नयाँ दिल्ली– भारतमा कोरोना भाइरस संक्रमण पुनः बढ्न थालेको छ।
दिल्ली, गुरुग्राम र मुम्बईमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। यहीबीच कोरोना संक्रमणको लहर चौथो आउने आशंका उब्जिएको छ।
भारतका कुल ७४८ जिल्लामध्ये २९ वटामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। यीमध्ये २३ जिल्लामा १० प्रतिशत र आठ जिल्लामा २० प्रतिशतले संक्रमण पुष्टि भइरहेको छ।
भारतमा मंगलबार र बुधबार एक हजारजनामा संक्रमण पुष्टि भएको छ। बितेका दुई महितायता पहिलोपटक भाइरस संक्रमणमुक्त हुनेभन्दा संक्रमितको संख्या बढी छ। मंगलबार एक हजार ८१ जनामा संक्रमण पुष्टि भएको हो।
दिल्लीमा कोरोना संक्रमितकोे संख्यामा वृद्धि भइरहेको छ। यहाँ दैनिक करिब दुई सयको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिइरहेका छन्। बुधबार २९९ जनामा संक्रमण पुष्टि भएको छ। मुम्बईमा पनि दैनिक संक्रमितको संख्या बढ्दैछ। बुधबार यहाँ ७३ जनामा संक्रमण पुष्टि भएको हो।
विशेषज्ञका अनुसार यो चौथो लहरको शुरुवाती लक्षण हो। सबैले जनस्वास्थ्यमा मापदण्ड अपनाउन जरुरी रहेको उनीहरूको भनाइ छ। भारतमा हालसम्म चार करोड ३० लाख जनसंख्यामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यहाँ महामारी शुरु भएयता संक्रमणको कारणले पाँच लाख २१ हजार जनाको मृत्यु भइसकेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार छ।