भैरहवा- रुपन्देही सदरमुकाम भैरहवास्थित सिद्धार्थ बसपार्क अगाडि निर्माण गरिएको सौन्दर्य पार्क अस्तव्यस्त मात्रै होइन, फोहोर थुपारिने डम्पिङ साइटजस्तै बनेको छ।
करिब चार वर्षअघि लाखौं रुपैयाँको सरकारी लगानीमा निर्मित यो पार्क अहिले चिनिनसक्नु अवस्थामा पुगेको छ। संरचनागत रूपमा नगर सौन्दर्यीकरण र पर्यटक आकर्षणका लागि निर्माण गरिए पनि संरक्षणको अभाव र स्थानीय तहको लापरवाहीले यो पार्क बेवारिसे बनेको छ।
सिद्धार्थनगर नगरपालिका-३ मा अवस्थित पार्कलाई झारजंगलले ढाकेको छ। प्लास्टिक, गुटखा र अन्य फोहोरले भरिएको यो क्षेत्र वरपरका होटल र यातायात व्यवसायी तथा स्थानीय बासिन्दाका लागि टाउको दुखाइको विषय बनेको छ।
‘पार्कले सम्भावना बढाउने थियो, तर बन्यो समस्या’
स्थानीय होटल व्यवसायी केशव कुँवर भन्छन्, ‘पार्क बनेपछि क्षेत्रको सौन्दर्य बढ्छ भन्ने अपेक्षा थियो। पर्यटक आउँछन्, होटल व्यवसाय फस्टाउँछ भन्ने सोच थियो। तर, अहिलेको अवस्था देख्दा दुःख लाग्छ। हामीले पटक-पटक सरोकारवाला निकायलाई जानकारी गरायौं। तर, सुनुवाइ भएन।‘
सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली पनि यस्तै पीडा सुनाउँछन्। ‘सबैभन्दा पहिला भैरहवा बसपार्कलाई ‘जिरो पोइन्ट’ बनाउन जरुरी छ,‘ उनी भन्छन्, ‘तर, त्यो काम अहिलेसम्म हुन सकेको छैन। पार्क हेर्दा कमिसनका लागि झारा टार्ने मानसिकताले निर्माण गरिएको जस्तो लाग्छ। काम सबै कमसल छ।’
‘एक जनाको प्रयासले सम्भव हुँदैन’
यो संरचना पुराना जनप्रतिनिधिको पालामा निर्माण गरिएको भए पनि अहिले बेवास्तामा परेको होटल तथा रेस्टुराँ व्यवसायी संगठनका अध्यक्ष रामप्रसाद पोखरेल बताउँछन्। भन्छन्, ‘हामीले समय-समयमा सफाइ अभियान चलाएका छौं। तर, एकजनाको प्रयासले मात्र सम्भव हुँदैन। अहिलेका जनप्रतिनिधिले कुनै चासो देखाएका छैनन्।’
पालिकाको जवाफ : मर्मत र पुनर्संरचनाको योजना
यस सम्बन्धमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा भन्छन्, ‘यो पार्क पुरानो योजनाअन्तर्गत बनेको हो। अहिले मर्मत र सौन्दर्यीकरणका लागि योजना बनिरहेको छ। सफाइका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। तर केही ढिलाइ भएको हो।’
उनका अनुसार सर्वप्रथम बसपार्क क्षेत्रलाई ‘जिरो पोइन्ट’को रूपमा विकास गर्ने र त्यसपछि पार्क सुधारको कामलाई तीव्रता दिने तयारी छ।
संरक्षण नहुँदा सार्वजनिक संरचनाहरू खण्डहर बन्ने खतरा
सिद्धार्थ बसपार्कको अगाडि रहेको सौन्दर्य पार्कको यो अवस्था एउटा उदाहरण मात्र हो। यदि नगरपालिकाले समयमै यस्ता सार्वजनिक संरचनाको संरक्षण र व्यवस्थापनमा चासो नदिने हो भने नगरभित्र निर्माण भएका थुप्रै संरचना क्रमशः खण्डहरमा परिणत हुने जोखिम उच्च छ।
प्रश्न उठिरहेको छ- के नगरपालिकाले यस्ता संरचनाको संरक्षण, व्यवस्थापन र पुनः उपयोगका लागि ठोस कार्ययोजना ल्याउँछ ? कि आजको बेवास्ताले भोलिका सम्भावनासमेत समाप्त पार्ने हो ?