कैलाली- तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । डोटी, बैतडी, दार्चुला, डडेल्धुरा, अछामलगायत जिल्लामा कात्तिक शुक्ल पक्षको सुरुवातसँगै जात्राको रौनक शुरु भएको हो ।
कात्तिक शुक्ल पूर्णिमासम्म सुदूरपश्चिमका विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्छ । अछामको कमलबजार नगरपालिका–७ जामा गाउँमा लगातार १० दिनसम्म लाग्ने केदारनाथ मेला शुरु भएको छ । केदारनाथमा पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चतुदर्शीसम्म मेला लाग्ने गर्छ ।
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने देहिजाँत अर्थात् उग्रतारा मेला भने मंसिर १ मा लाग्ने भएको छ । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्दै आएको छ ।
यसवर्ष कात्तिक ३० मा रतेडी र मंसिर १ मा शनिबारका दिन दिउसेडी लाग्ने अध्यक्ष साँकीले बताए । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पुग्ने गरेका छन् ।
चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत भने कात्तिक २७ मा हुने भएको छ । २६ गते राति रतेडी र २७ गते दिउसेडी मेला लाग्ने वडाध्यक्ष मनोज देउवाले बताए । लाटा गन्याप देवताको भक्ति स्वरुप मनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले उक्त मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ । यसवर्ष उग्रतारा र बडालको मेला भर्नका लागि नेपाली कांग्रेसका सभपाति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि आउने कार्यक्रम तय भएको छ । देउवा २५ गते डडेल्धुरा पुगेर मंसिर २ सम्म बस्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ
डडेल्धुराकै अजयमेरु गाउँपालिका ३ र ४ को मध्य भागमा लाग्ने जगन्नाथ मेला अर्थात् खोलेइ जात मंसिर ३ मा हुने भएको छ । गुनपाल, चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा देउरो पुगेपछि मेला शुरु हुन्छ ।
यस्तै, बैतडीको तल्लो स्वराड क्षेत्रअन्तर्गत पर्ने शिवनाथ गाउँपालिका–६ शिवनाथ धुरामा भोलि मेला लाग्दै छ । त्यहाँ हरेक वर्ष कात्तिक सप्तमीको राति अर्थात रतेडी र अष्टमीका दिन अर्थात दिउसेडी मेला लाग्ने गरेको छ । मेलामा सुरक्षाको लागि पञ्चेश्वर, शिवनाथ र मेलौलीबाट प्रहरीका साथै कुस्माउत घाटबाट सशस्त्र प्रहरी परिचालन गरिएको छ । मेला व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्रसिंह कार्कीले मन्दिर क्षेत्रभित्र मदिरा र जुवातास निषेध गरिएको जानकारी दिए ।
उता सुदूरपश्चिम प्रदेश प्रख्यात धार्मिक एवं पर्यटकीयस्थल बडीकेदार धाममा कात्तिक २७ देखि तीन दिन मेला लाग्ने भएको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको संगमको रूपमा रहेको बडीकेदार धाममा २७, २८ र २९ मा मेला लाग्ने भएको हो कात्तिक २७ र २८ गते मेला लाग्ने र २९ गते पूजन कार्य हुने बडीकेदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिले जानकारी दिएको छ ।