• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

भारतको सुरक्षा गम्भीरतामा कति गम्भीर छ नेपाल ?


    Avatar photo
बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित

काठमाडौं- इस्लामिक संघ नेपालले गत २१ सेप्‍टेम्बरमा इस्लामिक पुस्तकालय तौलिहवा कपिलवस्तुमा सिरत-उल-नबी क्‍विज प्रतियोगिता आयोजना गरेको थियो। कार्यक्रममा ८०-९० जनाको सहभागिता रहेको र यसको उद्देश्य भारत विरोधी एजेन्डाको प्रचारप्रसार र भारत विरोधी तत्त्व र संगठनलाई समर्थन गर्नु रहेको भारतीय पक्षको दाबी छ।

Advertisement

पछिल्लो समय नेपाल-भारत सीमामा भारत विरोधी गतिविधिहरू बढ्दै गएको र सुरक्षा चुनौती बढिरहेको भारतले बताउँदै आएको छ। इस्लामिक संघ नेपालले नेपाल-भारत सीमा क्षेत्रमा भारत विरोधी गतिविधिहरू गरिरहेको भारतीय खुफिया एजेन्सीहरूको दाबी छ।

भारतको प्रहरी मुख्यालयले नेपालको इस्लामिक संगठनको गतिविधि र भारतविरोधी एजेन्डामाथि निगरानी राख्‍न सीमा क्षेत्रका प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको छ। सीमा क्षेत्रमा कुनै शंकास्पद गतिविधि भए तुरुन्त कारवाही गर्न निर्देशन दिइएको भारतीय सञ्‍चार माध्यमले उल्लेख गरेका छन्। प्रहरी मुख्यालयले यस्तो काममा संलग्‍न संस्थासँग सम्बन्धित व्यक्तिको पहिचान गर्न निर्देशन दिएको र उनीहरूमाथि आवश्यक कारवाही गरी मुख्यालयलाई जानकारी गराउन निर्देशन दिइसकेको जनाएको छ।

यता भारतले जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानको लक्कर शाह बाबाको समाधिस्थलमा भएको भ्रमणलाई पनि शंकाको घेरामा राखेको छ। भारतीय अखबार जागरणका अनुसार जनमतका राष्‍ट्रीय उपाध्यक्ष खानको भ्रमणमाथि भारतीय खुफिया एजेन्सीका साथै स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

एडीजी कानून व्यवस्थाले एसपीलाई पत्र लेख्दै गत २७ सेप्‍टेम्बरमा सांसद खान गुलरिया-मूर्तिहा सडक हुँदै मोटरसाइकलमा लक्कर शाह बाबाको समाधिस्थल पुगेको सम्बन्धमा रिपोर्ट माग गरेको छ। उनको साथमा १५ समर्थक त्यहाँ पुगेका दाबी गरिएको छ। अचानक समाधिस्थल जानुको उद्देश्य शंकास्पद हुनसक्ने भारतको बुझाइ छ।

सय्यद हासिम अली शाह उर्फ लक्कर शाह हिन्दू-मुस्लिम एकताका प्रतीक मानिन्छन्। उनको समाधिस्थल उत्तर प्रदेशको कतर्नियाघाट वन्यजन्तु डिभिजनको मुर्तिहा रेन्जको जंगलमा छ।

भारतलाई नेपालबाट कस्तो सुरक्षा थ्रेट ?

नेपाली भूमिमा भारत विरोधी तत्त्वहरूले लामो समयदेखि भारतविरोधी गतिविधिहरू गर्दै आएको भन्दै भारतले चासो व्यक्त गर्दै आएको छ। नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार नेपालको कमजोर सुरक्षा व्यवस्था, अस्थिर केन्द्र सरकार र भारत विरोधी भावनाका कारण भारत विरोधी तत्त्वहरूले नेपालमा सहज पहुँच बनाउँदै गएका छन्।

