काठमाडौं- हरेक वर्षको अन्तिम साता जात्रा आउन लाग्यो भनेर मन यसै रमाउँछ। नयाँ वर्ष र बिस्का जात्रा एकै दिन हुने भएकाले झनै २ गुणा रमाइलो महशुस हुन्छ।
अझ वर्षको अन्तिममा जाँच सकाएर बिदामा बसिरहेकाहरूलाई त रमाइलोमाथि रमाइलो। बिस्का जात्राको क्रेज हरेकका घर-घरमा देखिन्छ। सानोदेखि वृद्ध बा-आमाहरू सबैजना रमाइरहेका हुन्छन्। बिस्कामा हरेक घरमा भोज गरिने भएर वर्षको अन्तिम साता घरको सरसफाइ गरिन्छ।
बिस्का जात्राको दिन। अन्य दिनभन्दा नगरको माहोल फरक हुन्छ। धिमे बाजाको तालमा सिंगो नगर नै ‘झ्यागु न्यागु खो’ गर्दै रमाइरहेको हुन्छ। सम्पूर्ण नगरवासीको मन हर्षित देखिन्छ। र, मुहारमा मिठो मुस्कान छाएको हुन्छ।
छोरी-चेलीहरू बिहानै मन्दिरमा राम्रा-राम्रा लुगामा चिटिक्क परेर पूजा गर्न आइरहेका थिए। पूजा गर्नेहरूको लाइन बिहान १ बजेदेखि नै थियो र ५ बजिसक्दा पनि उत्तिक्कै लामो। करिब ३ः३० बजे म आफैं पनि मन्दिरमा डेढ बजेदेखि लाइनमा बसेर पूजा गरेर घर फर्केकी थिएँ।
बिस्का आउनु एक साता अघिदेखि नै धिमे बाजा सिकेकाहरूले आफ्नो सिकाइको प्रदर्शनी गर्दै मौलिक बाजा जोगाउने उमंग देखाइरहेका थिए। बिहानीको जात्रा मनाउन विस्तारै लाछी टोलमा मानिसहरू जम्मा हुन थाले। र, केहीछिनमै मानिसहरूको घुइँचो बढ्न थालेको थियो। म यो दृश्य आफ्नो घरको बार्दलीबाट नियालिरहेकी थिएँ। जात्रा शुरु भयो कि देवताहरूका रथ उठाए कि उठाएनन्, मानिसहरू कति जम्मा भएजस्ता जिज्ञासाले घरभित्र रहन दिँदैनन्, छिनछिनमा बार्दलीमा पुगेर जात्राको माहोल नियाल्न मन आतुर रहन्छ।
भगवानको मूर्ति राखिएको रथ करिब ६ः३० मा उठाइयो। र, जात्राको शुरुवातसँगै धिमे बाजा, झ्याली र मानिसहरूको स्वरको आवाज पूरै नगरमा गुञ्जायमान भयो। जात्रामा एउटा दृश्य यस्तो पनि थियो, साथीहरूले सुन्तला रङको सिन्दुर एकअर्कालाई छर्किए। र, नयाँ वर्षको शुभकामना दिँदै अँगालो हाल्दै थिए। उनीहरू जात्रामा मस्त अनि मग्न देखिन्थे। यो दृश्य देख्दा मलाई मेरा साथीहरूको सम्झना भयो। र, ती पलहरू सम्झिँदै ती दिनहरू कति रमाइला थिए है भनेर सोच्दै गर्दा आँखाबाट आँसु बगेको पत्तै पाइनँ।
साँच्चिकै मानिसले आफ्नो बाल्यकालको जति माया जीवनको अरू कुनै कालमा गर्न सक्दैन। साथीहरू पनि त्यतिबेलाकै सच्चा हुन्छन्। कुनै स्वार्थ नभएको मात्र माया र प्रेमले बाँधिएको त्यो बाल्यकालको मित्रता नै साँचो हो।
सानो छँदाको मेरो बिस्का !
