काठमाडौं- २७ साउनमा भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने भ्रमणका लागि काठमाडौं उत्रिए। मिस्रीसँगै विदेश मन्त्रालयको उत्तर डिभिजन प्रमुख अनुराग श्रीवास्तवसहितका अधिकारी पनि आएका थिए। कांग्रेस-एमाले गठबन्धनको सरकार बनेपछिको भारतको पहिलो उच्चस्तरीय भ्रमण भएकाले उनको नेपाल आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
गत महिना मात्र भारतको विदेश सचिवमा नियुक्त भएका मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निम्तोमा नेपाल भ्रमणमा आएका हुन्। भारतमा नयाँ विदेश सचिव नियुक्त भएपछि छिमेकी देशको भ्रमण गर्ने प्रचलनअनुसार मिस्री नेपाल भ्रमणमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले स्वागत गरेकी थिइन्।
मिस्रीको नेपाल भ्रमण नियमित द्विपक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान परम्पराको निरन्तरता र भारतको ‘छिमेकी पहिलो’ नीतिप्रतिको प्रतिबद्धता रहेको भारतीय दूतावासले जनाएको छ। दूतावासले भनेको छ, ‘यो भ्रमण नियमित उच्चस्तरीय द्विपक्षीय आदानप्रदानको परम्पराअनुरूप छ र यसले भारतको ‘छिमेकी पहिलो’ नीतिप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ।’
यस्तै, भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच जनता-जनताबीचको सम्बन्ध रहेको र दुई देशबीचको सहकार्य पछिल्ला वर्षमा अझ सुदृढ भएको’ उल्लेख गरेको छ। मन्त्रालयले ‘विदेश सचिवको यो भ्रमण नेपाल-भारतको सम्बन्धलाई अझ विस्तार गर्ने अवसर बन्ने’ विज्ञप्तिमार्फत जनाएको छ।
किन नेपाल आए विदेश सचिव मिस्री ?
परराष्ट्र मन्त्रालयका अनुसार भारतमा नयाँ विदेश सचिव नियुक्त भएपछि छिमेकी देशको भ्रमण गर्ने प्रचलन छ। सोहीअनुसार गत महिना विदेश सचिव नियुक्त भएका मिस्रीले भुटानबाट आफ्नो विदेश भ्रमण शुरु गरेका थिए। यो उनको दोस्रो विदेश भ्रमण हो। मन्त्रालयका अनुसार दुई परराष्ट्र सचिवले नेपाल-भारत सम्बन्ध, दुई मुलुकका साझा हितका साथै दुई देशको सम्बन्ध विस्तारका विविध पक्षबारे छलफल गरेका छन्।
छलफलका लागि ‘विशेष विषयहरू’ भने नतोकिएको मन्त्रालयका प्रवक्ता सहसचिव अमृतबहादुर राई बताउँछन्। भन्छन्, ‘परिचयात्मक भ्रमणजस्तो मात्र हो। भारतको विदेश सचिव नियुक्त भएपछि वरिपरिका छिमेकी मुलुक भ्रमण गर्ने चलन छ। त्यति मात्र हो। छलफलका लागि कुनै विशेष विषय राखिएको छैन।’
कांग्रेस-एमाले गठबन्धनको सरकार बनेपछि भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण भएकाले विदेश सचिव मिस्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पूर्व राजदूत दिनेश भट्टराई भने उनको भ्रमणको खासै ठूलो कूटनीतिक अर्थ नरहेको बताउँछन्। विदेश सचिवको परिचयात्मक भ्रमण भए पनि दोस्रो भ्रमणमा रूपमा नेपाललाई चुन्नुले उनले नेपाललाई महत्त्व दिएको अर्थमा भने बुझ्न सकिने भट्टराई बताउँछन्।
भन्छन्, ‘कूटनीतिक अर्थ के हुने र ? परराष्ट्र सचिवले परिचयात्मक भ्रमण गरेका हुन्। भर्खर विदेश सचिव भएका, छिमेकीहरूमा बुझ्दै हिँडिरहेका छन्। नेपाल-भारतबीचको सम्बन्ध व्यापक छ। उनको भ्रमणले नेपाललाई महत्त्व दिएको अर्थमा बुझ्न सकिन्छ।’
नेपालमा मिस्रीको उच्चस्तरीय भेटवार्ता
काठमाडौं उत्रिनेबित्तिकै उच्चस्तरीय भेटवार्ता थालेका विदेश सचिव मिस्री आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। भेटवार्तामा ‘नेपालमा सबै क्षेत्रमा सहकार्य विस्तार गर्ने’ विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ।