पाकिस्तानी गुप्तचर एजेन्सी इन्टर-सर्भिस इन्टेलिजेन्स (आईएसआई)ले पाकिस्तानबाट नेपालसम्म तबलिगी जमातहरूको नियमित यात्रा पनि आयोजना गर्दै आएको भारतको दाबी छ। सीमा क्षेत्रमा बाक्लो मुस्लिम बस्तीले आईएसआईलाई नेपालका महत्त्वपूर्ण मुस्लिम संगठनहरू जमात-ए-मिल्ली-ए-इस्लामिया (जेएमआई), नेपाल इस्लामिक युवा संघ (एनआईवाईएस) र नेपाल मुस्लिम इत्तेहाद संघ (एनएमआईएस)सँग सम्बन्ध स्थापित गर्न सहज भएको छ। जेएमआई र एनएमआईएसको सम्बन्ध पाकिस्तानको इस्लामवादी पार्टी जमात-ए-इस्लामीसँग रहेको भारतीय पक्षको दाबी छ।

२६-२९ नोभेम्बर २००८ मा मुम्बईमा भएको सिरियल आक्रमणमा संलग्‍न केही आतंकवादीहरू नेपालको बाटो हुँदै भारत पसेको खुलेको थियो। केहीले सामुद्रिक मार्गको प्रयोग गरेका थिए। यस्तै, १३ डिसेम्बर २००१ मा दिल्लीस्थित संसद भवनमा भएको हमलामा पनि आतंककारीहरूले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेको खुलेको थियो।

परराष्‍ट्रविद अरुणकुमार सुवेदीका अनुसार भारतका लागि नेपालको भूमिबाट हुने गरेको मुख्य सुरक्षा चुनौती नेपालको दक्षिणवर्ती क्षेत्रमा बढिरहेका इस्लामिक गतिविधिहरू र त्यसको अन्तर्राष्‍ट्रीय आतंकवादी नेक्ससहरूसँग भएको सम्पर्क हो।

भन्छन्, ‘नेपालमा मुस्लिम गतिविधिहरू बढेका छन्। बर्मादेखि नेपालसम्म हुने लागूऔषध ओसारपसार अर्को चुनौती भयो। जाली नोट तस्करीको समस्या छ। अहिलेचैं विद्युतीय कारोबारको कारण धेरै कम भएको छ। नेपालको कमजोर सुरक्षा परिस्थितिको फाइदा लिँदै भारतका आतंकवादी संगठनहरूलाई फन्डिङका लागि सुनको प्रयोग हुन सक्ने सम्भावना छ।’

त्यसबाहेक नेपालमा भारत विरोधी राजनीतिक गतिविधिहरू पनि हुने गरेका थिए। तर, अहिले ती गतिविधिहरू कम हुँदै गएको उनको भनाइ छ। भन्छन्, ‘नेपालमा भारत विरोधी पोलिटिकल गतिविधि पनि छ। कम्युनिस्टहरूले ७० वर्षदेखि फ्युलिङ गरेर परिपालन गरिरहेको। धेरै मान्छेलाई हो कि, हो कि पनि लाग्छ। तर, पहिलेको भन्दा अहिले धेरै घटिसक्यो। किनभने, धेरै भारत विरोधीहरू एक्सपोज भइसके। यिनीहरूको ड्रामा मात्रै रहेछ भन्‍ने सबैले थाहा पाइसके।’

राष्‍ट्रीय जनगणना २०७८ अनुसार नेपालमा मुस्लिम जनसंख्या १४ लाख ८३ हजार अर्थात कुल जनसंख्याको ५.०९ प्रतिशत छ। अधिकांश मुस्लिम बसोबास तराईका जिल्लामा छ। जहाँ भारतको उत्तर प्रदेश र बिहारको सीमा जोडिएको छ। त्यसमा पनि रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँके आदि जिल्लामा मुस्लिमको बाक्लो बस्ती छ। नेपालका मुस्लिमको फाइदा उठाउँदै भारत विरोधी तत्त्वहरूले आफ्नो योजना बनाउने भारतको दाबी छ।

तथापि, नेपालको मुसलमान समुदाय सहिष्‍णु रहँदै आएको छ। र, थोरै संख्याका व्यक्ति व्यक्तिगत लोभका कारण कुनै अन्तर्राष्‍ट्रीय गिरोहमा प्रयोग भएको देखिए पनि अधिकांश मुस्लिम समुदाय यस्ता गतिविधिमा सामेल भएको पाइँदैन।

