काठमाडौं- कम्युनिस्टको उदय भएपछि श्रीलंकाली सत्ता एसियाका दुई शक्ति भारत र चीनमध्ये कतातिर ढल्किएला भन्ने विषयमा विश्लेषकहरूले आ-आफ्नो अनुमान लगाउन थालेका छन्।
जनता विमुक्ति पेरामुना (जेभीपी)का प्रमुख अनुरा कुमारा दिसानायके राष्ट्रपतीय निर्वाचन जित्दै श्रीलंकाको सत्ताको नेतृत्वमा पुग्ने पहिलो कम्युनिस्ट नेता बनेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी सजिथ प्रेमदासालाई दोस्रो चरणको मत गणनामा ५५.८९ प्रतिशतले पराजित गर्दा निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे भने तेस्रो स्थानमा खुम्चिएका थिए।
२१ सेप्टेम्बरमा सम्पन्न निर्वाचनको पहिलो चरणको गणनामा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना गरिएको थियो। दोस्रो गणनामा मतदाताले दोस्रो विकल्पका रूपमा उम्मेदवारलाई दिएको मत गणना गरिन्छ। श्रीलंकाको निर्वाचन इतिहासमै पहिलोपटक दोस्रो चरणको मतगणना गरिएको हो।
यो निर्वाचन श्रीलंकामा चरम आर्थिक संकट आएको दुई वर्षपछि भएको हो, जुन अद्यापि कायमै छ। नवनिर्वाचित राष्ट्रपति दिसानायकेमाथि अब श्रीलंकाको आर्थिक संकट हटाउने मुख्य जिम्मेवारी छ। जनताको परिवर्तनको चाहना र असन्तुष्टि सम्बोधन गर्ने अर्को जिम्मेवारी पनि छ।
आम निर्वाचन यस्तो अवस्था हो, जतिबेला पूरै देश पक्ष-विपक्षमा विभाजित हुन्छ। राजनीतिक दलहरूले आफ्नो पक्षमा समर्थन जुटाउन समाजमा विखण्डन ल्याउने अभिव्यक्ति दिन पछि पर्दैनन्। दिसानायकेले भने धार्मिक र विभाजनकारी मुद्दा नउठाएरै राष्ट्रपतीय निर्वाचन जित्न सफल भए। उनलाई विपक्षी गठबन्धनका दलहरूले समेत बधाइ दिएका छन्।
तमिल नेसनल एलायन्सका प्रवक्ता एमए सुमन्ततिरन भन्छन्, ‘दिसानायकेले धार्मिक र नश्लीय मुद्दा नबोकेरै जित निकाल्न सफल भएका छन्।’
को हुन् दिसानायके ?
नोभेम्बर १९६८ मा जन्मिएका दिसानायकेले १९८७ मा भएको इन्डो-श्रीलंका सम्झौतापछि विद्यार्थी राजनीति शुरु गरेका थिए। १९८७-८९ सम्म मार्क्सवादी पार्टी जनता विमुक्ति पेरामुनाले सरकारविरुद्ध हतियार उठाउँदै युद्धमा होमिएको थियो। त्यसबेला त्यहाँ कहालीलाग्दो रक्तपातपूर्ण अवस्था निम्तिएको थियो। द्वन्द्वको क्रममा हजारौं मानिस मारिएका थिए।
दिसानायके त्यसबेला जेभीपी निकट थिए। उनीहरूको आन्दोलनलाई सरकारले प्रतिबन्ध लगाएर कारवाही थालेपछि उनी भूमिगत भएका थिए।
सन् १९९७ मा उनी पार्टीको केन्द्रीय कमिटीमा छानिएका थिए भने २००८ मा पार्टी लिडर चुनिएका थिए। पहिलोपटक सन् २००० को संसदीय निर्वाचनमा विजयी भएका उनले त्यसयताका निर्वाचनमा लगातार जित निकाल्दै आएका छन्। २०१९ र २०२२ को राष्ट्रपतीय निर्वाचनमा भने उनी पराजित भएका थिए।
विगतमा मन्त्री पनि बनिसकेका उनलाई श्रीलंकामा बौद्धिक र सादगी नेताका रूपमा चिनिन्छ। सन् २०१४ मा एक अन्तर्वार्ताका क्रममा उनले सशस्त्र विद्रोहको समयमा भएका घटनाहरूका विषयमा माफी मागेको बीबीसीले उल्लेख गरेको छ। उनले माफी माग्दै भनेका थिए, ‘सशस्त्र विद्रोहका क्रममा धेरै कुरा भयो, जुन हुनु हुँदैनथ्यो। हामी अझै पनि स्तब्ध छौं कि यो सबै हाम्रो हातले भयो, जुन हुनु हुँदैनथ्यो। यसबाट हामी सधैं दुःखी र स्तब्ध छौं।’
कसरी बने श्रीलंकाको राष्ट्रपति ?
दिसानायके भ्रष्टाचारविरोधी अभियान र सुशासनको प्रतिबद्धतासहित राष्ट्रपति निर्वाचनमा होमिएका थिए। आलोचकहरू भने अघिल्लो सरकारविरुद्ध जनताको आक्रोश बटुलेर उनी निर्वाचित भएको टिप्पणी गरिरहेका छन्।
विक्रमासिंघे सरकारले आर्थिक संकट टार्न नसकेको र उल्टै करको भारी थपिदिएको भन्दै नागरिक आक्रोशित थिए। सरकारले देशको आर्थिक संकट हल गर्न र आम्दानी बढाउन भन्दै कर बढाउने र कल्याणकारी योजना कटौती गरेको थियो। उक्त योजनाले महँगी नियन्त्रणमा केही सहयोग गरे पनि फेरि जनताले परिवर्तनको महशुस गर्न सकेनन् र झन् आक्रोश बढायो।
निर्वाचन अभियान क्रममा दिसानायकेले मतदाताहरूलाई भ्रष्टाचारविरोधी कडा कदमहरू चाल्ने र सुशासन कायम गर्ने वाचा गरेका थिए। उनले अघिल्लो सरकारले थोपरेको करको दायित्व घटाउने र कल्याणकारी योजना थप्ने प्रतिबद्धता पनि जनाए। आर्थिक संकटपछि आक्रान्त बनेका जनताले उनलाई साथ दिए।
उनी र उनको पार्टीले त्यहाँका श्रमिक वर्गको प्रतिनिधित्व गर्छ। उनको मजदुर वर्ग समर्थित लोकप्रिय अभियानले युवा पुस्तालाई आकर्षित गरेको समाचार संस्था एपीले उल्लेख गरेको छ। उनले श्रीलंकाको आर्थिक समस्या र बेरोजगारी घटाउन उत्पादन, कृषि र आईटी क्षेत्रको विकासमा जोड दिने चुनावी प्रतिबद्धता गरेका थिए।
राष्ट्रपतिको सपथ लिएपछि उनले जनताको जीवनस्तर सुधार्ने र देशको आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। उनी भन्छन्, ‘म जादूगर होइन। मलाई थाहा भएका कुराहरू पनि छन्, थाहा नभएका पनि छन्। तर, म उचित सल्लाह सुझावको खोजीमा हुनेछु र मैले सकेको गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग आवश्यक पर्छ।’
सन् २०२२ मा मुलुकमा आर्थिक संकट गहिरिएपछि भएको जनआन्दोलनले तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेलाई देश छोड्न बाध्य पारेको थियो। उक्त आन्दोलनमा दिसानायकेको पार्टी जेभीपीको महत्त्वपूर्ण भूमिका थियो। त्यही विन्दुबाट उनको लोकप्रियता थप बढेको थियो।
कता ढल्केलान् दिसानायके ?
