नयाँदिल्ली- अण्डालाई एक उत्कृष्ट सुपरफूड मानिन्छ, जुन प्रोटिन, भिटामिन र खनिजले भरिपूर्ण हुन्छ।
त्यसैले ब्रेकफास्टमा उमालेको, अम्लेट वा स्क्र्याम्बल्ड अण्डा खानु मानिसहरूको मनपर्ने आदत बनेको छ। तर, स्वस्थ बन्ने दौडमा केही मानिसले काँचो वा आधा पकाएको अण्डा खान थालेका छन्।
यो विधि फिटनेसप्रति सावधानी अपनाउनेहरू माझ धेरै लोकप्रिय हुँदै गएको छ। यद्यपि, यसलाई पूर्ण रूपमा सुरक्षित मानिएको छैन।
काँचो अण्डामा साल्मोनेला ब्याक्टेरिया हुन सक्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। यस्तो अवस्थामा यो बानीसँग सम्बन्धित सावधानी र जोखिमहरू जान्नु महत्त्वपूर्ण छ।
काँचो अण्डा खाँदाका गम्भीर परिणाम
– काँचो अण्डाले फुड पोइजनिङ हुन सक्छ। पेट दुख्ने, वान्ता, ज्वरो र कमजोरी महशुस हुन सक्छ।
– काँचो अण्डा खाँदा ग्यास्ट्रोइन्टेराइटिस हुन सक्छ। र, पेट र आन्द्राहरू सुन्निन सक्छन्।
– काँचो अण्डा खाँदा बायोटिनको कमी हुन सक्छ। र, त्यसले कपाल झर्ने, छालामा समस्या र थकान उत्पन्न गराउन सक्छ।
– काँचो अण्डा खाँदा एलर्जीको समस्या निम्तिन सक्छ। छालाको समस्या, श्वासप्रश्वासमा समस्या र गम्भीर एलर्जिक रियाक्सन हुन सक्छ।
काँचो र पाकेका अण्डा खाँदाका लाभ-हानी
– काँचो अण्डा खाँदा शरीरले ५० देखि ६० प्रतिशत प्रोटिन मात्र प्राप्त गर्छ। पकाएर खाँदा ९० प्रतिशत प्रोटिन प्राप्त हुन्छ।
– काँचो अण्डामा एभिडिन नामक प्रोटिन हुन्छ, जसले बायोटिनलाई रोक्छ। पकाएर खाँदा शरीरमा बायोटिन सहजै प्राप्त हुन्छ।
– काँचो अण्डामा केही भिटामिन अत्यधिक हुन्छन्। पकाएर खाँदा त्यस्ता भिटामिन शरीरलाई आवश्यक मात्रामा प्राप्त हुन्छन्।
– काँचो अण्डामा साल्मोनेलाजस्ता ब्याक्टेरिया हुन सक्छन्, जसले शरीरलाई हानी गर्छन्। पकाएर खाँदा त्यसको जोखिम हुँदैन, शरीर सुरक्षित हुन्छ।
– काँचो अण्डा पचाउन मुश्किल हुन्छ। पकाएर खाँदा शरीरले सहजै पचाउँछ।
भास्कर डट कमबाट