सीमा क्षेत्रको १५ किलोमिटरभित्र मदरसाको संख्या उल्लेख्य बढेपछि भारतीय सुरक्षा निकायहरूले निगरानी बढाएका छन्। भारतीय मिडिया रिपोर्टअनुसार सेप्‍टेम्बर २०१८ मा सीमा क्षेत्रमा ५०१ मदरसाहरू रहेकामा सेप्‍टेम्बर २०२१ सम्ममा ६२३ पुगेको छ। गत वर्ष पर्यटक भिसामा नेपाल आएका ३२१ रोहिंग्यासहित १ हजार ४३ विदेशी नागरिक भूमिगत भएका थिए। नेपाल प्रहरीको प्रतिवेदनमा रोहिंग्याहरू सीमावर्ती मदरसामा केही दिन बसेर भारत प्रवेश गरेको हुनसक्ने आशंका व्यक्त गरिएको थियो।

आईएसआईले नेपालको सीमावर्ती क्षेत्रमा मदरसालाई माध्यमका रूपमा प्रयोग गरी मुस्लिम समुदायमा आफ्नो प्रभाव बढाउँदै लगेको छ। नयाँ मस्जिद र मदरसा निर्माणका लागि साउदी अरेबिया, इस्लामिक डेभलपमेन्ट बैंक र मुस्लिम वर्ल्ड लिगले काठमाडौंस्थित पाकिस्तानी दूतावासमार्फत रकम पठाउने गरेको नेपालस्थित भारतीय दूतावास स्रोतको दाबी छ। तथापि, त्यसको कुनै आधिकारिक पुष्‍टि कसैले गर्न सकेको छैन। किनकि, पछिल्लो समय पाकिस्तान आफैं चरम आर्थिक संकटमा फसेको छ। र, कसैलाई आर्थिक सहयोग गर्ने अवस्थामा छैन। आईएसआईले पनि मदरसाहरूमा आर्थिक सहयोग गरिरहेको स्रोतको दाबी छ।

भारतमा माओवादीदेखि छुट्टै खालिस्तान राज्यको मागसम्मका गतिविधिहरू भइरहेका छन्। कश्मीर अशान्त छ। हिन्दू-मुस्लिम सदभाव खराब स्थितिमा छ। यस्ता गतिविधिहरूमा आईएसआईको हात रहेको भारतको दाबी रहँदै आएको छ। भारतमा सक्रिय चरमपन्थी र आतंकवादी संगठनलाई पाकिस्तानले फन्डिङ गरिरहेको भारतको आरोप छ।

परराष्‍ट्रविद सुवेदीका अनुसार इस्लामिक आतंकवाद नै सबैभन्दा ठूलो सुरक्षा थ्रेट हो। तर, आईएसआई नै फन्डिङ नभएर भुक्कड भएको र पाकिस्तान आफैं इस्लामिक टेरेरिजमको शिकार भइरहेको उनको दाबी छ।

भन्छन्, ‘इस्लामिक आतंकवाद नै सबैभन्दा ठूलो सुरक्षा थ्रेट भए पनि त्यसलाई आईएसआईले नै कति प्रोमोट गर्छ भन्‍ने दोस्रो पक्ष हो। आईएसआई नै फन्डिङ नभएर भुक्कड भइसक्यो। केही हदसम्म पाकिस्तान आफैं पनि इस्लामिक टेरेरिजमको शिकार भइरहेको छ।’

नेपालमा आईएसआईको सक्रियता

युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिजको जुलाई २०१८ मा प्रकाशित रिपोर्टअनुसार आईएसआई अधिकारीहरूले सन् १९८० को दशकको अन्त्यदेखि नेपालमा आफ्नो प्रभाव बढाएका थिए। नेपाल-भारत खुला सिमाना, पर्यटकीय गतिविधिका लागि नेपालको उदार भिसा व्यवस्था, त्रिभुवन अन्तर्राष्‍ट्रीय विमानस्थल र अन्य सीमा नाकामा कमजोर अध्यागमन नियन्त्रणको आईएसआईले पूरा सदुपयोग गरेको थियो, त्यतिबेला।

रिपोर्टअनुसार खालिस्तानी, कश्मीरी, पाकिस्तानी आतंककारीहरू साथै अफगान र अरबका भाडाका लडाकुहरूलाई भारतमा घुसपैठ गर्न ट्रान्जिटका रूपमा नेपाललाई प्रयोग गर्न थालेका थिए। आईएसआईले ठूलो परिमाणमा आरडीएक्सलगायत अन्य विस्फोटक पदार्थका साथै हतियार र गोलाबारुद नेपालमा ल्याएर भारत पठाउने गरेको थियो।