राष्ट्रपति पौडेलले नेपाल र भारतबीच जनस्तरसम्मको सम्बन्ध रहेको र आपसीहित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बताउनुपर्ने बताएका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपतिले नेपालको विकासमा भारतको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। उनले नेपालमा जलविद्युत् विकासको प्रशस्त सम्भावना रहेको बताएका थिए। विदेश सचिव मिस्रीले ऊर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रमा काम गर्न भारत तयार रहेको बताएका थिए।
उनले आइतबार नै प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सोमबार उनले गृहमन्त्री रमेश लेखक, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्र मन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका थिए। सोमबार नै परराष्ट्र सचिव सेवा लम्सालसँग औपचारिक भेटवार्ता गरेका थिए।
शिष्टाचार भेटमा नेपाल आएका मिस्रीले राजनीतिक भेटवार्तासमेत गरेका छन्। आइतबार साँझ उनी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए। भेटमा दुई देशबीचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धिका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
आइतबार साँझ नै मिस्री पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ। यस्तै, सोमबार उनले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरी स्वदेश फर्किएका छन्।
को हुन् मिस्री ?
जम्मू-कश्मीरको श्रीनगरमा जन्मेका विक्रम मिस्री भारतको ३५औं विदेश सचिव हुन्। उनी भारतका लागि चीन, स्पेन र म्यानमारका राजदूत भइसकेका छन्।
यस्तै, उनीसँग भारतका तीनजना प्रधानमन्त्रीको निजी सचिव भएर काम गरेको अनुभव छ। उनी सन् १९९७ मा प्रधानमन्त्री आईके गुजरालको स्वकीय सचिव बनेका थिए। यस्तै, सन् २०१२ मा प्रधानमन्त्री डा. मनमोहन सिंहको स्वकीय सचिव थिए। र, सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको स्वकीय सचिव बनेका थिए।
सन् २०२१ मा चीनको राजदूतबाट फिर्ता भएपछि मिस्री उपराष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका थिए। र, १५ जुलाई २०२४ मा भारतको विदेश सचिव नियुक्त भएका हुन्।
नेपालस्थित भारतीय दूतावास तथा नेपालसँग सम्बन्धित उत्तरी डिभिजन (नेपाल र भुटान)मा काम गरेको अनुभव भने मिस्रीसँग छैन।
भारतबाट उच्चस्तरीय भ्रमण शुरु भएको हो ?
ओली सरकार बनेपछि विदेश सचिव मिस्रीको आगमन नै भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो। उनको भ्रमणपछि भारतबाट उच्चस्तरीय भ्रमण शुरु हुनसक्ने कूटनीतिका जानकारहरू बताउँछन्।
परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म कुनै उच्चस्तरीय भ्रमणको टुंगो लागिनसकेको बताएको छ। हालसम्म भारतबाट अन्य थप उच्चस्तरीय भ्रमणको तयारी नभएको प्रवक्ता राई बताउँछन्। भन्छन्, ‘अहिले त केही छैन। पछि हुनसक्छ।’
प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री ओलीले विदेश सचिव मिस्रीमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। भारतबाट भने प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो आइनसकेको बालुवाटार स्रोतले जनाएको छ। अब, मोदी पहिले नेपाल आउँछन् वा ओली पहिले भारत जान्छन्, त्यो भने हेर्न बाँकी छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकार परिवर्तन नभएको भए यसै महिना भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने उच्च सम्भावना थियो। तर, सरकार नै परिवर्तन भएपछि तत्काललाई त्यो सम्भावना टरेको छ।