पहिले सानो छँदा स्कुलको बिदा शुरु भएदेखि नै साथीहरूसँग आहा बिस्का आउन लाग्यो भन्दै सबैजना गफ गर्थ्यौं। गफ गर्दैगर्दा बिस्कामा भएका रमाइला घटनाहरू सुनाउँदै पेट मिचीमिची हाँस्थ्यौं। बिस्काको एक दिनअघि रातभरि निन्द्राले सताउँथ्यो। कहिले बिहानी हुन्छ र साथीलाई बोलाउन जाऊँजस्तो हुन्थ्यो। बिस्काको दिन अर्थात् १ वैशाख जात्रा राति शुरु भएर २ वैशाख बिहान १ बजेतिर सकिन्छ।
आमाले रातिको जात्रामा नजानु भन्दै गाली गर्नुहुन्थ्यो। तर पनि, साथीले बोलाउना साथ आमाको कुरा नसुनी दौडिँदै बाहिर निस्किन्थें। साथी पनि त्यसैगरी आएका हुन्थे। र, बाटोमा एकअर्काको कुरा सुनाउँदै हाँस्दै जात्रा स्थलमा पुग्थ्यौं। हरेक वर्ष हामी जात्रा शुरु हुनु १ घण्टाअघि नै पुग्थ्यौं। त्यो समयमा हामी साथीहरू मिलेर छुइदुम खेल्थ्यौं। केही समयपछि मानिसहरूको भिड जम्मा हुन्थ्यो। र, हामी छिटो-छिटो पाटीमा आफ्नो ठाउँ बनाउँथ्यौं। पाटीमा बसेर हेर्दा देवताको रथ उचालेको राम्रोसँग देखिने र कसैले पनि नधकेल्ने हुँदा हामी त्यहाँ बस्थ्यौं।
नगदेशमा १ वैशाख रातिको जात्रामा रथलाई पूरै नगरमा घुमाइन्छ। सानो छँदा जात्रा शुरु भएदेखि नसकिएसम्म साथीहरूसँग रमाउँदै जात्रा हेर्ने गर्थें। जात्रा हेर्दै गर्दा स्कुलका साथीहरूसँग पनि भेट हुन्थ्यो। र, नयाँ वर्षको शुभकामना आदानप्रदान गर्थ्यौं। जात्रा सकिएर घर फर्किने क्रममा साथीहरूसँग छुट्टिएर जाने मनै हुँदैनथ्यो। तर पनि, छोरी मान्छे घर बाहिर बस्नु हुँदैन भन्ने डरले हामी मन नलागी-नलागी घर जान्थ्यौं। र, भोलि चाँडै बोलाउन आऊ है भन्दै साथीहरूसँग छुट्टिन्थ्यौं।
२ वैशाखमा मानिसहरू सिन्दुरले पूरै शरीर लिपेझैं देखिन्थे। उनीहरू बाजाको तालमा नाच्दै गर्दा नगरमा बाजाकै आवाज मात्र घन्किन्थ्यो। बाजाको आवाज सुन्नेबित्तिक्कै बाहिर सबै साथी भेला हुन्थ्यौं। र, एकअर्काको अनुहारमा रङ लगाइदिन्थ्यौं। त्यसपछि सबैजना धिमे सँगसँगै जान्थ्यौं।
प्रायः छोरी मान्छेहरू नगदेशको कोर बस्तीमा छेउछाउबाट हिँड्ने गर्छन्। सामाजिक लोकलाज र मानिसले अनेकथरि कुरा गर्छन् भनेर। र, हामी पनि त्यस्तै गर्थ्यौं। कोर बस्ती कटिसकेपछि सबैजना धिमे बाजाको तालमा रमाउँदै नाच्थ्यौं। बजाउन सिकेका साथीहरू बाजा बजाउँथे। जात्रामा मनाउन आएका मानिसहरू सबैजना साथीसरह नै हुन्थे। मानिसहरूको भिड यति धेरै हुन्थ्यो कि हामी साथीहरू हात समाएर हिँड्नु पर्थ्यो। केहीगरी कोही साथी कतै छुट्यो भने उसलाई खोज्न गाह्रो हुन्थ्यो। जात्रा सकेर घरमा मिठो निन्द्रा सुत्ने बेलामा आनन्दानुभूति हुन्छ। हामी साथीहरू जात्राको शुरुदेखि अन्तिमसम्म साथसाथ हुन्थ्यौं। र, जीवनको किताबमा सम्झनाका मिठा पानाहरू थप्दै जान्थ्यौं।