रिपोर्टमा आईएसआईले पाकिस्तानी सेक्युरिटी प्रेसमा छापिएका नक्कली भारतीय मुद्रा पाकिस्तान एयरलाइन्समार्फत नेपाल, बंगलादेश, थाइल्यान्डसम्म ढुवानी गर्ने गरेको दाबी गरिएको छ। पक्राउ परेका आतंककारीहरूको बयानका आधारमा ती नक्कली मुद्रा कराँचीको मलिर शिविर, लाहोर, क्‍वेटा र पेशावरमा रहेको पाकिस्तानी सेक्युरिटी प्रेसमा छापिने गरेको खुलेको थियो।

फेब्रुअरी २०१२ मा विकिलिक्सले ग्लोबल इन्टेलिजेन्स फाइलहरू प्रकाशित गरेको थियो, जसमा ग्लोबल इन्टेलिजेन्स कम्पनी स्ट्याटफोरका इमेलहरू पनि समावेश थिए। जुन २००० को एउटा इमेलमा नेपालमा आईएसआई गतिविधिहरूको विस्तृत रिपोर्ट समावेश थियो। रिपोर्टमा आईएसआईले भारतीय प्रभाव कम गर्न नेपाली मिडियाहरूलाई समेत रकम बाँडेको गम्भीर खुलासा गरिएको छ।

रिपोर्टमा भनिएको छ, ‘नेपालमा भारतीय प्रभाव कम गर्न आईएसआईले नेपाली प्रेसलाई पनि म्यानिपुलेट गरेको छ, जसले पछिल्लो समय असामान्य रूपमा भारत विरोधी झुकाव लिएका छन्। केही रिपोर्टहरूका अनुसार धेरै अखबार र अन्य मिडिया आउटलेटहरूले आईएसआईबाट रकम प्राप्त गरिरहेका छन्।’

जुन १९९९ मा उत्तर प्रदेशको भारत-नेपाल सीमा नजिकै पक्राउ परेका मुम्बई अन्डरवर्ल्डका आईएसआई प्रशिक्षित डन अजिजुद्दिन शेख उर्फ सत्तारले भारतीय सुरक्षा बललाई एउटा गोप्य खुलासा गरेका थिए। उनका अनुसार नेपालको कपिलवस्तुस्थित सिराज-उल-उलुम मदरसालाई आईएसआईको आदेशमा दाउद इब्राहिमका विश्‍वासपात्र छोटा शकिल र उनका सहयोगीहरूले एके-४७ राइफल र अन्य स्वचालित हतियारहरू भण्डार गर्न प्रयोग गरेका थिए। ती हतियारहरू भारतमा तस्करी गर्न गरिएको थियो। र, प्रभावशाली भारतीय राजनीतिक व्यक्तित्वहरूको हत्या गर्न प्रयोग गरिएको थियो।

आईएसआईको संलग्‍नता हतियार आपूर्ति र लक्षित आतंकवादी संगठनको सहयोगमा केन्द्रित रहेको विषय नेपालमा माओवादी सशस्त्र युद्धमा माओवादीलाई गरेको सहयोगको प्रस्तावले पुष्‍टि गर्छ। जुन कुरा माओवादी अध्यक्ष पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ले बीबीसीसँग खुलासा गरेका थिए।

२० नोभेम्बर २००६ मा बीबीसीले प्रचण्डलाई उद्धृत गर्दै भनेको थियो, ‘हामीले जनयुद्ध शुरु गरेदेखि हामीलाई आईएसआईले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा हतियार आपूर्ति र अन्य सहयोगका लागि तयार रहेको भनेर बारम्बार संकेत गरेका थिए। तर, हामीले स्पष्‍ट रूपमा अस्वीकार गर्‍यौं। किनभने, हामीले त्यस्ता प्रस्ताव स्वीकार्नु भनेको नेपाली जनताको स्वाभिमान र सार्वभौमसत्ताविरुद्ध हुने थियो।’

