काठमाडौं- मृतक श्रीमानको चितासँगै जल्नुपर्ने कुप्रथा अर्थात् सती प्रथा। नेपालबाट सती प्रथा अन्त्य भएको १०४ वर्ष बित्यो। विसं १९७७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले यो कुप्रथा अन्त्य भएको घोषणा गरेका थिए। र, अन्ततः जरो गाडिबसेको कुप्रथा नेपाली समाजबाट सदाको लागि हट्यो।
सती प्रथाको अन्यसँगै नेपाली महिलाहरूले श्रीमानको चितासँगै जिउँदै जल्नुपर्ने दर्दनाक पीडाबाट सदाका लागि छुटकारा पाए। त्यो परिवर्तन नेपालका लागि निकै ठूलो सामाजिक क्रान्ति थियो।
इतिहासमा सुन्न र पढ्न पाइन्छ, राजा योगेन्द्र मल्लको निधन हुँदा उनका ३१ रानी सती गएका थिए। त्यो संख्या इतिहासमा सबैभन्दा बढी हो।
सती प्रथा नेपालमा मात्र नभई भारतमा पनि त्यस्तै भयावह अवस्थामा थियो। भारतमा सती प्रथाको अन्त्य हुनुपर्छ भनेर पहिलोपटक आवाज उठाउने व्यक्तित्व थिए, राजा राममोहन राय। २२ मे १७७२ मा जन्मेर २७ सेप्टेम्बर १८३३ मा निधन भएका राममोहन राय पुनर्जागरण अभियानका प्रणेता थिए। सती प्रथा र बाल विवाह उन्मुलनमा साहसिक अभियानकै कारण उनलाई भारतका ‘प्रथम आधुनिक पुरुष’को उपाधी दिइएको छ।
भारतको स्वतन्त्रता प्राप्तिका अतिरिक्त उनी अन्धविश्वास अनि कुरीतिसँग जकडिएको समाजलाई परिवर्तन गर्न चाहन्थे। आफ्नो जीवनकालभर उनले सती प्रथा, बाल विवाह, जातिवाद, कर्मकाण्ड, बुर्का प्रथाको चर्को विरोध गरिरहे।
उनकै साहसिक अभियानको परिणामस्वरूप भारतमा डिसेम्बर १८२९ मा ब्रिटिस शासित भारतका पहिलो गभर्नर लर्ड विलियम बेन्टिंकले विधवा महिलालाई उनका दिवंगत श्रीमानसँगै जलाइने प्राचीन हिन्दू अभ्यास सती प्रथामाथि प्रतिबन्ध लगाए। सन् १९६१ मा तत्कालीन भारतमा सती प्रथालाई कानूनद्वारा बन्देज गरियो।
नेपालमा भने विस १९१० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नेपालमै पहिलोपटक मुलुकी ऐन जारी गरी सती प्रथामा केही हदसम्म कमी ल्याउने प्रयास गरेका थिए। उनले १६ वर्षभन्दा मुनिका विधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिला र गर्भवतीलाई सती नपठाउनु भन्ने उर्दी जारी गरेका थिए।
जंगबहादुरको प्रधानमन्त्रीको कार्यकाल चलिरहँदा उनका भाइ बमबहादुरको निधन भयो। त्यो समय जंगबहादुरले बमबहादुरकी पत्नीलाई सती जानबाट रोके। त्यति मात्र होइन, आफ्ना अर्का भाइ कृष्णबहादुरको निधन हुँदा भाइबुहारीलाई, ज्वाइँको निधन हुँदा छोरीलाई तथा भान्जा र कप्तानको निधन हुँदा उनीहरूका श्रीमतीहरूलाई समेत सतीका रूपमा जिउँदै चितामा जल्न दिएनन्।
