बुटवल- ३ वैशाखमा कांग्रेस युवा नेता तथा पूर्व सांसद अभिषेकप्रताप शाहले सामाजिक सञ्जालमा लेखे, ‘प्रधानमन्त्री, मन्त्री तथा सरकारी उच्च पदस्त अधिकारीहरूलाई हवाई मार्ग नभई दाउन्नेको बाटो प्रयोग गरी पश्चिम यात्रा गराउनुपर्छ। जनताले झेल्दै आएको पीडा बल्ल थाहा हुने थियो।’
उनकै आग्रह मानेजसरी ६ वैशाखमा प्रधानमन्त्री केपी ओलीले नारायणगढ-बुटवल सडकको गैंडाकोट खण्डमा पुगेर निरीक्षण गरे। र, सडक समयमै पूरा हुने दाबी गरे। त्यस क्रममा निर्माण कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’का प्रतिनिधिसँग सडकको प्रगतिबारे जानकारी पनि लिए। तर, अझै कामको गति उस्तै छ, सुस्तै छ।
नारायणगढ-बुटवल सडक लामो समयदेखि निर्माण नहुँदा स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायीहरू ठूलो समस्यामा परेका छन्।
यो सडक कहिले धुलाम्य त कहिले हिलाम्य हुने भएकाले आवागमनमा कठिनाइ भइरहेको छ। विगत लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको यो सडकले दैनिक यात्रा गर्ने यात्रु, मालवाहक सवारी साधन तथा अन्य यातायातका साधनहरूलाई प्रत्यक्ष असर पुर्याएको छ।
सडक बिग्रिएका कारण यात्रा गर्न अत्यधिक समय लाग्दै आएको छ। दुईदेखि चार घण्टामा पुग्नुपर्ने गन्तव्यमा अहिले १५-१६ घण्टा लगाउनुपर्ने बाध्यता छ। नियमित रूपमा यात्रा गर्नेहरू अत्यन्तै कठिन अवस्थामा छन्। सडकको अवस्थाले गर्दा बिरामी, वृद्धवृद्धा र विद्यार्थीहरू झनै समस्यामा परेका छन्।
एम्बुलेन्स सेवासमेत प्रभावित भएको छ, जसले आकस्मिक अवस्थामा रहेका बिरामीहरू थप सास्तीमा छन्। सडक आसपासका व्यवसायीहरू सडकको स्तरोन्नति समयमा पूरा नहुँदा व्यापारमा नराम्रो असर परेको गुनासो गर्छन्। सडकबाट उड्ने धुलोका कारण ग्राहक आउन छाडेका छन् भने बर्खामा हिलो हुँदा व्यवसाय चलाउनै गाह्रो छ।
कतिपय व्यवसायीहरूले आफ्नो व्यवसाय अन्यत्र सार्न बाध्य छन्। यो सडक निर्माण पूरा नहुँदा व्यवसाय गरी दैनिक रूपमा आय आर्जन गरी पेट पाल्नेहरूका लागि सकस भएको छ। स्थानीय व्यापारिक प्रतिष्ठानहरू दिन प्रतिदिन घाटामा जान थालेका छन्।
एसियाली विकास बैंकको १६ अर्ब ९९ करोड ५२ लाख लागतमा विस्तार हुन लागेको नारायणगढ-बुटवल सडक आयोजनाको काम ४ पुस ०७५ मा ठेक्का सम्झौता भयो। २४ माघ ०७५ देखि निर्माण व्यवसायीले काम थाले। २२ साउन ०७९ मा सम्पन्न गर्ने सम्झौता थियो।
निर्माण व्यवसायीले कोभिड-१९ महामारीका कारण निर्माण सामग्री अभाव देखाउँदै २१ साउन ०८० सम्मलाई म्याद थपे। तर, थप एक वर्षमा पनि काम पूरा भएन। फेरि ६ साउन ०८१ सम्मका लागि दोस्रोपटक म्याद थप भयो। अझै काम सम्पन्न भएको छैन। काम कछुवा गतिमा छ।