भारतको सुरक्षा खतरा कम गर्न नेपालको भूमिका

गत वर्ष खालिस्तानी नेता अमृतपाल सिंह भारतबाट भूमिगत हुनुअघि नेपाली शिख समुदायको सम्पर्कमा आएको खुलेको थियो। उनले नेपाली शिख समुदायसँग सहयोग मागेका थिए। तर, नेपाली शिखहरूले एक आरोपितलाई सहयोग गरेर नेपाल-भारत सम्बन्ध अप्ठ्यारोमा पार्न नसक्ने बताएपछि उनी भूमिगत भएका थिए। स्रोतका अनुसार नेपाली शिखहरूको त्यस भूमिकाको भारतीय अधिकारीहरूले सराहना गरेका थिए।

सिंह स्वायत्त शिख राज्य स्थापना गर्ने उद्देश्य बोकेको ‘वारिस पञ्‍जाब दे’ संगठनका प्रमुख थिए। भारतमा पृथकतावादी गतिविधिमा संलग्‍न भएको आरोपमा उनलाई प्रहरीले खोजी गरिरहेको थियो। नेपाल भाग्‍न नपाएपछि उनी भारतमै लुकेको अवस्थामा पञ्‍जाब प्रहरीले गत वर्षको अप्रिलमा पञ्‍जाबको मोगाबाट गिरफ्तार गरेको थियो।

नेपाल सरकारले सीमावर्ती क्षेत्रमा बढिरहेको मुस्लिम गतिविधिहरूमा नजर राखिरहेको छ। भारतीय अखबार जागरणले रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा सञ्‍चालित मदरसाको नियमित निरीक्षण र उनीहरूको आम्दानी र खर्चको विवरण हेर्ने गरिएको र नेपाल प्रहरीसँग समय-समयमा त्यहाँ बसोबास गर्ने मानिसहरूको पहिचान गरिँदै आएको लेखेको छ।

२४ डिसेम्बर १९९९। काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको विमान हरकत-उल-मुजाहिद्दीनको अपहरणमा पर्‍यो। नेपालको हवाई क्षेत्र समाप्त हुनेबित्तिकै इन्डियन एयरलाइन्सको फ्लाइट आईसी-८१४ विमान अपहरणमा परेको थियो। यात्रु र चालकदलका सदस्यसहित १९० यात्रु सवार विमान पाकिस्तान, दुबई हुँदै अफगानिस्तानको कान्दहरमा अवतरण गरेको थियो। भारतको नियन्त्रणमा रहेका आतंकवादीहरू मौलाना मसुद अजहर, अहमद उमर सईद शेख र मुश्ताक अहमद जरगरको रिहाइका लागि विमान अपहरण गरिएको थियो। भारतले उनीहरूलाई रिहा गरेर विमान अपहरणमूक्त गरेको थियो।

नेपाल प्रहरीले काठमाडौं विमानस्थलका कर्मचारीसँग गरेको सोधपुछका क्रममा पाकिस्तानी दूतावासको (४२ सीडी १४) नम्बरको कार अपहरणमा परेको विमान उड्नु केही मिनटअघि विमानस्थल पुगेको खुलेको युरोपियन फाउन्डेसन फर साउथ एसिया स्टडिजको रिपोर्टमा दाबी गरिएको छ। कर्मचारीहरूले पाकिस्तानी दूतावासका फस्ट सेक्रेटरी मोहम्मद अरशद चिमा र अर्का अधिकारी जिया अन्सारीलाई विमानस्थल डिपार्चरमा प्रवेश गरेको देखेको दाबी गरिएको छ।

उक्त घटनापछि नेपाल सरकारले आईएसआईका गतिविधि नियन्त्रणमा सक्रियता देखाएको थियो। अपहरणको केही दिनपछि काठमाडौंस्थित पाकिस्तानी दूतावासमा कार्यरत आईएसआई अधिकृत असम सबुरलाई नक्कली भारतीय नोटको कारोबार आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको थियो। लगत्तै ‘कूटनीतिक हैसियत विपरीतका गतिविधिहरूका लागि’ औपचारिक रूपमा नेपाल छोड्न आदेश दिइएको थियो।

