सुनसरीको बराहक्षेत्र मन्दिर बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । दीगो तटबन्ध नबाँधे वराहक्षेत्रको अस्तित्व इतिहासमा मात्र रहने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
वराहक्षेत्र मन्दिर मात्रै होइन, मन्दिर वरपर रहेका ८० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ।
गत बिहीबार वडा कार्यालय पुगेर बाढीले कटान गरेको क्षेत्रमा दीगो तटबन्ध निर्माण गरिदिन सङ्घीय सरकारलाई पत्र लेखिदिन वडाध्यक्ष किसन थापालाई आग्रह गरे ।
वडा र नगरपालिकाको सिफारिस लिएर अर्थ मन्त्रालय,उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोग जाने स्थानीयको तयारी रहेको छ।
गत बर्खामा आएको बाढीले मन्दिर परिसरमा लाखौंको लगानीमा निर्माण भएका भौतिक संरचनाहरु बाढीले क्षतविक्षत गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार बाढीका कारण वराहक्षेत्र मन्दिर परिसरका वराह श्राद्धस्थल,शनि मन्दिर,गणेश मन्दिर,अमरनाथ मन्दिर, राई समुदायको साकेला पार्क,नवनिर्मित १० ओटा पक्की शौचालयमा क्षति पुर्याएको थियो ।
“हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुवात भएको आदिम तीर्थस्थलका रुपमा व्याख्या गरेको कोसी नदी किनारमा रहेको वराहक्षेत्र उच्च जोखिममा परेको छ,” स्थानीय कुमार श्रेष्ठले भने, “वराहक्षेत्र बचाउन केन्द्रीय सरकारले बजेट विनियोजन गरी काम नथाले वराहक्षेत्र आउँदो बर्खामा रहने हो कि नरहने हो पत्तो छैन ।”
वराहक्षेत्र मन्दिर परिसर वरिपरी ८५ बढी घरधुरी रहेका छन् । बाढीका कारण गएको पहिरोले मन्दिरमात्र होइन बस्तीसमेत जोखिममा परेको छ । बस्तीमुनि रहेको बराहक्षेत्र प्राथमिक विद्यालयको पुरानो भवन पहिरोले झारेको छ। वराहक्षेत्र मन्दिर परिसरको बस्ती विकास गर्ने विषयमा सरोकारवालाले ध्यान नदिएको स्थानीयको आरोप छ।
अहिले विकासको कुरा त छोडौं कसरी संरक्षण गर्ने भन्ने चिन्ताले स्थानीयलाई सताउँदैछ । सबै निकाय मिलेर यो पूण्यभूमि बचाउन लागिपर्नु पर्ने स्थानीयको माग छ।
‘यो आदि श्राद्धभूमि संसारका हिन्दू धर्मावलम्वीको ध्यानाकर्षण गर्नु पर्ने अवस्थामा मर्मतसम्भार र दीगो तटबन्ध हुन नसक्दा उच्च जोखिममा परेको छ,’ स्थानीय रविकुमार श्रेष्ठले भने, “धार्मिक तीर्थाटनलाई अभिवृद्धि गरेर पर्यटनसँग जोड्नुपर्ने अवस्थामा तीर्थ नै विलुप्त होला भन्ने पिर बढेको छ ।”