नयाँदिल्ली- पछिल्ला वर्षमा अस्वस्थ जीवनशैली र खराब खानपानका कारण कलेजोसँग सम्बन्धित रोगहरू तीव्र गतिमा बढिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०२२ मा संसारभर कलेजोको क्यान्सरबाट करिब ७ लाख ६० हजार मानिसको मृत्यु भयो।
जर्नल अफ हेपेटोलोजीमा प्रकाशित एक अध्ययनको रिपोर्टअनुसार सन् २०२० देखि २०४० को बीचमा संसारभर कलेजोको क्यान्सरका नयाँ बिरामी र मृत्युको संख्या ५५ प्रतिशतभन्दा अधिक हुन सक्ने अनुमान छ। जीवनशैलीमा परिवर्तनमार्फत यसबाट छुटकारा पाउन सकिन्छ।
कलेजोका कोशिकाहरूको डीएनएमा परिवर्तनका कारण लिभर क्यान्सरको जोखिम बढ्छ। त्यसका कारण कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन्। र, ट्युमरको रूप लिन्छन्। शुरुवाती चरणमा कुनै लक्षण नदेखिने भएकाले यो अझ खतरनाक हुन्छ।
कलेजो शरीरको अत्यधिक आवश्यकताको अंग हो। कलेजो बिना जीवन सम्भव छैन। यसले रगतलाई फिल्टर गर्छ। र, पाचन र डिटक्सिफिकेसनसहित करिब ५०० वटा अत्यावश्यक काम गर्छ। जब कलेजो खराब हुन्छ, शरीरमा गम्भीर बिमारी शुरु हुन्छन्। र, ज्यानकै लागि खतरा उत्पन्न हुन्छ।
यी लक्षणलाई नगरौं नजरअन्दाज
– पेटको माथिल्लो भाग दुख्नु र सुन्निनु
– सधैं थकान र कमजोरी महशुस हुनु
– पेटको दायाँतर्फ रिब केजको मुनिपट्टि गाँठो पलाएजस्तो लाग्नु
– भोक नलाग्नु र अचानक तौल घट्नु
– छाला र आँखामा पहेंलो देखिनु
– पिसाब गाढा पहेंलो देखिनु
– दिसामा कालो र असामान्य रंग देखिनु
– खाना नपच्नु र वान्ता भइरहनु
– हमेशा ज्वरो आइरहनु
यी मानिसलाई लिभर क्यान्सरको खतरा
– जसलाई लामो समयदेखि हेपाटाइटिस बी र सीको इन्फेक्सन देखिइरहेको छ
– जो लिभर सिरोसिस र फ्याटी लिभरको समस्यामा छन्
– जसको शरीरको तौल साह्रै बढी छ
– जो टाइप-२ डाइबिटिजका बिरामी छन्
– जो धुम्रपान र मध्यपान गर्छन्
– जो सुर्तिजन्य पदार्थको सेवन गर्छन्
लिभर क्यान्सरका कुन स्टेज खतरनाक ?
– पहिलो स्टेजमा कलेजोमा २ सेन्टिमिटरको सानो ट्युमर देखिन्छ। समयमा उपचार गर्दा यो निको हुन्छ।
– दोस्रो स्टेजमा ५ सेमीसम्मका २-३ वटा ट्युमर देखिन्छन्। यो चरणमा पनि समयमै उपचार भएमा निको हुन्छ।
– तेस्रो स्टेजमा ५ सेमीभन्दा ठूलो एक ट्युमर र अन्य स-साना ट्युमर देखिन्छन्। क्यान्सर आसपासका नसा र अंगहरूमा फैलिन्छ। उपचारबाट यसलाई नियन्त्रणसम्म गर्न सकिन्छ। तर, पूर्ण रूपमा निको हुँदैन।
– चौथो स्टेजमा क्यान्सर फोक्सो, हड्डी र अन्य अंगहरूमा फैलिइसकेको हुन्छ। र, यसको उपचार त्यति सहज छैन।
लिभर क्यान्सरबाट बच्ने उपाय
– हेपाटाइटिस-बीको खोप अवश्यक लगाऊँ
– त्यस क्रममा सुई र सिरिन्जप्रति सावधानी अपनाऊँ
– धुम्रपान र मध्यपान तत्काल छाडौं
– शरीरको तौल बढ्न नदिऊँ। बडी मास इन्डेक्स (बीएमआई) सन्तुलित राखौं।
– नियमित शारीरिक व्यायाम गरौं
– फास्ट फुड, जंक फुड र खराब खानपानबाट टाढा बसौं
– डाइटमा फलफूल, तरकारी सामेल गरौं
– यदि फ्याटी लिभर र लिभर सिरोसिस छ भने नियमित जाँच गराऊँ
– डाइबिटिज र मोटोपन छ भने नियमित स्क्रिनिङ गराऊँ
– कुनै पनि लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिऊँ
भास्कर डट कमबाट