यो सडक दुई खण्डमा विभाजन गरिएको छ। ११३.५ किलोमिटर सडकको पश्चिम खण्डमा ७.८६ अर्ब लगानी अनुमानित छ। पश्चिम खण्डमा ४८.५ किलोमिटर छ। दाउन्नेदेखि बुटवलसम्म एकतर्फी ४८.५ किलोमिटर छ। पश्चिम खण्डको दुवैतर्फको सडक ९७ किलोमिटर हुन्छ। नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटरलाई पूर्वी खण्ड भनिएको छ। पूर्वी खण्डको दुवैतर्फ जोड्दा १२८.८४ किलोमिटर हुन्छ। ८ वर्षमा पनि कामले पूर्णता पाउन सकेन नै, अझै कतिवर्ष लाग्ने हो पत्तो छैन।
सडक निर्माण अलपत्र हुँदा गन्तव्यमा समयमा पुग्न मुस्किल पर्नुका साथै गाडी बिग्रने समस्या समेत बढेको यात्रुहरूको गुनासो छ। सहज हुने हो भने कावासोतीदेखि बुटवल आउन दुई घण्टा लाग्छ। तर, अहिले अलपत्र सडकका कारण दुई घण्टाको साटो ८ घण्टा यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रु पिताम्बर अर्याल बताउँछन्।
यात्रुलाई मात्र नभई सवारी साधनका चालकहरू पनि मारमा परेका छन्। सार्वजनिक यातायातका चालकहरूले सडकको अवस्था सुधार गर्न बारम्बार माग गर्दै आएका छन्। सडकमा भएका खाल्डीखुल्डीका कारण सवारी साधन छिटो मर्मत गर्नुपर्छ, जसकारण अनावश्यक खर्च बढिरहेको छ। गाडीहरू सडकको दुर्दशाका कारण पटक-पटक बिग्रने गरेका छन्, जसले गर्दा यात्रुहरूलाई समेत हैरानी भएको छ। गाडी बिग्रँदा यात्रुहरू बाटोमै अलपत्र पर्ने गरेका छन्।
आठ वर्षदेखि यो सडक अनिर्णयको बन्दी भएको उल्लेख गर्दै अवरोधका कारण पश्चिम र पूर्वी नेपालको कनेक्टिभिटीमा प्रत्यक्ष असर परिरहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन्।
स्थानीय बासिन्दा तथा नागरिक समाजका अगुवाहरूले पनि यो समस्याबारे बारम्बार सरोकारवाला निकायलाई जानकारी गराए पनि समाधान नआएको स्थानीय महेन्द्र श्रेष्ठ बताउँछन्।
पटक-पटक दबाब दिँदा पनि कुनै ठोस पहल नदेखिएकाले स्थानीयवासीले आन्दोलनमा उत्रिने चेतावनी नै दिएका छन्। यो सडक नेपालका लागि मात्र नभई दक्षिण एसियासँगको व्यापारिक सम्पर्कका लागि पनि महत्त्वपूर्ण मार्ग भएकाले यसको द्रुत सुधार आवश्यक रहेको श्रेष्ठ बताउँछन्।
तर, सडक पूरा नहुँदा देशकै आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ। उद्योग, पर्यटन र यातायात क्षेत्र यसबाट प्रत्यक्ष प्रभावित भएका छन्।
काठमाडौंदेखि महेन्द्रनगरसम्म पुग्न बाइकमै लामो यात्रा गर्दै आएका कुश भट्टले भने, ‘बाटोको दुर्दशा यस्तो छ कि वर्षमा एक दिन मनाइने होली यस बाटोबाट यात्रा गर्दा वर्षैभरि खेल्न पाइरहेका छौं। नेपालमा भन्ने कसलाई र सुन्ने कसले भन्ने पनि टुंगो छैन।’
सडक नबन्दा व्यापार व्यवसाय गर्न कठिन भएको स्थानीय भीमबहादुर विश्वकर्मा बताउँछन्। दैनिक २ हजार ५०० रुपैयाँको व्यापार हुने गरेकामा अहिले १ हजारको व्यापार गर्न पनि मुश्किल रहेको उनको गुनासो छ।
सडकका कारण समयमा गन्तव्यमा पुग्न नसक्दा बिरामीको बाटोमै ज्यान जानेदेखि धुलोका कारण वृद्धदेखि बालकसम्म रोगी बन्दै गएको स्थानीय रुपमांगत बस्याल बताउँछन्। अर्का यात्री प्रदीप आचार्य भन्छन्, ‘सडक निर्माण हुनु विकासको काम भए पनि व्यवस्थित तरिकाले काम नहुँदा सडकमा यात्रा गर्न कठिन छ।’