जंगबहादुरपछि १४ असार १९४४ मा तत्कालीन राणा प्रधानमन्त्री वीरशम्शेरले देशका विभिन्न स्थानमा तैनाथ गढी-गौंडाका हाकिमहरूलाई सती पठाउनुपूर्व अनिवार्य स्वीकृति लिनुपर्ने, सती जान नारीको स्वीकृति अनिवायए हुने, छोराछोरी हुर्केका हुनुपर्ने, गर्भवती भए सती जान नहुनेलगायत कडा नियम तर्जुमा गरी कार्यान्वयन गर्न लिखित निर्देशन दिएका थिए।
विसं १९१० मा जंगबहादुरले सती प्रथा अन्त्यका लागि थालेको प्रयास बल्ल ६६ वर्षपछि २५ असार १९७७ मा आएर अन्त्य भयो। तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरले नेपालबाट सतीप्रथा अन्त्य भएको घोषणा गरेसँगै यो कुप्रथा सती अन्त्य गर्ने नायक सावित भए।
०००
१०४ वर्ष अघिसम्मको सती प्रथाको वृत्तान्तलाई जस्ताको तस्तै अनि त्यो समयको परिवेशमै सतीको कथालाई नेपाली चलचित्र ‘झोला’ले बडो मार्मिक तरिकाले देखाएको छ। श्रीमानको मृत्युपछि कसरी विधवा बनेकी श्रीमतीले जिउँदै श्रीमानको चितासँगै जल्नुपर्थ्यो, जब चितामा दन्किँदै गरेको आगोको रापले सतीको नांगो शरीरलाई पोल्न थाल्थ्यो, तब आत्मरक्षाका लागि चिताबाट भाग्न खोज्दा कसरी मलामीहरूले ढुंगा, मुडा हान्दै हत्या गरेर त्यही चितामा जलाउँथे भन्ने कथा यो सिनेमा देखाइएको छ।
फिल्म ‘झोला’को केही अंशमा दास प्रथाको परिवेश पनि समेटिएको छ। हुनेखाने वर्गले कसरी कमारा-कमारी खरिद गर्थे, पेट पाल्नकै लागि कमाराले साहुको खेतमा त कमारीले घरको सबै काम भ्याउनुपर्थ्यो ? चित्त नबुझ्दा साहुले दाम तोकेर कमारा-कमारीलाई अर्को साहुलाई बिक्री गर्ने कथालाई पनि फिल्ममा स्थान दिइएको छ।
एक सतीको कथा
‘झोला’ फिल्मको कथा विसं ०५८ सालको द्वन्द्वकालीन समयदेखि अगाडि बढेको छ। कृषि विकास बैंकमा कार्यरत एक कर्मचारी सधैंझैं आफ्नो काम सकेर घर फर्कन्छन्।
बाटोमा एक झोलाभित्र शंकास्पद बस्तु बम छ भन्दै भीड लागेको हुन्छ। उनी भीडलाई ध्यान नदिई सीधै घर जान्छन्। घर पुगी फ्रेस भई बराण्डामा आराम गर्न बसेका उनको आँखा छेउकै पिल्लरमा झुण्ड्याइएको रातो रङको झोलामा जान्छ। र, श्रीमतीलाई कसको झोला हो भन्दै प्रश्न तेर्स्याउँछन्। करिब ६०-६५ वर्षीय अपरिचत व्यक्ति घर आएका थिए भन्ने श्रीमतीको उत्तरले उनलाई सोचमग्न बनाउँछ। कतै त्यो झोलाभित्र पनि बम त छैन भन्ने त्रासले उनी श्रीमतीसँग झर्कंदै झोला खोलेर हेर्न थाल्छन्।
