काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको मेचीनगर नगरपालिकाका आठ जना एमाले नेतालाई पार्टीले कारबाही गरेको छ । बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो ।
मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यतासमेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए ।
पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी रहेका छन् । वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिएका तिलक न्यौपाने र उनको समर्थक मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।
बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन उल्लंघन गरेको आरोपमा एमालेले कारबाही गरेको छ ।
वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेदवार नेत्रप्रसाद दाहाललाई समेत पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताए ।