भक्तपुर- ६७ वर्षीय अष्टबहादुर बाडे मध्यपुर थिमी-७ नगदेशका स्थायी बासिन्दा हुन्। उनी सानैदेखि नगदेशका हरेक जात्रा पर्वमा आबद्ध हुन्छन्। भन्छन्, ‘नयाँ वर्षको शुरुवातसँगै मध्यपुर थिमीमा जात्राको उमंग छाउँछ।’
यस वर्ष पनि नगदेश बिस्का जात्रामा रंगिएको छ। नगदेशका गल्ली-गल्लीमा बाजा बजाएर, नाचगानका साथ साथीभाइसित रमाइलो गरिन्छ। अष्टबहादुरका अनुसार जात्राको मुख्य आकर्षण भनेको गणेश भगवान् बिराजमान भएको रथ हो। जात्राको दिन सयौं मानिसले यस रथलाई काँधमा बोकेर नगर परिक्रमा गराउँछन्।
०००
नगदेशको बिस्का जात्रा शुरु हुनुभन्दा ८ दिनअघि तीसा पिकय्गु (गहना निकाल्ने) चलन छ। यो परम्परा सकेपछि बाजाहरू घरबाट बाहिर बजाउन नमिल्ने नियम छ।
०००
उनका अनुसार नगदेशको बिस्का जात्रा ३ दिन मनाइन्छ। पहिलो दिन राति करिब ८ बजेतिर नगदेशका १४ वटा धिमे गुठीहरू बाजा बजाएर न्यागाँ टोलमा भेला हुन्छन्। न्यागाँ टोलमा गणेशको मुख्य मन्दिर (द्यो छेँ) भएका कारण त्यहीं भेला हुने गरिएको हो। नगदेशका सबै धिमे गुठीहरू मन्दिरको आँगनमा उपस्थित भइसकेपछि गणेशको मूर्ति रथमा बिराजमान गराइन्छ। र, मानिसहरूले रथलाई काँधमा बोकेर पुखुसी टोल हुँदैँ लाछीको गणेश मन्दिरमा बाजासहित लैजान्छन्।
स्थानीय गणेशबहादुर प्रजापतिका अनुसार बिस्का जात्रामा म्याली बाजाको विशेष महत्त्व छ। जात्रा शुरु हुनुअघि द्यो छेँका मानिसहरूले लाछी गणेशमा पूजा लग्ने परम्परा छ। त्यहाँ पूजा लग्दा महाली बाजा बजाउनैपर्ने नियम छ। महाली बाजा नगदेशका स्थानीय बासिन्दा कपाली थर भएकाहरूले बजाउने चलन रहिआएको छ।
जात्रामा कोही मानिस चिलाग (बत्ती) बोकेर रथभन्दा अगाडि हिँडिरहेका हुन्छन्। स्थानीय सुन्दरीमाया कौरीका अनुसार यी चिलागहरू पहिले घरघर र बाटोमा बत्ती नभएका कारणले बाटो देखाउन बालिएको मानिन्छ।
यस्तै, न्यागाँ टोलमा जात्रा शुरु भएलगत्तै लाछी टोलमा गणेश मन्दिर अगाडि परम्परागत नृत्य भजन पनि शुरु हुन्छ। रथ, बाजा र दर्शनार्थीहरू लाछी गणेश मन्दिरमा पुगेपछि मन्दिरको ३ पटक परिक्रमा गरिन्छ। त्यसपछि गणेशको मूर्ति लाछी मन्दिरमा राखिन्छ। र, दर्शनार्थीहरू गणेश भगवानको दर्शन गर्न मन्दिरमा जान्छन्। र, बाजा बजाउने गुठीयारहरू आ-आफ्नो घरतिर लाग्छन्।
०००
दोस्रो दिन विक्रम संवत नयाँ वर्षको दिन। यस दिन नयाँ वर्षको शुभकामना दिँदै शुरु हुन्छ। यस दिन बिहान करिब १० बजेतिर गणेश मन्दिरमा राखिएको गणेश मूर्ति रथमा राखिन्छ। र, रथलाई फूलमालाले सजाइन्छ। सोही क्रममा गुठीयारहरू रमाउँदै बाजा बजाउँछन्।
त्यसपछि राति ८ बजे पुनः जात्रा शुरु हुन्छ। धिमे गुठीका मानिसहरू पनि भेला भएर बाजा बजाइरहेका हुन्छन्। जात्रा शुरु गर्नुअघि रथलाई सयपत्री र सुपको फूलमालाले सजाइन्छ। र, छत्र घुमाएर जात्राको शुरुवात गरिन्छ। यस दिन रथलाई नगदेशका कोर बस्तीहरूमा परिक्रमा गराइन्छ।
परिक्रमा गराउने समयमा सबैभन्दा अन्तिममा परम्परागत नृत्य भजन गाउँदै रथसँगै नगर परिक्रमा गरिन्छ। ८ बजे शुरु भएको नगर परिक्रमा राति करिब १ बजेतिर रथ लाछी टोलमा भगवान् बुद्धको मन्दिरको उत्तरतिर रोकिन्छ। रथ परिक्रमा गर्ने क्रममा हरेक घरबाट मानिसहरूले पूजा गर्छन्। रथ रोकिसकेपछि बाजा बजाउनेहरू, भजन गाउने बाहरू र सम्पूर्ण दर्शनार्थी आ-आफ्नो घरतिर लाग्छन्।
०००
तेस्रो दिन २ वैशामा बिहान ६ बजे रथ काँधमा बोकेर बाजागाजासहित नगदेशका हरेक पुराना बस्तीहरूमा परिक्रमा गराइन्छ। यस दिनमा मानिसहरूले एकअर्कालाई सुन्तला रङको सिन्दुर छ्यापेर रमाइलो गर्छन्। जात्राका बीच-बीचमा मानिसहरू समेबजी खाइरहेका हुन्छन्। जात्रा खेल्ने मानिसहरू समेबजी खाएर नै आफनो पेट भरिरहेका हुन्छन्।
जात्रामा बालबालिकादेखि ज्येष्ठ नागरिक सम्पुर्ण नगदेशका बासिन्दा सहभागी हुन्छन्। मानिसहरू यस जात्रामा दुःखलाई बिर्सेर रमाइरहेका हुन्छन्। यो जात्रा नेवार समुदायको पहिचान नै बनेको छ। जात्रा ६ बजे शुरु भएर करिब २ बजे न्यागा टोलको गणेश मन्दिर (द्यो छेँ) को आँगनमा सकिन्छ। जात्रा सकिनुअघि एकपटक फेरि लाछीको गणेश मन्दिर परिक्रमा गराइन्छ। त्यसपछि न्यागाँमा जात्राको अन्तिम बाजाका तालहरू लिइन्छ। र, गणेशको मूर्ति राखिन्छ।
०००
अष्टबहादुर बाडे भन्छन्, ‘नगदेशको सिद्धि गणेशको जात्रा मध्यपुर थिमीकै मुख्य सिन्दुर जात्राका रूपमा मनाइन्छ।’
विगतमा नगदेशको सिद्धि गणेशको रथ मध्यपुर थिमीका विभिन्न ठाउँमा परिक्रमा गराइन्थ्यो। यो सिन्दर जात्रा थिमीका पुराना बस्ती चपाचो, भुलंखेल बालकुमारी, २ पोखरी हुँदै मध्यपुर थिमी-४, ५, र ६ मा नगदेश सिद्धि गणेश लगिन्थ्यो। यस्तै, मध्यपुर थिमी-८ बोडे र ९ तिगनीसम्म पनि नगदेशको रथ जात्रा गरिन्थ्यो। तर, मानिसहरूको आपसी झगडा र म मुटावका कारण जात्रा क्रममा झगडा हुन थालेपछि नगदेशको सिन्दुर जात्रा अहिले नगदेशमा मात्रै परिक्रमा गराइन्छ।
०००
यस्तै, विगतमा नगदेशको रथ अन्य स्थानमा लगिन्थ्यो र रथमा सिन्दुर चढाइन्थ्यो। अष्टबहादुरका अनुसार जब नगदेशको रथ थिमीमा लगिन्थ्यो, सिनः गुठी (सिन्दुर गुठी)का गुठीयारहरूले सिद्धि गणेशलाई सिन्दुर लगाइदिए पछि मात्र जात्रा शुरु हुने मान्यता थियो। सिन्दुर गुठीका गुठीयारहरूले भगवानलाई सिन्दुर नचढाएसम्म कसैले पनि सिन्दुर खेल्न नपाइने चलन छ। नगदेशको सिद्धि गणेश कुन-कुन मार्गबाट कहाँसम्म पुग्यो भनेर थाहा पाउन बाटोमा हेरेपछि ठ्याक्कै जानकारी मिल्थ्यो।