झोलाभित्र पुरानो कागजमा केही लेखिएको हुन्छ। आफ्ना साखा-सन्तानकै चिना बोकेर हिँडेका रहेछन् कि क्या हो भन्ने सोचेर उनी त्यो कागजमा भएको लेख पढ्न थाल्छन्।
लेख पढ्न शुरु गरेसँगै सतीको कथा अगाडि बढ्छ। कथा विसं १९७० को परिवेशबाट शुरु हुन्छ, जहाँ गाउँले जीवनमा २७ वर्षीया कान्छीको संघर्ष चलिरहेको छ। १६ वर्षको उमेरमा आफूभन्दा ४० वर्ष बुढो मुरारीसँग विवाह बन्धनमा बाँधिएकी कान्छी र मुरारीका करिब ८-९ वर्षका घनश्याम नाम गरेका छोरा छन्।
जेठी श्रीमतीको निधनपछि कान्छी भित्र्याएका मुरारीका जेठी श्रीमतीपट्टीबाट पनि एक छोरा छन्। तर, कान्छी आमा भित्र्याएपछि उनी बुवासँग रिसाएर दुई सन्तान र श्रीमतीलाई लिएर अलग्गै बस्छन्।
उमेर ढल्कँदै गएका मुरारीको वृद्ध शरीर थला पर्दै जान थालेको छ। दम बढ्न थालेपछि उनलाई भित्र-बाहिर गर्न पनि मुस्किल हुन थाल्छ। कान्छीले नै श्रीमानलाई भित्र-बाहिर गर्न सघाउँछिन्।
जेठी श्रीमतीपट्टीका नातिहरूले घनश्यामलाई फुटेको आँखाले पनि हेर्न सक्दैनन्। सँगै गोठालो जाँदा बुवा रिसाउँछन् भन्ने वहाना बनाउँदै उनीहरू आफ्नो बस्तुभाउसँग घनश्यामको बस्तुभाउ मिसाउनसमेत दिँदैनन्। नाताले काका भए पनि आफूभन्दा सानो भएको फाइदा उठाई उनीहरू चित्त नबुझे घनश्याममाथि हातसमेत उठाउँछन्। त्यसैले पनि घनश्यामले बस्तुभाउ चराउन एक्लै जंगल जानुपर्छ। तर, उमेरले जेठा भए पनि आफ्नै भतिजा भएकाले मिलेर सँगै खेल्ने, गोठालो जानुपर्छ भन्ने पाठ मुरारीकी कान्छी श्रीमती आफ्नो छोरालाई सिकाउँछिन्।
कान्छीको घर व्यवहार मध्यरातबाटै शुरू हुन्छ। झिसमिसे बिहानी भइसक्दा उनी झोरो (सल्लाको बत्ति)को उज्यालोमा दैलो पोत्ने, ढिकी कुट्ने, जाँतो पिध्ने, मोही पार्ने र पँधेरोबाट पानी ल्याउने काम भ्याइसक्छिन्। एक्लै बारी, गोठ, घर र थला पर्दै गएका श्रीमानको स्याहारमा जुटिरहेकी कान्छी थोरै पनि विचलित भएकी छैनन्।
उनी श्रीमानको स्वास्थ्य ख्यालमा राखी वैद्यलाई बोलाउँछिन्। र, झाँक्री बोलाई बली दिनसमेत लगाउँछिन्। तर, मुरारीको स्वास्थ्य बीसको उन्नाइस पनि सुधार हुँदैन। देवरको सल्लाहमा कान्छी ग्रह दान पनि गर्छिन्। केही सीप लाग्दैन।
बा सिकिस्तै बिरामी भए पनि जेठीपट्टिका छोरा भने एकपटक उनको स्वास्थ्य अवस्था बुझ्नसमेत जाँदैनन्। बुढेसकालमा सम्पत्ति खुवाउन कान्छी बिहे गरेको आरोप लगाउँदै उनी उल्टै कमारा-कमारीमाथि आफ्नो रिस पोख्छन्।
श्रीमानलाई सञ्चो भइहाल्छ भन्ने सोचेकी कान्छीको भ्रम पनि विस्तारै टुट्दै गएको छ। दिनभर घर व्यवहार, श्रीमानको सेवामै व्यस्त रहने उनी श्रीमानलाई केही भइहाल्यो भने छोराको के गति होला भन्ने पीरमा पर्छिन्।
