काठमाडौँ । मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा संकलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि संकलन गर्ने समय भए पनि मनाङवासी तीन साताअघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् ।
जडीबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न अनुमति दिएको हो । एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ । यार्सागुम्बा संकलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नु पर्ने अवस्था छ ।
जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । उनीहरूलाई आयस्रोत जुटाउने र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्नु पर्ने दोहोरो चटारो छ । यार्सागुम्बा संकलन गर्न मनाङवासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गरेका छन् ।
जडीबुटी संकलनको समय भएकाले सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । ‘यार्सागुम्बा संकलन क्षेत्रमा सुरक्षाकर्मी पुग्नु पर्ने हुन्छ, निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउन जुटेका छौंँ,’ उनले भने ।
दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री हुन नसक्दा जिल्लाको राजस्व घटेको थियो । यसवर्ष जडीबुटी संकलन भइरहेकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ ।