काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशभरबाट करिब साढे एक लाख जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उक्त उम्मेदवारीमध्ये करिब ८ हजार जनाले विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएकामध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका उम्मेदवार जगन्नाथ पौडेल र काठमाडौँ महानगरपालिकाका उम्मेदवार बालेन शाहको चर्चा छ । उनीहरू दुवै जना महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार हुन् ।

भरतपुर मेयरका उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन शीर्ष नेताहरूको प्रलोभन र धम्की सुन्न लायक देखिन्छ । यसै क्रममा बिहीबार आमसभा आयोजना गरी शीर्ष नेताहरू भरतपुर पुगे । जसको एउटै उद्देश्य थियो, गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई जिताउने ।
उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत रेणुको पक्ष मत मागे । रेणु नेकपा माओवादी केन्द्रका तर्फबाट गठबन्धनको उम्मेदवार हुन् ।

यस्तै, काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहको चर्चा चुलिँदो छ । र्यापर तथा इञ्जिनियर बालेनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । उनको स्वतन्त्र उम्मेदवारीसँगै देखिएको चर्चाले सत्तासिन दलका उम्मेदवारहरू कठिन अवस्थामा रहेको देखिन्छ ।
चुनाव नजिकिएसँगै भोट माग्न घर दैलोमा पुगेका बालेनको पक्षमा युवा जमात राम्रै देखिएको पाइन्छ । पार्टीको झण्डा बोकेर चुनावी प्रचारमा हिँडेकाहरूसमेत उनीसँग फोटो खिचाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कुनै पार्टीको आधिकारिक उम्मेदवारभन्दा बढी चर्चामा रहेका बालेनले कति मत पाउँछन् ? त्यो भने चुनावी मत परिमाणले देखाउने छ ।