यसरी नै दिनहरू बित्दै जान्छन्। एक दिन गोठालो गएका घनश्यामलाई बोलाउन गाउँका दुई युवा जंगलमै पुग्छन्। उनीहरूले मुरारीको मृत्युको दुःखद खबर सुनाउँछन्। घनश्याम आत्तिँदै घरतिर लाग्छन्। घर पुग्दा आँगनमा बुढा बाको लास तेर्स्याइएको छ। गाउँलेहरूले पूरै आँगन भरिभराउ भए पनि लासको छेउमा घनश्याम आफ्नी आमालाई देख्दैनन्। उनलाई बुवाको मृत्युभन्दा पनि आमालाई सती बनाउँछन् भन्ने कुराले बढी दुःखी बनाउँछ। श्रीमानको मृत्यु भएपछि श्रीमतीले सती जानुपरेका थुप्रै घटना घनश्यामले गाउँमा देखिसकेका थिए।
बुवाले आमालाई सती नजानु भन्नुभएको थियो भन्दै बालक घनश्याम विरोध गर्छन्। तर, उनको कुरा कसैले सुन्दैनन्। सती जाँदा आफ्नो मात्र नभई श्रीमानको सबै पाप पखालिन्छ, यो पूर्व जन्मको पुण्यको फल हो, सबैले संसार छोडेरै जानुपर्छ, त्यसकारण मायामोहको जालोमा अल्झेर आफूले कमाउने पुण्य बिगार्नु हुँदैन भन्ने अन्धविश्वासमा पण्डितले कान्छीलाई पार्छन्। त्यसमै उनी चित्त बुझाउँछिन्। र, उनलाई सतीका लागि बेहुलीजस्तै बनाएर तयार पारिन्छ।
जसरी विवाह गर्दा कान्छीलाई भित्र्याइएको थियो, त्यसरी नै उनलाई बाजागाजाका साथ मुरारीको लास पछि-पछि लगाई घाटसम्म लगिन्छ। घनश्याम आमा-आमा भन्दै लड्दै-पड्दै मलामीहरूको पछिपछि कुद्छन्। कान्छीले सती जान लागेको रमिता हेर्नेको ताँती लाग्छ। बीच बाटोमा पीपलको परिक्रमा गर्न लगाई उनलाई सम्पूर्ण कपडा र गर-गहना फुकाल्न लगाइन्छ। र, उनको टाउकोमा एक लिटरजति तेल खन्याइन्छ।
त्यसपछि सती बनाइएकी कान्छीलाई लासको अगाडि लगाइन्छ। घाट पुग्दासम्म झिसमिसे अँध्यारो भइसक्छ। घाटमा गरिने कर्म गर्न केही समय लाग्छ। त्यसपछि मुरारीको लासमाथि कान्छीलाई बस्न लगाई उनको लासमा दागबत्ति दिएर सबै मलामी मध्यरातमा घर फर्कन्छन्।
जल्दै गरेको बाको चितामाथि मूर्तिजस्दै ठिंग बसालिएकी आमालाई हेर्दाहेर्दै घनश्याम बेहोश हुन्छन्। घाटबाट फर्कंदा काकाले देखेपछि उनी काकासँगै घर आउँछन्। काकीले घनश्यामलाई मायाले आफ्नो अंगालोमा बेर्छिन्। श्रीमती मर्दा श्रीमानले बाजा बजाउँदै अर्को विवाह गर्ने अनि श्रीमान् मर्दा श्रीमतीले जिउँदै मुढामा जल्नुपर्ने कहाँको थिति हो भन्दै काकी काकासँग प्रश्न गर्छिन्।
काकाले आफूभन्दा अगाडि श्रीमतीको मृत्यु होस् भन्दै भगवानसँग प्रार्थना गर्छन्। भगवानकै थितिदेखि चल्दै आएको परम्परलाई पछ्याउँदै राजा, महाराजाहरूले पनि आफ्नी आमालाई पोलेको प्रसंग जोदै काका दुःखी हुन्छन्।
