काठमाडौं- अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मिति नजिकिएसँगै माहोल गर्माएको छ। निर्वाचनका लागि २ महिनाभन्दा कम समय बाँकी रहँदा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरूले चुनावी र्याली तीव्र पारेका छन्। मत परिणामको पूर्वानुमान पनि धमाधम भइरहेका छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रभाव विश्वभर पर्ने भएकाले यसलाई चासोका साथ हेरिन्छ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनको दौडमा छन्, रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस। उपराष्ट्रपति पदका लागि टिम ट्रम्पबाट जेडी भान्सले टिकट पाएका छन्। टिम ह्यारिसबाट मिनेसोटाका गभर्नर टिम वाल्ज मैदानमा उत्रिएका छन्।
वर्तमान राष्ट्रपति जो बाइडेन चुनावी मैदानबाट बाहिरिएपछि उपराष्ट्रपति ह्यारिसलाई डेमोक्रेटिक पार्टीले मैदानमा उतारेको हो। वृद्धावस्था र कमजोर स्वास्थ्य अवस्थाका कारण आलोचना भएपछि उनी मैदानबाट बाहिरिएका थिए। गत २८ जुनमा भएको पहिलो राष्ट्रपतीय बहसमा कमजोर प्रदर्शनका कारण उनीमाथि झनै दबाब बढेको थियो। अन्ततः २१ जुलाईमा प्रजातन्त्रको रक्षा र पार्टीलाई एकताबद्ध बनाउने कारण देखाउँदै बाइडेन पुनः राष्ट्रपति बन्ने होडबाट बाहिरिएका थिए।
पहिलो डिबेटमा बाइडेनको निराशाजनक प्रस्तुतीले हौसिएका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई कमलाको मैदान प्रवेशसँगै चुनौती बढेको विश्लेषकहरू बताउँछन्। आगामी १० सेप्टेम्बरमा राष्ट्रपतीय निर्वाचनको दोस्रो तर ट्रम्प-ह्यारिसबीचको पहिलो डिबेट हुँदैछ।
ट्रम्प यस डिबेटका लागि पोख्त छन्। उनले सन् २०१६ र २०२० को निर्वाचनमा पनि यस्ता डिबेटमा भाग लिइसकेका छन्। गत २८ जुनमा बाइडेनसँग पहिलो डिबेट गरिसकेका छन्। सोही डिबेटपछि डेमोक्रेटिक पार्टी बाइडेनको विकल्प खोज्न बाध्य भएको थियो। २०१६ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका ट्रम्प २०२० मा भने जो बाइडेनसँग पराजित भएका थिए।
यसपटकको डिबेटमा ह्यारिसले पनि ट्रम्पलाई कडा चुनौती दिनसक्ने आकलन गरिएको छ। उनीसँग अमेरिकी सिनेटमा बहस गरेको अनुभव छ। उनीसँग क्यालिफोर्नियाको अदालतमा अभियोजकको रूपमा काम गरेको अनुभव पनि छ। ती बहसमा विपक्षीको कमजोरी पहिल्याउनुपर्ने भएकाले उनलाई त्यो अनुभव राष्ट्रपतीय डिबेटमा ट्रम्पको कमजोरी पहिल्याउन र ट्रम्पको दाबीमाथि खण्डन गर्न काम लाग्नेछ। ट्रम्प भने प्रायः बहसको विषयबाट अन्तै मोडिने र बहकाउमा लाग्ने गरेको बीबीसीको दाबी छ। उनका अभिव्यक्तिमाथि फ्याक्ट चेकर्सले अनुसन्धान गर्दा गलत पाइने गरेको छ, जुन ह्यारिसका लागि ‘प्लस पोइन्ट’ हुन सक्छ। उनी एक कुशल वक्तासमेत मानिन्छिन्।
अमेरिकी राष्ट्रपतीय डिबेट संसारभरमा अत्यधिक हेरिने बहसमा पर्छ। यस बहसबाटै अत्यधिक अमेरिकी जनताले भोटिङको निर्णय गर्ने बीबीसीले जनाएको छ। अमेरिकी समयअनुसार १० सेप्टेम्बर मंगलबार राति ९ बजे फिलाडेल्फियामा हुने बहस नेपाली समयानुसार भने बुधबार बिहान पौने ७ बजे हुनेछ। उक्त बहस एबीसी च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ भने एबीसी न्युज लाइभ, डिज्नी प्लस र हुलु एपमा पनि प्रसारण हुनेछ।
२०२० को ट्रम्प र बाइडेनबीचको झगडाले बहस बिथोलिएपछि अहिले एउटा उम्मेदवारले जवाफ दिइरहँदा अर्को उम्मेदवारको माइक बन्द गर्ने नियम ल्याइएको छ। यद्यपि, ह्यारिस भने दुवै माइक अन राख्नुपर्ने पक्षमा थिइन्। अन्तमा उनी उक्त नियम मान्न सहमत भएकी छन्। एउटा वक्ताले एक प्रश्नको उत्तर दिन दुई मिनटको समय पाउनेछन्। अर्को वक्ताको जवाफ खण्डनका लागि पनि दुई मिनटको समय पाउनेछन्। बहसमा दुई जना मोडरेटर मात्र हुनेछन्। बहसमा दर्शकहरूलाई समेत सहभागी गराइने छैन।
को हुन् कमला ह्यारिस ?
