सिद्धार्थनगर- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ का युवा दीपेन्द्र जालन्धरले लिलामीमार्फत घर किन्ने सपना बोकेर बैंकको ढोका ढकढक्याए। तर, सपनाको बाटोमा उनी ठगी र अन्यायको शिकार बन्न पुगेका छन्।
दीपेन्द्रले एनआईसी एसिया बैंकको भैरहवा शाखाबाट लिलामीमा आएको घर खरिद गर्न रुचि देखाए। बैंकले १५ फागुन ०८१ मा सिद्धार्थनगर-८ स्थित कित्ता नम्बर १४९ को १२२.७५ वर्गमिटर क्षेत्रफलको घर लिलामीमा ल्याएको सूचना सार्वजनिक गरेको थियो। बैंकका रिकभरी प्रमुख शेषमणि पटेलले बारम्बार सम्पर्क गरी घरको मूल्य ७५ लाख भए पनि ६५ लाखमा मिलाइदिने र पछि ८५ लाखमा बेचिदिने भन्दै प्रलोभन दिएका थिए।
बैंकको आश्वासनमा विश्वास गर्दै दीपेन्द्रले ‘मार्जिन फर रिकभरी इन सेनेलियस पेन्टिङ’ नामक खातामा २१ फागुनमा ६ लाख ५० हजार रुपैयाँ जम्मा गरे। एक महिनापछि २१ चैतमा बोलपत्र स्वीकृत भएको पत्र प्राप्त भयो। उक्त पत्रमा ७ दिनभित्र बाँकी रकम बुझाएर नामसारी प्रक्रिया अगाडि बढाउन भनिएको थियो।
प्रक्रिया थाल्न बैंक पुगेका दीपेन्द्र झन् अन्योलमा
दीपेन्द्र बाँकी रकम बुझाउने तयारीसहित प्रक्रिया बुझ्न बैंक पुगे। तर, बैंकले चैत मसान्त वा वैशाखको पहिलो साता भन्दै समय धकेल्दै लग्यो। अन्ततः जब उनी मालपोत कार्यालय पुगे, त्यहाँ श्रेस्ता नै नभएको खुलासा भयो।
उनले तुरुन्तै बैंकलाई जानकारी गराउँदा पनि बैंकका कर्मचारी पटेलले उल्टै धम्क्याउँदै फकाउने प्रयास गरेका थिए। अन्ततः दीपेन्द्रले नेपाल राष्ट्र बैंक, भैरहवा शाखामा लिखित उजुरी दिए। राष्ट्र बैंकले तत्कालीन शाखा प्रमुख सुरज पौडेल र रिकभरी प्रमुख पटेललाई छलफलमा बोलाएर अनुसन्धान अगाडि बढायो। छलफलपछि राष्ट्र बैंकले पैसा फिर्ता गर्न निर्देशन दिए पनि हालसम्म दीपेन्द्रको समस्या समाधान भएको छैन।
दीपेन्द्रको भनाइमा बैंकले कहिल्यै औपचारिक रूपमा पैसा फिर्ता हुने पत्र दिएको छैन। बरु बोलपत्रको रकम नबुझाएको भन्दै नामसारी रोकेको र श्रेस्ता नभएको जग्गा बेच्न खोजिएको भन्दै उनी आक्रोशित छन्।
मालपोतको भूमिकामाथि पनि प्रश्न
मालपोत कार्यालय रुपन्देहीमा कार्यरत खरिदार लक्ष्मी ढकालले भने यो आफ्नो फाँट नभएको बताए पनि साथीको सहयोगस्वरूप पूरानो जग्गाधनी राधेश्याम यादवको ढड्डामा हस्ताक्षर गरिएको जानकारी दिइन्।
तर, ढकालको यो बयानले आफू जिम्मेवारी नभएको ठाउँमा हस्ताक्षर गरेर जग्गा पास गर्न खोजिएको देखिन्छ। कार्यक्षेत्रबाहिरको काममा संलग्न हुँदा पनि हालसम्म उनलाई कसैले जवाफदेही बनाएको छैन।
मालपोत कार्यालय प्रमुख मनोजकुमार सैनी भने आफूलाई यस्ता गतिविधिबारे जानकारी नभएको बताउँछन्। उनले मातहत कर्मचारीको गल्ती ढाकछोप गर्ने प्रयास गर्दै आएको देखिन्छ।
स्थानीयवासी, बैंक र सरोकारवालाको भनाइ
स्थानीय जनप्रतिनिधि सोमबहादुर गुरुङले दीपेन्द्र जालन्धर बैंकबाट ठगिएको स्पष्ट संकेत गरेका छन्। उनले भने, ‘स्थानीय एक युवालाई बैंकले विश्वास दिलाएर फसाउने काम गर्यो, यो निन्दनीय छ।’
रिकभरी प्रमुख माधव बेल्बासेले भने श्रेस्ता नभएको जग्गा धितो नराखिएको दाबी गर्दै दोष मालपोत कार्यालयमाथि थोपरे। उनले भने, ‘मालपोतका कर्मचारीले नै श्रेस्ता च्यातेका हुन् भन्ने कुरा बाहिर आएको छ। हामीले त्यस्तो जग्गा धितो राखेका छैनौं।’
तर, मालपोत कार्यालयमा यस्ता अनियमितता दोहोरिरहन्छन्। नक्कली व्यक्तिहरू खडा गरेर जग्गा पास हुने, बिना श्रेस्ता नामसारी गर्न खोज्ने, बैंकमार्फत घरजग्गा किन्ने ग्राहकहरूलाई अल्झाउने काम बारम्बार हुँदै आएको जनगुनासो छ।
एनआईसी एसिया बैंकले ‘साथी पनि, बैंक पनि’ भन्ने नारा लिएर ग्राहकसँग आत्मीयता देखाउने प्रयास गरे पनि व्यवहारमा उल्टो देखिएको छ। ठगी र अनियमितता जस्ता घटना बारम्बार बाहिर आउँदा बैंकप्रतिको विश्वास गुम्न थालेको देखिन्छ।
दीपेन्द्र अहिले न्यायको खोजीमा नेपाल राष्ट्र बैंक, सञ्चारमाध्यम र न्यायिक निकायसम्म पुगेका छन्। ‘सपना पूरा हुन्छ भनेर बैंकको विश्वास गरें। तर, अहिले आफैं बैंकले ठग्दै गएको छ,’ दीपेन्द्रको गुनासो छ। उनले आफ्नो मिहिनेतको रकम फिर्ता हुनुपर्ने र चलखेलमा संलग्न बैंक तथा मालपोतका कर्मचारीमाथि कारवाही हुनुपर्ने माग राखेका छन्।