अब घनश्याम दाजुको घरमा बस्न थाल्छन्। दाजुको वस्तुभाउ वन लगेर चराउने उनको काम हुन्छ। वनबाट घाट केही दूरीमा थियो। उनी त्यही घाटमा आमा-बालाई जलाइएको सम्झँदै रुन थाल्छन्। रात झमक्क परिसकेको हुन्छ। वस्तुभाउ हराए भन्ने सोचेर घनश्याम जंगलको भित्रभित्र गएर खोज्न थाल्छन्। त्यही समयमा एक ओडारभित्र कोही भएको आभास उनलाई हुन्छ। उनी डराउँदै घरतिर लाग्छन्।
अर्को बिहान घनश्याम हिजोकै ओडारमा को रहेछ भन्ने जिज्ञासाका साथ पुग्छन्। ओडारमा उनको आँखाले जे देख्छन्, त्यो विश्वास गर्न उनलाई गाह्रो पर्छ। बासँगै चितामा जलिसकेकी आमालाई आँखा अगाडि देख्दा उनी एकछिन इन्तु न चिन्तु हुन्छन्। र, आमालाई अंगालो हालेर रुन थाल्छन्। कान्छी पनि छोरा घनश्यामलाई आफ्नो काखमा लिँदै बेस्सरी रुन थाल्छिन्।
जिउँदै चितामा बसेकी कान्छीले आगोको ताप सहन नसकेपछि खोलामा हाम फालेकी हुन्छिन्। झमक्क रात परेकाले न त उनलाई खोलामा हाम फालेको कसैले पत्तो पाउँछन्, न बाजाको आवाजले कसैले आवाज नै सुन्छन्। त्यसपछि उनी गाउँलेहरूको त्रासका बीच जंगलको ओडारमा लुकेर बसेकी हुन्छिन्।
कान्छी मनमा पत्थर राख्दै छोरा घनश्यामलाई त्यहाँबाट जान भन्छिन्। आज छोरा आइपुगेको ठाउँमा भोलि कोही न कोही गाउँले पनि आइपुग्नेछन् अनि आफूलाई जिउँदै देखेपछि फेरि जलाउने छन् भन्ने सोचले कान्छीको आँतै काँपेर आउँछ। ओडारमा कुनै दिन बाघ-भालुको शिकार हुने खताराको अड्कल लगाइसकेकी कान्छीका लागि आगोमा जल्नुभन्दा बाघ भालुको शिकार हुन स्वीकार्य थियो।
आफू जीवित रहेको कुरा घरमा कसैलाई नभन्ने शर्तमा उनी छोरालाई विदा गर्छिन्।
झमक्क रात नपरुन्जेल गाईवस्तु घर नफर्काउने घनश्याम त्यस दिन घाम छँदै वस्तुभाउ लिएर फर्किन्छन्। आमा जीवित रहेको खुशी साट्न उनी काकाको घर बस्ने निधो गर्छन्। काकीले उनलाई आमाजस्तै माया गर्थिन्। राति छटपटीले निद्रा लाग्दैन। कति दिनदेखि भोकभोकै बसेकी आमाको शरीरमा एक सर्को कपडा पनि थिएन। निद्रा नलागेपछि काकाले नसुन्ने गरी उनी काकीको कानैमा फुसफुसाउँदै आमा जीवितै रहेको वास्तविकता बताउँछन्।
शुरुमा त काकीलाई घनश्यामको कुरामा विश्वास गर्न मुस्किल पर्छ। तर, घटनाक्रम सविस्तार बताएपछि उनी विश्वास गर्छिन्। र, अर्को दिन कसैलाई सुइँको नदिई आफू पनि घनश्यामसँगै कान्छीलाई भेट्न ओडार जाने योजना बनाउँछिन्।