संसारभर कमला ह्यारिसको नामले परिचित उपराष्ट्रपति ह्यारिसको पूरा नाम कमलादेवी ह्यारिस हो। उनको जन्म २० अक्टोबर १९६४ मा अकल्यान्ड क्यालिफोर्नियामा भएको थियो। उनका बाबु जमैकन मुलका हुन् भने आमा भारतीय। उनी पहिलो अश्वेत तथा पहिलो एसियन अमेरिकन उपराष्ट्रपति हुन्।
ह्यारिस एक दशकमै सान फ्रान्सिस्कोको जिल्ला अधिवक्ताबाट उपराष्ट्रपतिसम्म बन्न सफल भइन्। उनले हार्वर्ड युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेकी छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया हेस्टिंग्स कलेज अफ लबाट कानूनमा डिग्री हासिल गरेकी छन्। सन् २००४ मा सान फ्रान्सिस्को काउन्टीमा शीर्ष अभियोजकको पदमा उठ्नुअघि उनले अलमेडा र सान फ्रान्सिस्को काउन्टीमा जिल्ला सरकारी वकिल कार्यालयमा काम गरेकी थिइन्। २०१० मा उनी क्यालिफोर्निया राज्य महान्यायाधिवक्ता निर्वाचित भएकी थिइन्।
२०१६ मा क्यालिफोर्नियाबाटै सिनेटको सिट जितेकी थिइन्। २०१९ मा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गरेकी थिइन्। तर, प्राइमरी रेसबाट बाहिरिएकी थिइन्। पछि उनलाई जो बाडेनले उपराष्ट्रपतिका लागि चुनेका थिए।
को हुन् डोनाल्ड ट्रम्प ?
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प १४ जुन १९४६ मा न्युयोर्कमा जन्मिएका थिए। व्यापारी पृष्ठभूमिबाट अमेरिकाको ४५औं राष्ट्रपति बनेका उनी ‘द ट्रम्प अर्गानाइजेसन’का मालिक हुन्। उनको कम्पनीले गगनचुम्बी भवन निर्माण, होटल, क्यासिनो र गल्फ कोर्स सञ्चालन गर्थ्यो।
सबै बिजनेसमा लगातार असफल हुँदै गएपछि उनले टेलिभिजन सिरिजसमेत होस्ट गरेका थिए। उनी र उनको कम्पनीले ४ हजारभन्दा बढी वादी र प्रतिवादी भएका मुद्दाहरू खेपिसकेको छ।
उनले सन् १९६८ मा युनिभर्सिटी अफ पेन्सिल्भेनियाबाट अर्थशास्त्रमा ब्याचलर अफ साइन्स डिग्री प्राप्त गरेका थिए।
ट्रम्पमाथि मुद्दाका चाङ
सर्वाधिक विवादित पूर्व राष्ट्रपति ट्रम्पले विभिन्न संघीय आपराधिक आरोपहरूको सामना गरिरहेका छन्। उनीमाथि पोर्नस्टारसँग अनैतिक शारीरिक सम्बन्ध राखेको र ‘हस मनी’ तिरेको आरोप पनि लागेको छ।
मे २०२४ मा न्युयोर्कको एक जूरीले ट्रम्पलाई २०१६ को निर्वाचनमा पोर्न स्टार स्टर्मी डेनियललाई मुख बन्द गर्न पैसा भुक्तानी गरेको, अपराध पुष्टि हुने प्रमाण नष्ट गर्ने प्रयास गरेकोलगायत ३४ वटा अपराधमा दोषी करार गरेको थियो। ती अपराधमा उनलाई २६ नोभेम्बरमा सजाय तोकिँदैछ। उनी अपराधमा दोषी करार हुने पहिलो अमेरिकी पूर्व राष्ट्रपति पनि हुन्।
उनीमाथि अति गोप्य सरकारी कागजातहरूको गलत प्रयोग गरेको र २०२० को निर्वाचनको नतिजा उल्ट्याउने प्रयास गरेकोलगायत अन्य ५४ अपराधमा मुद्दा चलिरहेको छ। उनको फ्लोरिडास्थित मार-ए-लागो रिसोर्टबाट गोप्य सरकारी दस्तावेजहरू बरामद भएको थियो। २०२३ मा यौन दुर्व्यवहार र मानहानि, २०२४ मा मानहानि र २०२४ मै आर्थिक धोखाधडीको अभियोगका लागि पनि ट्रम्प जिम्मेवार देखिएका थिए। ट्रम्पले भने ती अपराधमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।
माहोल कसको पक्षमा ?
