थाइराइड हार्मोनलाई मेडिकल भाषामा मेटाबोलिक हार्मोन भनिन्छ, जसले शरीरका सबै कोशिकालाई चलाउने काम गर्छ।
कहिलेकाहीं कुनै रोगका कारण शरीरमा थाइराइड हार्मोन कम उत्पादन हुन्छ, जसलाई हाइपो थाइराइडिजम भनिन्छ। कहिलेकाहीं हार्मोन बढी उत्पादन भइदिन्छ। यस्तो अवस्थालाई हाइपर थाइराइडिजम भनिन्छ।
यस्तै, कहिलेकाहीं हार्मोनको समस्या भइरहेका बिरामीहरूमा जाँच गर्दा थाइराइड ग्रन्थीमा स-साना गिर्खा पलाएको देखिन्छ। त्यसले थाइराइडको क्यान्सरको संकेत गर्छ।
अधिकांश मानिसमा हाइपो थाइराइडिजम अर्थात् हार्मोनको मात्रा कम हुने समस्या बढी देखिन्छ। हार्मोन कम हुने समस्या पुरुषको तुलनामा महिलामै अधिक छ। महिलामा नै किन बढी ? अहिलेसम्म कुनै अध्ययन-अनुसन्धानले यसलाई यकिन गर्न सकेका छैनन्।
महिलामा स्ट्रोजन हार्मोन हुन्छ। थाइराइड र स्ट्रोजन हार्मोन धेरै हदसम्म मेल खान्छन्। सोही कारण महिलामा थाइराइडको समस्या देखिएको हो कि भन्ने परिकल्पनाहरू मात्र गरिएका छन्। हाइपो थाइराइडिजमको समस्या तीनजना महिलामा हुँदा बल्ल एक पुरुषमा देखिन्छ।
लक्षण
हाइपो थाइराइडिजममा भएको व्यक्तिमा अल्छी लाग्ने, निन्द्रा धेरै लाग्ने, नचाहँदा नचाहँदै मोटोपना बढ्दै जाने, भोक नलाग्ने, काम गर्न जाँगर नचल्ने, हातगोडा सुन्निने, हातहरू फुस्रो हुने, घाँटीमा केही अड्किएजस्तो महशुस हुने, चिसो कुराले असर गर्ने, कपाल धेरै झर्ने, महिलामा महिनावारी गडबडी हुने, गर्भ नबस्ने, बसिहाले पनि खेर जाने वा शारीरिक रूपमा अशक्त बच्चा जन्मने समस्याहरू हुन सक्छन्।
थाइराइडका कारण बाँझोपनको समस्या देखिएको रहेछ भने त्यसको उपचारपछि थाइराइड नर्मल भएर आउँछ। त्यसपछि बच्चा बस्न सक्ने सम्भावना रहन्छ। तर, बच्चा नबस्ने अन्य धेरै कारण पनि हुन्छन्। त्यो अवस्थामा थाइराइडको औषधि चलाएर नर्मल भयो भन्नेबित्तिकै बच्चा बस्छ भन्ने छैन।
थाइराइड भएका महिलाले बच्चा जन्माउनु हुँदैन र गर्भावस्थामा थाइराइडको औषधि खानु हुँदैन भन्ने गलत धारणा पनि समाजमा पाइन्छ। यो पूर्णतः सुरक्षित औषधि हो। डाक्टरको सल्लाहमै गर्भावस्थामा थाइराइडको औषधि खान सुझाउँदा पनि राम्रोसँग नबुझेकाले औषधि नै नखाने गरेको पनि पाइन्छ, जुन सही होइन।
थाइराइडको समयमै उपचार गरिएन भने यो रोगले मुटुको बिमारी, हाडजोर्नीमा समस्या, डिप्रेसनमा जान सक्ने, साइकोजस्तो देखिने पनि हुन सक्छ।
दोस्रो- हाइपर थाइराइडिजम हो। हाइपर थाइराइडिजमको समस्या भएका मानिसमा छटपटी हुने, पसिना बढी आउने, हातखुट्टा काम्ने, स्वाँस्वाँ बढी हुने, दुब्लाउँदै जाने, मुटुको धडकन बढ्ने, स्वरमा परिवर्तन आउने र गलगाँड आउनेजस्ता लक्षण देखापर्छन्।
कहिलेकाहीं थाइराइडको क्यान्सर पनि देखिन सक्छ। थाइराइडको लक्षण देखिएका बिरामीमा पहिले घाँटीको भिडियो एक्सरे गरिन्छ। त्यसक्रममा शंकास्पद गाँठोहरू देखिए भने त्यसपछि ‘फाइन निडल एस्पिरेसन साइटोलोजी (एफएनएसी)’ जाँच गरिन्छ।
एफएनएसी टेस्टमा घाँटीमा देखिएका गाँठोबाट सिरिन्जमार्फत पानी झिकेर साइटोलोजी टेस्ट गरिन्छ। त्यसमार्फत सामान्य गाँठो हो कि क्यान्सर भन्ने पत्ता लगाइन्छ।
हाइपो थाइराडिजम देखियो भने थाइराइड हार्मोन रिप्लेस गर्नुपर्ने हुन सक्छ। त्यो भनेको बिहानै खाली पेटमा खाने औषधि हो। हाइपर थाइराडिजम देखियो भने त्यसको अलग्गै औषधि हुन्छ।
क्यान्सर देखियो भने थाइराइडको अपरेसन गरेर झिकिन्छ। कसैको आधा र कसैको पूरै झिक्नुपर्ने हुन सक्छ। पूरै झिक्नु पर्दा शरीरले थाइराइड उत्पादन गर्न सक्दैन। र, जीवनभर औषधि सेवन गर्नुपर्छ। त्यो अपरेसन गरेका कारण हुने हाइपो थाइराडिजम हो।
कारण
थाइराइडको समस्या आउनुको आम कारण भनेको हाम्रो शरीरमा बन्ने एन्टी बडी हो। त्यस्तो एन्टी बडीले थाइराइड बिगारिदिन्छ। शरीरको इम्युनिटीले नराम्रो काम गरिदिएर आफ्नै अंगलाई शत्रु भन्ठान्छ र बिगारिदिन्छ। यसलाई अटो इम्युन रोग भनिन्छ। त्यस्तो अवस्थामा जीवनभर औषधि खानुपर्छ।
अन्य कुनै औषधि सेवन गरिरहेको अवस्थामा पनि त्यसले थाइराइडको समस्या गराउँछ। साइक्याट्रिक औषधि लिथियम भन्ने छ। र, मुटुको धडकनका लागि प्रयोग गरिने औषधि एमआईडियोरोनको साइड इफेक्टले पनि थाइराइडको समस्या निम्त्याउने गर्छ।
कहिलेकाहीं थाइराइडको इन्फेक्सनको कारणले पनि थाइराइड ग्रन्थी सुकेको हुन्छ। र, सर्जरीपछि पनि थाइराइडको समस्या आउन सक्छ। अन्य अटो इम्युन रोगहरूले पनि थाइराइडको समस्या निम्त्याएका हुन्छन्। अटो इम्युनिटी किन हुन्छ भन्ने पत्ता लागेको छैन। त्यो पत्ता लाग्यो भने सबै प्रकारका अटो इम्युन रोगहरूको उपचार सम्भव हुनेछ।
उपचार
थाइराइडको समस्या हाम्रो नियन्त्रणमा छैन। यसमा खानपान र जीवनशैलीमा परिवर्तन गरेर हामीले रोक्न सक्दैनौं।
त्यसकारण थाइराइडलाई समय-समयमा जाँच गर्ने, लक्षण देखिएको खण्डमा उपचार गर्नुबाहेक अन्य उपाय छैन।
धेरै व्यक्तिमा डेढ-दुई वर्ष औषधि नियमित सेवन गरेमा हाइपर थाइराइडिजम निको हुन्छ। तर, केहीको हकमा जीवनभरि नै औषधि खानुपर्छ।