पाकिस्तानी दूतावासमा नेपाली सुरक्षा एजेन्सीको निरन्तरको निगरानी र नेपाल-भारत गुप्तचर निकायको सहकार्यमा १२ अप्रिल २००१ मा आईएसआई स्टेसन प्रमुख मोहम्मद अरशद चिमाको सनसनीपूर्ण गिरफ्तारी भयो। नेपाल प्रहरीले चिमा र उनकी श्रीमती रुविना बस्दै आएको बानेश्‍वरस्थित भाडाको घरमा छापा मारेको थियो। प्रहरीले उनीहरूको घरबाट १६ किलो आरडीएक्स फेला पारेको थियो। भियना महासन्धिअन्तर्गत कूटनीतिक उन्मुक्ति पाएकाले चिमालाई नेपाल सरकारले पक्राउको एक दिनपछि कूटनीतिक मर्यादाविपरीत कार्य गरेको अभियोगमा देश निकाला गरेको थियो।

३ जनवरी २००२ मा पाकिस्तानी दूतावास कार्यरत अर्का आईएसआई प्रतिनिधि सिराज अहमद ठूलो मात्रामा नक्कली भारतीय र अमेरिकी मुद्रासहित समातिएका थिए। उनलाई पनि देश निकाला गरिएको थियो। पाकिस्तानबाट नेपालमा गैरकानूनी गतिविधि बढेपछि नेपाल सरकारलाई पाकिस्तान इन्टरनेसनल एयरवेज (पीआईए)को उडानमा प्रतिबन्ध लगाएको थियो। सरकारले सुरक्षाको कारण देखाउँदै पीआईएलाई नेपालको हवाई बजार प्रवेशमा रोक लगाएको थियो।

१९ अगस्ट २००३ मा पाकिस्तानी दूतावासमा तैनाथ अर्का आईएसआई प्रतिनिधि दूतावासको माथिल्लो डिभिजन क्लर्क मोहम्मद मसूद उर्फ मुस्तफा काठमाडौंको एक रेस्टुराँबाट नक्कली भारतीय नोटसहित पक्राउ परेका थिए।

पाँच वर्षमा लगातार चार उच्च अधिकारीहरू पक्राउ परेपछि नेपालमा आईएसआई नेटवर्क धरासायी भएको रिपोर्टमा थियो। ती घटनापछि नेपाल र भारत सरकारबीच आईएसआईले नेपालमा स्थापना गरेका आतंककारी संरचनाहरू भत्काउन सहकार्य हुँदै आएको छ। विगत एक दशकमा आईएसआई संरचना भत्काउन दुवै देशका सुरक्षा निकाय सफल भएको रिपोर्टमा उल्लेख छ।

नेपाल प्रहरीले २८ अगस्ट २०१३ मा लश्कर-समर्थित र आईएसआई-समर्थित आतंकवादी संगठन इन्डियन मुजाहिद्दिन (आईएम) का सह-संस्थापक यासिन भटकल वास्तविक नाम अहमद सिद्धिबाप्पा र उनका प्रमुख सहयोगी असदुल्लाह अख्तरलाई पोखराबाट पक्राउ गरी भारतीय अधिकारीहरूको जिम्मा लगाएको थियो। भटकलमाथि २००७-००८ मा भारतमा कम्तिमा १० वटा बम विस्फोटमा संलग्‍नता रहेको अभियोग लागेको थियो। उनलाई हैदरावादको एनआईए अदालतले १९ डिसेम्बर २०१६ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

नेपालको सुरक्षामा भारतलाई छैन भर !

भारतीय दूतावास स्रोतका अनुसार नेपाल भारतको अति मिल्ने मित्रको रूपमा परिचित छ। तर, भारतको सुरक्षा खतरालाई नेपालले कहिल्यै गम्भीर रूपमा नलिएकोमा भारतीय अधिकारीहरू चिन्तित छन्। भारतीय अधिकारीहरूले नेपाली अधिकारीहरूसँग बारम्बार यस विषय उठाइरहेका छन्। नेपाली पक्षले ती विषयमा सकारात्मक प्रतिक्रिया दिए पनि सम्बोधनमा चासो नदिने ती अधिकारी बताउँछन्। त्यसैले भारत आफ्नो सुरक्षामा नेपालको भर पर्न सकेको छैन।

