नयाँदिल्ली– स-साना कुरामा रिसाउने, मनले चाहेअनुसार काम नहुँदा चिडचिडाउने, आफ्नो कुरा नसुन्दा क्रोधित हुने, जोकोहीसँग रिसाएर कुरा गर्ने। यस्तो समस्या छ भने चिन्ताको विषय हो।
जसमा यी समस्या छन्, तिनलाई आफ्नो व्यक्तित्वकै हिस्सा सम्झेर नजरअन्दाज गर्नु हुँदैन। परिवारले त यस्ता समस्या बेवास्ता गर्लान्, समाजमा भने बाँच्न गाह्रो पर्छ।
यस्ता समस्यालाई आफ्नो व्यक्तित्वमा देखिएको चिडचिडापन सम्झेर तत्काल समाधानतिर लाग्नु नै उत्तम हुन्छ। किनकि, यी समस्याले आफ्नै स्वास्थ्य, व्यक्तित्व र पेशागत जीवनमा गम्भीर अवस्था सिर्जना गर्छन्।
नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित सन् २०१० को एक अध्ययनअनुसार बिना कारणको रिसले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। यदि यो अझ बढ्यो भने शारीरिक हिंसाको रूप नै लिन सक्छ।
किन बढ्छ चिडचिडापन ?
– स्ट्रेस या डिप्रेसनको कारण
– पारिवारिक समस्याका कारण
– कुनै काममा असफल भएकाले
– धुम्रपान गर्ने या मदिरा पिउनाले
– निद्रा पूरा नहुँदा
– थकान र भोकका कारण
– बाइपोलर डिसअर्डरका कारण
कसरी गर्ने नियन्त्रण ?
– जब रिस उठ्छ, गहिरो श्वास लिऊँ
– कुनै कुरामा तत्काल प्रतिक्रिया नदिई केहीबेर पर्खिऊँ अनि मात्र केही बोलौं
– योग या ध्यानको सहारा लिऊँ
– रिस र चिडचिडापनको कारण थकान हो भने केहीबेर आराम गरौं
– केही समय एकान्तमा बसौं
– आफ्नो रुचिको क्रियाकलापमा सहभागी होऊँ
– वाकिङमा निस्किऊँ, शारीरिक अभ्यास गरौं, नृत्य गरौं
– नकारात्मक विषय र व्यक्तिहरूबाट टाढा बसौं
– क्याफेइनको सेवन नगरौं। अर्थात्, चिया, कफीबाट टाढा बसौं
– तनाव हुनासाथ खाना बन्द नगरौं। र, अधिक खाना पनि नखाऔं।