दिसानायके राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भारत र चीनले बधाइ दिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत बधाइ दिएका छन् भने चिनियाँ राजदूतले दिसानायकेलाई भेटेरै राष्ट्रपति सी जिनपिङको शुभकामना सन्देश सुनाए।
गत ६ फेब्रुअरीमा जेभीपी लिडर दिसानायके नयाँदिल्लीको निमन्त्रणामा ५ दिने भारत भ्रमणमा गएका थिए। त्यसबेला उनी न सत्तामा थिए, न गतिलो प्रतिपक्षमा। २२५ सदस्यीय संसदमा उनको गठबन्धनले जम्मा ३ सिट मात्र जितेको थियो। तर, श्रीलंकाको राजनीतिमा उनको बढ्दो प्रभाव देखेर भारतले उनलाई आफ्नो खेमामा तान्ने प्रयास गरिसकेको थियो। भारतले उनी श्रीलंकाको सत्ता नेतृत्वमा पुग्ने सम्भावना आकलन त्यतिखेरै गरिसकेको कूटनीतिका जानकारहरू बताउँछन्।
भारत भ्रमण क्रममा उनले विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत वरिष्ठ कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका थिए। दिल्लीले उनलाई भ्रमणको निम्तो दिएको यो नै पहिलो भएको द हिन्दूले उल्लेख गरेको छ।
उनको पार्टी जेभीपी इतिहासदेखि नै भारत विरोधी र चीन समर्थित मानिने टाइम्स अफ इन्डियाले जनाएको छ। श्रीलंकाका तत्कालीन राष्ट्रपति जेआर जयवद्र्धने र भारतका राजीव गान्धीले हस्ताक्षर गरेको सन् १९८७ को भारत-श्रीलंका सम्झौताको पनि पार्टीले कडा विरोध गरेको थियो। भारतीय विस्तारवादविरुद्ध जेभीपीले हिंसात्मक विद्रोह नै गरेको थियो। हजारौं मानिसको मृत्युपछि सरकारी सेना विद्रोह दबाउन सफल भएको थियो।
दिसानायकेले भने चुनावी अभियान क्रममा सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै श्रीलंकाको जमिन, समुद्र र आकाश भारत विरोधी गतिविधिमा प्रयोग हुन नदिने र श्रीलंकाको आर्थिक अवस्था हेरेर विकासका क्षेत्रमा भारतको सहयोगको पहिचान गर्ने प्रतिबद्धता गरेका थिए।
विश्लेषकहरूका अनुसार दिसानायके र उनको पार्टी विगतदेखि नै वैचारिक रूपमा चीनसँग नजिक छ। जेभीपीको सरकार बनेपछि यसले थप चिनियाँ लगानी आकर्षित गर्ने अनुमान छ।
चुनावी प्रतिबद्धतामा दिसानायकेले क्षेत्रीय सुरक्षालाई ध्यानमा राख्दै विश्वव्यापी परिस्थिति अनुकूल र श्रीलंकाको राष्ट्रिय हितमा सघाउने बलियो विदेश नीति अपनाउने बताएका छन्। उनले श्रीलंका कुनै पनि पक्षमा नलागी देशको हित अनुकूलका अवसरहरू सदुपयोग गर्ने संकेत गरेका छन्।
आर्थिक संकटमा रहेको श्रीलंकाले एसियाका दुई शक्तिहरूलाई सन्तुलन गरेर असंलग्नताको सिद्धान्तअनुसार व्यवहार गर्नुपर्ने विज्ञहरू बताउँछन्। श्रीलंकाले दुवै देशलाई तिनीहरूको ‘कोर इन्ट्रेस्टमा’ आँच आउन नदिने तर स्वतन्त्र रूपमा दुवैसँग मित्रता बढाउने र सहयोग लिने विषयमा अन्यथा मान्न नपाउने कुरा प्रष्ट राख्नुपर्ने पूर्व राजदूत झविन्द्र अर्याल बताउँछन्।
भन्छन्, ‘साना मुलुकमा सरकार परिवर्तन भइरहन्छन्। कोही अलि लेफ्ट ढल्किने हुन्छन्, कोही राइट। तर, छिमेकी मुलुकसँगको सम्बन्ध ढल्किनु हुँदैन। तिमीहरूको कोर इन्ट्रेस्ट भन, हामी त्यसमा धक्का दिँदैनौं। तर, दुवै देशबाट व्यापार, लगानी, सहयोग लिने कुरामा स्वतन्त्र रूपमा काम गर्छौं भनेर प्रष्ट पार्दा राम्रो हुन्छ।’