समयसँगै परिवर्तन भएर किन्न सहज, पैसाको कमी नभएर र रमाइलोको लागि अहिले थिमी जात्रामा पनि सिन्दुरको प्रयोग गर्न थालिएको उनी बताउँछन्।
०००
नगदेशका ईश्वर बाडे भन्छन्, ‘बिस्का जात्रा अति महत्त्वपूर्ण भएकाले नै नगदेशका बासिन्दाहरू दशैंभन्दा पनि बिस्का जात्रामा धेरै रमाइलो गर्छन्। किनभने, यस जात्रामा स्थानीय बासिन्दा धिमे बाजा बजाएर, विभिन्न भजन, जात्राको माहोलमा रमाउने, वातावरण नै अर्को, सम्पूर्ण कुराको समिश्रण भएको हुनाले एकदम रमाइलो हुन्छ।’
उनका अनुसार बिस्का जात्रा भन्नेबित्तिकै सजिलो त पक्कै हुँदैन। सम्पूर्ण नगरलाई नै समेटेर अगाडि बढ्नुपर्ने र धेरै कुराको जिम्मा लिनुपर्ने भएको कारण थोरै कठिनाइहरू भने हुने उनी बताउँछन्। ‘यही कठिनाइ हटाउन स्थानीय बासिन्दाले विभिन्न गुठीहरूको निर्माण गरेका हुन्,’ उनी भन्छन्।
जस्तै- भगवानको मूर्ति सुरक्षाका लागि द्यो गुठीले मूर्ति उठाउने, राख्ने र पूजा गर्ने गर्छ। यस्तै, नो गुठी (बाँसको गुठी)ले बाँस स्टकमा राखिरहन्छ। कथंकदाचित बाँस चर्क्यो वा भाँचियो भने नो गुठीले मिलाइदिने काम गरिरहेको हुन्छ। अर्को छत्र गुठीले छत्रको रेखदेख गर्छ।
जात्रामा प्रयोग हुने खटको संरक्षणका लागि पनि गुठी हुन्छ। त्यसपछि, सिनः गुठी जात्रामा सबैभन्दा पहिले सिन्दुर भगवानलाई चढाएपछि मात्र सिन्दुर जात्रा शुरु हुन्छ। सिन्दुर चढाउनका लागि पनि छुट्टै गुठी हुन्छ।
पः मा गुठी टोल-टोलमा जात्राको निमन्त्रणा दिन जाने व्यक्तिहरूको गुठी बनाइएको हुन्छ। धिमे गुठीका गुठीयारहरूले जात्रामा बजाइने बाजाहरू व्यवस्थापन गर्छन्। नगदेशमा करिब १४ वटा धिमे गुठीहरू छन्।
द्यो गुठीका मानिसहरूले जुत्ता लगाउनु हुँदैन भन्ने मान्यता छ। उनीहरू जात्राभरि जुत्ता नलगाई भगवानको सेवामा बस्छन्।
०००
काजी नसी कौरी पनि नगदेशका स्थायी बासिन्दा हुन्। उनी अहिले ८२ वर्षका भए। ज्येष्ठ उमेरमा पनि जात्राप्रति उनको लगाव तन्नेरीवयकै जस्तो छ।
कौरी भन्छन्, ‘पहिले र अहिले जात्रामा धेरै फरक आएको छ। पहिले जात्राको रथ द्यो गुठीले मात्र बोक्न मिल्ने अरूले नमिल्ने भन्ने थियो। अहिले भने जसले बोक्दा पनि हुने भएको छ। पहिले रथ बोक्ने मानिसहरूले जुत्तासमेत लगाउन मिल्दैनथ्यो। अहिले भने लगाए पनि हुन्छ। जात्रामा पहिलेजस्तो मान्छेको भीड रहेन। बिस्काको रथ बोक्ने मानिसहरू कम भएका छन्। जाँड, रक्सीको सेवन बढी हुन थालेको छ।’
०००
बिस्का जात्रा शुरु हुनुअघि र समाप्तिपछि स्थानीय बासिन्दा र वडा कार्यालयले खटाएका मानिसहरूले नगरको मिलेर सरसफाइ गर्छन्। बिस्का जात्रालाई अझै राम्रो बनाउन स्वयंसेवकहरू परिचालन गर्ने, स्काउटको सहयोग लिने गरिएको छ। अनि, रेडक्रस, स्वास्थ्य चौकीहरूले पनि सहयोग गरिरहेका हुन्छन्।