गत १३ जुलाईमा पेन्सिलभेनियाको एक चुनावी र्यालीमा ट्रम्पमाथि प्राणघातक हमला भएको थियो। एक बन्दुकधारीले हानेको गोली ट्रम्पको कानमा लागेको थियो। संयोगवश उनलाई ठूलो चोटपटक लागेन। गोली प्रहारपछि आफूलाई परिवर्तन गर्दै एकीकरणकर्ताको रूपमा चिनाउन थालेका थिए। घटनापछि ट्रम्पको पक्षमा माहोल बढेको थियो।
तर, ट्रम्प प्रतिस्पर्धीमाथि गालीको वर्षा गर्दै फेरि आफ्नै पुरानै लयमा फर्किसकेका छन्। यता ट्रम्पको पक्षमा विश्वकै सर्वाधिक धनी एलन मस्क उत्रिएका छन्। कुनै बेलाका एकअर्काका कटु आलोचक यी दुई एकजुट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यता बाइडेनको उम्मेदवारी घोषणासँगै सुस्ताएको डेमोक्रेटिकको माहोल ह्यारिसको आगमनसँगै फेरि जुर्मुराएको छ। बाइडेनको पक्षमा युवा निराश हुँदा ह्यारिसको आगमनसँगै उनीहरू जुर्मुराएको बीबीसीले उल्लेख गरेको छ। ह्यारिस-वाल्जको चुनावी सभामा हजारौंको सहभागिता हुन थालेको छ। यो क्रम बढिरहेको बीबीसीले उल्लेख गरेको छ।
यस्ता छन् निर्वाचन परिणामको पूर्वानुमान
राष्ट्रपतीय निर्वाचनको मिति नजिकिएसँगै मत परिणामको पूर्वानुमानसमेत भइरहेका छन्। विश्लेषकहरूले विभिन्न सूचकहरू निर्धारण गरेर नतिजा पूर्वानुमान गर्ने गरेका छन्।
चर्चित तथ्यांकशास्त्री तथा चुनाव विश्लेषक नेट सिल्भरले आगामी राष्ट्रपतीय निर्वाचनको ताजा भविष्यवाणी प्रस्तुत गरेका छन्। उनको पूर्वानुमानमा ट्रम्पको जितको सम्भावना ३० जुलाईयताकै उच्च गतिमा बढेको छ। जसले ट्रम्पलाई बलियो स्थितिमा उभ्याएको उनको दाबी छ।
याहु समाचारको रिपोर्टअनुसार सिल्भरको मोडेलले ट्रम्पको इलेक्टोरल कलेज सुरक्षित गर्ने सम्भावना बढेको देखाएको छ, जुन अघिल्लो साताको ५२.४ प्रतिशतबाट बढेर ५८.२ प्रतिशतमा पुगेको छ। यता ह्यारिसको सम्भावना भने ४७.३ प्रतिशतबाट घटेर ४१.७ प्रतिशतमा खुम्चिएको छ। प्रतिपर्धामा तलमाथि हुने भए पनि ट्रम्पको सम्भावना भने बढेको सिल्भरको दाबी छ।
सिल्भरका अनुसार पेन्सिल्भेनियाका गभर्नर जोश सापिरोलाई उपराष्ट्रपति टिकटबाट बाइपास गर्दा ह्यारिसलाई त्यहाँ घाटा लाग्न सक्छ। त्यहाँ १९ इलेक्टोरल भोट छ। यद्यपि, राष्ट्रपतिको दौडबाट बाइडेन बाहिरिएपछि ह्यारिसको पक्षमा प्रारम्भिक उत्साह देखिएको छ।
राजनीतिक मामलाको विश्लेषण गर्ने संगठन ‘रियल क्लियर पोलिटिक्स’ले गरेको राष्ट्रिय सर्वेक्षणका अनुसार ३ सेप्टेम्बरसम्म ट्रम्पभन्दा करिब २ अंकले अगाडि छिन्। त्यसअघि बाइडेनले उम्मेदवारी फिर्ता नलिँदासम्म उनी ट्रम्पभन्दा पछाडि थिए।
‘रियल क्लियर पोलिटिक्स’को ताजा सर्वेक्षणमा डेमोक्रेटिकले २२६ इलेक्टोरल कलेज सुरक्षित गर्दा रिपब्लिकन पार्टीले २१९ मत सुरक्षित गरेको छ। बाँकी ९३ सिटले दुवैको भविष्य निर्धारण गर्ने विश्लेषकहरू बताउँछन्।
