख छ, न जन्मको प्रमाण।
व्यवस्थापनमा चरम लापरवाही
गौशालामा खटिएका नगर प्रहरीहरू बिहान गाई चराउन लैजाने र साँझ भित्र्याउने गर्छन्। तर, लेखाजोखा प्रणाली, सीसी क्यामेराको निगरानी वा नियमित निरीक्षणको कुनै व्यवस्था छैन। जनताको करबाट सञ्चालनमा आएको संरचनामा यस्तो असहजता र गोप्यता दुर्भाग्यपूर्ण हो। गाईको दूध दुहिने गर्छ तर त्यो दूध कहाँ जान्छ भन्नेसमेत अभिलेख छैन।
बुटवल उपमहानगरपालिकाले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी बजेट छुट्याउने गौशालामा दाताहरूको पनि ठूलो सहयोग छ। तर, वर्तमान नगरप्रमुख खेलराज पाण्डेले सर्वसाधारणलाई प्रवेश नदिन निर्देशन दिएका कारण यसले जनविश्वासमा आँच पुगेको छ।
छाडा चौपायाका कारण बढेका दुर्घटना
गौशालामा गाई संख्यामा गिरावट आए पनि बुटवलका सडकमा छाडा चौपायाको समस्या बढ्दो छ। पछिल्लो आर्थिक वर्षमा तीनजना गम्भीर घाइते र दुई जनाको ज्यान गएको छ। स्थानीय टोपलाल शर्मा भन्छन्, ‘यही समस्यालाई व्यवस्थापन गर्न भनेर गौशाला खोलिएको थियो तर अहिले त्यसले काम गरेको देखिँदैन।’
स्थानीयको असन्तुष्टि, पारदर्शिताको माग
शंकर गिरी, बामदेव घिमिरे, रामकृष्ण शर्मालगायत स्थानीयवासी र धार्मिक व्यक्तित्वहरू गौशालामा गाईको संख्या घट्दै गएकामा चिन्तित छन्। उनीहरूले यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। नगर प्रहरी समिर क्षत्रीले हाल २०० गाई रहेको र पालैपालो प्रहरी खटाइने बताएका छन्।
गोप्यता होइन, पारदर्शिता आवश्यक
धार्मिक भावनाको आडमा सञ्चालनमा आएको सार्वजनिक संस्थामा यति ठूलो अपारदर्शिता हुनु गम्भीर विषय हो। गौशालाको यथार्थ, गाईको संख्या र त्यसको व्यवस्थापन खुला गरिनुपर्छ। जनताको कर, आस्था र भरोसासँग जोडिएको संस्थामा नागरिकको पहुँच सुनिश्चित गर्नु अहिलेको प्राथमिकता हुनुपर्छ।
सरकार र सरोकारवाला निकायहरूले तुरुन्तै गौशालाको निरीक्षण प्रणाली लागू गर्दै गाईको वास्तविक विवरण सार्वजनिक गर्न र गौशाला जनताका लागि खुला गर्न आवश्यक छ। सेवा होइन सन्देह बन्न थालेको यो संरचना पारदर्शिता र जवाफदेहिताको मार्गमा फर्कनु अब अत्यावश्यक छ।