जानकारहरूका अनुसार त्रिभुवन अन्तर्राष्‍ट्रीय विमानस्थलमा भारत जाने यात्रुको जाँचका लागि भारतले आफ्नै छुट्टै हतियारधारी सुरक्षाकर्मी राखेको छ। पहिले एयर इन्डियाले मात्रै सुरक्षा जाँच गर्ने गरेको थियो। तर, अहिले भारतबाट नेपाल आउने सबै एयरलाइन्सका विमानको छुट्टै सुरक्षा जाँच गर्न थालेका छन्। सादा पोशाकमा खटिएका ती सुरक्षाकर्मीले नेपाली सुरक्षा निकायबाट जाँच पास भएका यात्रुहरूको पुनः जाँच गर्ने गरेका छन्।

एक विज्ञका अनुसार नेपालको एयरपोर्टमा भारतीय सुरक्षाकर्मीको उपस्थिति हुनु भारतले नेपालको सुरक्षा निकायलाई अविश्‍वास गरेको अर्थमा बुझ्न सकिन्छ। भन्छन्, ‘भारतले जबर्जस्ती सुरक्षाकर्मी खटाउँदै आएको छ। किनभने, भारतसँग त्यसभन्दा अर्को विकल्प पनि छैन। नेपाल सरकारले पनि हटाउने हिम्मत गरेको देखिँदैन। नेपालले भारतको सुरक्षा संवेदनशीलता सम्बोधन गरिदिएको खण्डमा भारत आफैं सुरक्षाकर्मी फिर्ता गर्न बाध्य हुन्छ।’

यस विषयले प्रतिनिधिसभामा पनि पटक-पटक प्रवेश पाएको छ। सांसदहरूले नेपालको एयरपोर्टमा भारतीय सुरक्षाकर्मीको उपस्थितिले सार्वभौम राष्‍ट्रको हैसियतमाथि प्रश्न उठेको बताउँदै आएका छन्। भारतीय सुरक्षाकर्मी हटाउने पहल गर्न सरकारसँग उनीहरूको माग छ।

जानकारहरूका अनुसार भारतका प्रत्येक राज्यमा कुनै न कुनै रूपमा विद्रोही समूह सक्रिय छ। कतिपय राज्यका बासिन्दाले आफूलाई भारतीय भन्‍न पनि रुचाउँदैनन्। पूर्वी भारतका राज्यहरू भारतको केन्द्रीय सरकारसँग रुष्‍ट छन्। दक्षिण भारतीयहरू आफूलाई भारतीय भन्‍नै रुचाउँदैनन्। खालिस्तानीहरूको छुट्टै राज्यको माग छ। जम्मू-कश्मीरमा उस्तै समस्या छ। त्यसैले भारत सुरक्षाको दृष्‍टिकोणले अत्यन्तै संवेदनशील छ। यस्तोमा नेपालले भारतको सुरक्षा संवेदनशीलतालाई गम्भीरताका साथ हेरिदिनुपर्ने जानकारहरू बताउँछन्।

त्यसमाथि भारतको भुटानबाहेक प्रायः सबै छिमेकीसँगको सम्बन्ध बिग्रँदै गइरहेको अवस्थामा भारतमाथि झनै सुरक्षा संवेदनशीलता बढ्ने जानकारहरू बताउँछन्। नेपालको वर्तमान सरकार पनि भारत विरोधी रहेको भाष्‍य स्थापित छ। प्रधानमन्त्री केपी ओलीलाई तीन महिनासम्म भारत भ्रमणको निम्तो नआउनुमा उनको भारत विरोधी छवि हाबी भएको हुन सक्ने कूटनीतिक जानकारहरू बताउँछन्। यद्यपि, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइसकेका छन्।

गत भदौमा परराष्‍ट्रमन्त्री आरजु राणाको भारत भ्रमणका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए। यस्तै, ७ असोजमा ओली-मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो। भेटमा ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दिएका थिए। तर, भारतबाट ओलीले भ्रमणको निम्तो पाएका छैनन्। त्यसैको प्रतिक्रियास्वरूप ओली चीन भ्रमणमा जान लागेका छन्। र, चिनियाँ प्रधानमन्त्री ली छ्याङले ओलीलाई भ्रमणका लागि औपचारिक निम्तो पनि पठाएका छन्। डिसेम्बर पहिलो साता ओली चीन भ्रमणमा जाँदै छन्।

मुस्लिम हुँदैमा भारतलाई सुरक्षा थ्रेट ?