‘स्विङ स्टेट’हरू एरिजोना, जर्जिया, मिसिगन, नर्थ क्यारोलिना र पेन्सिल्भेनियामा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। उक्त सर्वेक्षणअनुसार सेप्टेम्बरको शुरुवातमा मिसिगन र जर्जियामा ह्यारिस अगाडि देखिएकी थिइन् भने एरिजोना र नर्थ क्यारोलिनामा ट्रम्प अगाडि निस्केका छन्। पेन्सिलभेनियामा भने दुवै बराबर हैसियतमा छन्।
यद्यपि, यस्ता पूर्वानुमानहरू सधैं पूरा हुनेमा विश्लेषकहरू सहमत छैनन्। २०१६ को निर्वाचनमा यस्तै सर्वेक्षणमा हिलारी क्लिन्टन ट्रम्पभन्दा ५ अंकले अगाडि देखिएकी थिइन्। तर, उनले निर्वाचनमा पराजय भोगिन्। यता ट्रम्प-ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने र झिनो मतान्तरको हारजित हुनसक्ने उनीहरूको अनुमान छ।
कसरी हुन्छ अमेरिकामा राष्ट्रपतीय निर्वाचन ?
अमेरिकाको राष्ट्रपतीय निर्वाचन अन्य देशको भन्दा पृथक छ। संसदको इलेक्टोरल कलेजले राष्ट्रपति चुन्ने व्यवस्था छ। अमेरिकाको संसदमा माथिल्लो सदन सिनेटमा प्रत्येक ५० राज्यबाट २-२ गरी १०० जना निर्वाचित हुने व्यवस्था छ। तल्लो सदन प्रतिनिधिसभामा जनसंख्याको आधारमा राज्यअनुसार फरक-फरक सिट संख्या तोकिएको हुन्छ। तल्लो सदनमा ४३५ सदस्य निर्वाचित हुन्छन्।
राष्ट्रपति निर्वाचनका लागि त्यही सिनेट र हाउसका सदस्यको एक निर्वाचन मण्डल हुन्छ, जसलाई ‘इलेक्टोरल कलेज’ भनिन्छ। इलेक्टोरल कलेजमा ५३८ सदस्य हुन्छन्। हाउस र सिनेटको गरी जम्मा ५३५ सदस्य हुन्छन्। र, कोलम्बिया जिल्लाबाट तीन इलेक्टोरल सिट छान्ने गरिन्छ। कोलम्बिया जिल्लालाई इलेक्टोरल कलेजका लागि राज्य मान्ने गरिन्छ। राष्ट्रपतिमा जितका लागि कम्तिमा ५० प्रतिशत अर्थात २७० इलेक्टोरल मत आवश्यक पर्छ।
यदि दुवै उम्मेदवारले समान २६९ इलेक्टोरल कलेज पाएमा तल्लो सदनले राष्ट्रपति र माथिल्लो सदनले उपराष्ट्रपति निर्वाचित गर्ने व्यवस्था छ।
राष्ट्रपतीय निर्वाचन मानिने इलेक्टोरल निर्वाचनमा ४८ राज्यमा सबैभन्दा धेरै प्रत्यक्ष मत पाउने उम्मेदवारले राज्यको सबै मत पाउने व्यवस्था गरिएको छ। कम मत ल्याउनेले एउटा पनि इलेक्टोरल कलेज पाउँदैन। अमेरिकाका दुई साना राज्यहरू मेएन (४ इलेक्टोरल कलेज) र नेब्रास्का (५ इलेक्टोरल कलेज)मा भने उम्मेदवारले तल्लो सदनको निर्वाचन क्षेत्रमा पाएको मतका आधारमा इलेक्टोरल कलेज बाँडिन्छ।
अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियामा तल्लो सदनका लागि निर्वाचित हुने ५३ र माथिल्लो सदनका लागि २ गरी ५५ इलेक्टोरल कलेज छ। राज्यमा जुन उम्मेदवारले लोकप्रिय मत पाउँछ, उसैले सबै इलेक्टोरल मत पाउँछ। अर्थात्, उक्त राज्यमा डेमोक्रेटिक उम्मेदवारले लोकप्रिय मत पायो भने ५५ इलेक्टोरल कलेज उसैको हुन्छ। रिपब्लिकन उम्मेदवारले पाए उसैको। यो नियम मेएन र नेब्रास्साबाहेक सबैमा लागू हुन्छ।