०००
अहिले पनि जात्रामा निकै रमाइलो हुन्छ। तर, कहींकतै साथीहरूको सम्झनाले मन भारी हुन्छ। हामी मानिस ठूलो हुँदै गर्दा मित्रतामा पनि स्वार्थ, आफ्नै सपना, इच्छा, जिम्मेवारीबाट थिचिँदै जान्छौं। आ-आफ्नै जिम्मेवारीले थिचेर होला अहिले त साथीहरू पनि टाढिँदै गए। जात्राको क्रेज पहिलेजस्तो रहेन। कोही साथी विदेश गए, कोही आफ्नो पढाइमा व्यस्त छन् त कोही घरकै काममा तल्लीन।
ठूलो भएपछि आफ्नो काँधमा जिम्मेवारी आएजस्तो महशुस पनि भएको छ। पहिले सानो छँदा केही पनि काम गर्नुपर्दैनथ्यो, काँधमा कुनै जिम्मेवारी थिएन। अहिले घरमा सघाउनुपर्छ भन्ने भान हुन्छ। पहिले साथीहरू कति मिल्ने थिए। अहिले भने स्वदेशमै भएका साथीहरू पनि पहिलेझैं सँगै छैनन्।
साथीहरूसँग राम्रो या नराम्रो जस्तो सम्बन्ध भए पनि जात्रासँगको सम्बन्ध मेरो भने उस्तै छ। साथीहरू भेट हुँदा नयाँ वर्षको शुभकामना दिँदै अनुहारमा उमंगको भाव हरहमेशा राखिरहेकी हुन्छु। मेरो अनुभवमा जात्रामा मन खोलेर कुनै तनावबिना मज्जाले रमाउन सक्नुपर्छ। यस्तो हुँदा मनमा छुट्टै आनन्द र खुशी छाउँछ।
ठूलो हुँदै गर्दा मनमा अनेकथरि शंका-उपशंकाहरू उत्पन्न हुन्छन्। मानिसहरूले के भन्लान् भन्ने प्रश्नले पनि जात्रामा अलि हिचकिचाहट आउँदो रहेछ।
तथापि, त्यही हिचकिचाहट टाढा भगाउन जात्राको शुरुवात भएको हुन सक्छ। यहीबेला लामो समय टाढा भएका साथीभाइ भेट्न पाइन्छ। पुराना तिता सम्झनाहरूलाई भुलाएर मिठो शुरुवात गर्न नै जात्राको प्रचलन शुरु भएको होला।
जात्रामा अहिले भने मानिसहरू घट्दै गएका छन्। भगवानका रथ बोक्ने मानिसहरू पनि घट्दै गएका छन्। सुन्तला रङको सिन्दुर पनि कम गुणस्तरको हुन थालेको छ। तर, मानिसहरूको जात्राप्रतिको आस्था र माया भने उत्तिकै छ।
मानिसहरूले जात्रामा ‘ह्यापी न्यू इयर हाई हाई, पुरानो वर्ष बाई बाई’ भन्दै गर्दा अब यस वर्षमा मैले राम्रो गर्न सकुँ भन्ने भाव मनमा आउँछ। जात्राको समयमा रथ उठाउने, रोक्ने समयमा भगवानप्रति श्रद्धा, भक्ति, र विश्वास भएकै कारण मनमा भएका नराम्रा विचार हटेर जाऊन्, भविष्यमा एक काविल व्यक्ति बन्न सकौंजस्ता सकारात्मक भाव आउने गर्छ।