काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका पार्टी सभापतिलाई काठमाडौँ बोलाएका छन् । स्थानीय तह निर्वाचनबारे छलफल गर्न उनले गण्डकी प्रदेशका सभापति र कास्की जिल्लाका सभापतिसहित नेताहरूलाई काठमाडौँ बोलाएका हुन् ।
सत्ता गठबन्धनको शीर्ष नेताहरूबीच कास्कीको पोखरा महानगरको प्रमुखका विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश र कास्की जिल्लाका पार्टी सभापतिसँग वार्ता गर्न खोजेका हुन् । कास्की कांग्रेसले पोखराको मेयर अरूलाई छाड्न नसक्ने अडान लिइरहेको छ ।
देउवाले गठबन्धनको बैठकअघि नै उनीहरूसँग छलफल गर्ने भएका हुन् । सभापति देउवाले छलफलका लागि गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल, नेता यज्ञबहादुर थापालगायत काठमाडौँ बोलाएका हुन् ।
६ महानगरमध्ये पोखरामा नेकपा एकीकृत समाजवादीले दाबी राख्दै आएको छ । यस्तै, कांग्रेसले पनि पोखरा छाड्न नसक्ने अडान राख्दै आएको छ । गठबन्धनको बैठक आज बिहान ११ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।