अर्को दिन गोठालो गएका घनश्यामलाई काकी वनमै भेट्छिन्। केही खानेकुरा र एक जोर कपडाको पोका बनाउँदै उनी घनश्यामको हातमा थमाउँदै घरमा केही काम सकेर आउने बताउँछिन्। नाताले देउरानी भए पनि काकी उमेरले कान्छीकी आमाको उमेरकी समान थिइन्। उनलाई सम्झना आउँछ, कहिलेकाहीं घरायसी कुराले देउरानीसँग आफ्नो ठाकठुक परेको। तर, आफ्नो र छोराका लागि देउरानीले गरेको सहयोग कान्छीका लागि अथाहा थियो।
त्यतिकैमा छेउको घाटमा बाजाको आवाज घन्किन्छ। आज पनि कुनै महिला जिउँदो जल्नेवाला थिइन्। कान्छी र घनश्याम जंगलबाट चियाउन थाल्छन्। चितामाथि बसेकी सती आगोको राप सहन नसकी त्यहाँबाट भाग्न थाल्छिन्। मलामी सबैले उनलाई ढुंगामुडा प्रहार गरी मारेरै भए पनि श्रीमानको चितामा जलाउँछन्।
केहीछिनमै काका र काकी पनि कान्छी भएतिरै आइपुुग्छन्। काकालाई पनि वनमा देखेपछि घनश्याम र कान्छी दुवै थोरै डराउँछन्। देवर, देउरानीले केही जोर कपडा, बाटो खर्च ल्याइदिएका थिए। आफ्ना लागि यत्रो उपकार गरेको देखेर कान्छी भक्कानिँदै रुन थाल्छिन्। नेपाल बसे कसैले चिन्न सक्ने भएकाले जंगलै-जंगलको बाटो मुग्लान जानु भनेपछि घनश्याम र कान्छी देवर, देउरानीले सुझाएअनुसार जंगलको बाटो लाग्छन्। र, सतीको कथा समाप्त हुन्छ।
०००
अपरिचित ती व्यक्तिको आत्मकथा पढिसकेपछि बैंक कर्मचारीका आँखा रसाउँछन्। उनले घरमा ठूल-ठूला व्यक्तिका तस्बिर टाँसेका थिए। ती तस्बिरहरूको बीचमा त्यस दिन एक नयाँ तस्बिर पनि झुण्ड्याउँछन्। त्यो तस्बिर राणा प्रधानमन्त्री चन्द्रशम्शेरको थियो। आमाले कसको तस्बिर टाँसिरहेको भन्ने प्रश्न गरेपछि ती बैंक कर्मचारी जवाफ दिन्छन्, ‘बुवाको मृत्युपछि पनि तपाईं अहिलेसम्म जीवित रहन पाउनुभएको उहाँकै कारण हो।’ जुन वाक्य निकै मार्मिक थियो।
०००
चलचित्र ‘झोला’ लेखक कृष्ण धरावासीको कथा ‘झोला’को विषयवस्तुमा आधारित छ। यादवकुमार भट्टराईले निर्देशन गरेको उक्त चलचित्र २२ मंसिर ०७० मा प्रदर्शन भएको थियो। सिनेमाको मुख्य भूमिकामा गरिमा पन्त छिन्। उनी कान्छीको भूमिकामा छिन्।
गरिमाका अतिरिक्त सुजल नेपालले घनश्याम, दीपक क्षत्रीले कान्छीका श्रीमान, लक्ष्मी गिरीले कान्छीकी देवरानी र देशभक्त खनालले कान्छीका देवरको भूमिका वहन गरेका छन्। विशेष उपस्थितिमा लेखक कृष्ण धरावासीले कान्छीको सौताका छोराको भूमिका निर्वाह गरेका छन्।
‘झोला’बाट नायिका गरिमा पन्तले सन् २०१४ मा सार्क चलचित्र उत्सवमा सर्वोच्कृष्ट अभिनेत्रीको पुरस्कारसमेत पाएकी थिइन्।