नेपालमा मुस्लिम गतिविधि बढ्नेबित्तिकै कसैले सुरक्षा थ्रेट महशुस गर्छ भने त्यो भारत मात्र हो। नेपालमा मस्जिद र मदरसाको संख्या बढ्दा होस् वा ठूलो संख्यामा मुस्लिम भेला होस्, भारतले सुरक्षा चासो देखाउने गरेको छ। किनभने, भारतमा भएका अधिकांश आतंकवादी हमलामा मुस्लिम सहभागिता प्रत्यक्ष देखिँदै आएको छ। तर, के मुस्लिम हुँदैमा भारतलाई सुरक्षा थ्रेट हुने हो त?

परराष्‍ट्रविद सुवेदी नेपालमा मुस्लिम गतिविधि बढ्नु भारतका लागि मात्र नभई नेपाललाई पनि समस्या हुने बताउँछन्। भन्छन्, ‘जस्तो सन् २०१९ मा बालाकोटमा सर्जिकल स्ट्राइक हुँदा रौतहटमा पाकिस्तानको झण्डासहित प्रदर्शन भएको थियो। फ्रान्समा इस्लामिक आतंककारीद्वारा शिक्षक हत्याको केसमा राष्‍ट्रपति इम्यानुयल म्याक्रोंले लिएको निर्णयको विरोधमा स्याङ्जामा उनको पुत्ला जलाइयो। यी क्रियाकलापहरूले नेपाल र भारत दुवैलाई समस्या पर्छ।’

नेपाली मुस्लिम अगुवाहरू भारतीय सुटरहरूको निशानामा पर्ने गरेका समाचारहरू आउने गरेका छन्। आतंकवादी समूहसँगको कनेक्सन, नक्कली नोटको कारोबार, इस्लामिक शिक्षा, मस्जिद र मदरसा विस्तार, भारतीय ग्याङस्टारसँगको दुस्मनीलगायत कारणले मुस्लिम अगुवाहरूमाथि आक्रमण हुने गरेको छ। तर, त्यस्ता घटनामा निष्‍पक्ष छानविन नभएको नेपालका मुस्लिम अगुवाहरूको गुनासो रहँदै आएको छ।

३ असोज ०७५ मा सुनसरीको रामनगरमा रैयान नेसनल स्कुलका सञ्‍चालन मौलाना खुर्सिद आलमको भारतीय सुटरद्वारा गोली हानी हत्या भयो। आलमलाई आतंकवादी गतिविधिमा संलग्‍न भएको र मुम्बईमा भएको बम विस्फोटमा संलग्‍न रहेको आरोपमा समाचारहरू प्रकाशित भए। भारत सरकारले आलमलाई पक्राउ गरी पठाउन अनुरोध गरेको समेत दाबी गरियो। तर, सरकारले उनीविरुद्ध नेपालमा कुनै आपराधिक मुद्दा नरहेको र उनी प्रसिद्ध समाजसेवी तथा राजनीतिकर्मीसमेत रहेको बताउँदै आरोप अस्वीकार गरेको थियो। आलमलाई मन्त्रिपरिषद बैठकले शहीद घोषणा गर्दै क्षतिपूर्तिस्वरूप १० लाख दिने निर्णयसमेत गरेको थियो। उनी तत्कालीन नेकपाका संगठित सदस्य थिए।

१५ असार ०५५ राष्‍ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेगको काठमाडौंको सिफलमा हत्या भयो। उनीमाथि भारतीय डन छोटा राजन समूहविरुद्धका गतिविधिमा संलग्‍न भएको आरोप लागेको थियो। २४ माघ ०६६ मा सञ्‍चार उद्यमी जमीम शाहको काठमाडौंको लाजिम्पाटमा दिनदहाडै गोली हानी हत्या भयो। उनीमाथि पाकिस्तानका लागि जासुसी गरेको आरोप लगाइएको थियो।

यस्तै, ९ असोज ०६८ मा इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको काठमाडौं घण्टाघर अगाडि गोली हानी हत्या भयो। उनीमाथि सीमा क्षेत्रमा मदरसा विस्तारमा सक्रिय भएको आरोप लगाइएको थियो। १७ पुस ०७० मा व्यवसायी अफताब आलम अन्सारीको बारा जितपुरमा गोली हानी हत्या भयो। उनीमाथि भारतीय नक्कली नोटको कारोबार गरेको आरोप लागेको थियो।

बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.