काठमाडौं- भारत र चीन दुवैले दुई मुलुकबीचको सीमा विवाद टुंगिएको दाबी गरेका छन्।
रुसमा शुरु हुन लागेको ब्रिक्स सम्मेलनअघि उक्त संगठनका सदस्य भारत र चीनले दशकौंदेखिको सीमा विवाद सुल्झिएको दाबी गरेका हुन्। यसलाई ब्रिक्सको ठूलो सफलताका रूपमा अर्थ्याइएको छ।
भारतीय विदेश मन्त्री एस. जयशंकरले भने, ‘हामी सीमामा गस्तिसम्बन्धमा एक सम्झौतामा पुगेका छौं। त्यसका साथ सन् २०२० भन्दा अगाडिको अवस्थामा हामी फर्केका छौं। हामी भन्न सक्छौं– चीनसँगको डिस्इंगेजमेन्टको प्रक्रिया पूरा भएको छ।’
आपसी टकरावबाट बच्नका लागि दुवै मुलुकका सेनाले सीमाका विवादित विन्दुहरूमा गस्ति गर्ने भएका छन्। यसबाट नयाँदिल्ली र बेइजिङलाई अलग गराउने सबै षडयन्त्रहरू विफल भएको दाबी पनि गरिएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पनि भारतसँगको सीमा विवाद समाधान भएको बताएका छन्। नियमित प्रेस ब्रिफिङमा मंगलबार उनले त्यसको पुष्टि गरेका हुन्।
उनका अनुसार दुई मुलुकबीच कूटनीतिक र सैन्य माध्यमबाट निरन्तर संवाद भएका छन्। र, ती संवादहरूले सीमामा जारी विवाद अन्त्यको मार्ग पत्ता लगाएका छन्।
‘दोस्रो चरणमा चीनले भारतसँग प्रभावकारी समाधानका लागि थप काम गर्नेछ,’ उनले भने।
टाइम्स अफ इन्डियाका अनुसार भारतका विदेश सचिव बिक्रम मिस्रीले भने, ‘भारत र चीन सीमावर्ती क्षेत्रहरूमा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा गस्तीको व्यवस्थामाथि एक सम्झौतामा दुवै मुलुक पुगेका छन्। त्यसबाट सन् २०२० यता उत्पन्न मुद्दाहरू समाधान हुने छन्। र, त्यसपछि हामी अर्को कदम उठाउने छौं।’
चिनियाँ विदेश मन्त्रालयका अनुसार दुई मुलुकबीच जुलाई २०२४ मा सीमासम्बन्धी संयन्त्रको ३०औं पटक बैठक भएको थियो। उक्त बैठकमा कूटनीतिक, राष्ट्रीय सुरक्षा तथा अध्यागमन विभागका अधिकारीहरू सहभागी थिए।
कूटनीतिक र सैन्य च्यानलबाट निरन्तर संवाद कायम राख्ने, संवादलाई अझ घनिभूत बनाउने र सीमाको स्थितिलाई शीघ्र समाधान गर्ने सहमति उक्त बैठकमा भएको थियो। त्यसमार्फत भारत र चीनबीच स्वस्थ र स्थिर सम्बन्ध विकास गर्ने सहमति बैठकमा भएको थियो।
यस्तै, यसअघि भएका सम्झौता र प्रोटोकलहरूको कडाइका साथ पालना गर्ने सहमति पनि उक्त बैठकमा जुटेको थियो। त्यसबाट सीमा क्षेत्रमा शान्ति कायम गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास दुवै पक्षको थियो।