विदेश सचिवको भ्रमण हुँदा वा नहुँदा पनि भारतबाट उच्चस्तरीय भ्रमणको सम्भावना सधैं रहने पूर्व राजदूत भट्टराई बताउँछन्। प्रधानमन्त्री ओलीले मोदीलाई निम्तो दिएर राम्रो काम गरेको उनको भनाइ छ। भन्छन्, ‘हाम्रो प्रधानमन्त्रीले मोदीलाई बोलाएर राम्रो गर्नुभयो। हाम्रोबाट सधैंभरि प्रधानमन्त्री हुनेबित्तिकै उता दौडिने हो। अब नयाँ प्रधानमन्त्री बन्दा उताबाट पनि आउनुप¥यो नि त। उहाँको थर्ड टर्ममा नेपालबाटै भ्रमण शुरु गरे भै हाल्यो।’
यस्तो छ नेपाल-भारत उच्चस्तरीय भ्रमणको सिलसिला
२ जेठ ०७९ मा भारतीय प्रधानमन्त्री मोदी हालसम्मको अन्तिमपटक नेपालको भ्रमणमा आएका थिए। हेलिकोप्टरमार्फत लुम्बिनी आएका उनी सोही दिन भारत फर्किएका थिए। नेपाल भ्रमणका क्रममा उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए भने मोदी र देउवाले मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गरेका थिए।
१७ जेठ ०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले प्रधानमन्त्री मोदी, राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीश धनखडलगायत उच्चस्तरीय भेटवार्ता गरेका थिए।
१९ पुस ०८० मा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका थिए। उक्त भ्रमणका क्रममा नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको थियो।
२४ पुस ०८० मा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महत भारतको गुजरातमा भएको भाइब्रेट गुजरात विश्व सम्मेलनमा भाग लिन गएका थिए।
१५ फागुन ०८० मा परराष्ट्र सचिव सेवा लम्साल आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत गएकी थिइन्। भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकर र तत्कालीन विदेश सचिव विनयमोहन क्वात्रा लगायतसँग भेटवार्ता गरेकी थिइन्।
यसै वर्षको २७ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोदीको सपथग्रहण समारोहमा भाग लिन भारत गएका थिए। उक्त भ्रमणमा प्रधानमन्त्री मोदीलगायत नवनियुक्त मन्त्रीहरूसँग भेटवार्ता गरेका थिए।
२६ असारमा परराष्ट्र सचिव लम्साल बिमस्टेक परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा सहभागी हुन भारत गएकी थिइन्। तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जानुपर्ने कार्यक्रममा सत्ता गठबन्धन परिवर्तन भएपछि सरकारले सचिव लम्साललाई पठाएको थियो।
२२ साउनमा उद्योगमन्त्री दामोदर भण्डारी बिमस्टेक बिजनेस समिटमा भाग लिन भारत गएका थिए। भारत भ्रमणका क्रममा उनले त्यहाँका उद्योग तथा वाणिज्यमन्त्री पीयूष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा १७ अर्ब एक करोड (सन् २०२० को मूल्यांकनअनुसार) लागतका अमलेखगञ्ज-चितवन र सिलगढी-झापा पाइपलाइन तथा झापा भण्डारणगृह भारतले आफ्नै खर्चमा बनाइदिने टुंगो लागेको उद्योग मन्त्रालयले जनाएको छ। अन्तिमपटक विदेश सचिव मिस्रीले दुईदिने नेपाल भ्रमण गरेका छन्।
हसिनाको पतनपछि छिमेकमा सम्बन्ध सुधारको पहल !
बंगलादेशमा आफ्नो पक्षमा रहेको शेख हसिना सरकार ढलेपछि भारत छिमेकी मुलुकसँगको सम्बन्ध सुधारको पक्षमा देखिएको छ, जसका लागि उसले ‘भ्रमण कूटनीति’ अख्तियार गरेको छ। बंगलादेश, श्रीलंका र भुटानबाहेक अरू छिमेकीसँग भारतको राम्रो सम्बन्ध नभएको अवस्थामा बंगलादेशको आफूअनुकुलको सरकार पनि ढलेको ‘बिजनेस स्ट्यान्डर्ड’ले उल्लेख गरेको छ।
बंगलादेशमा पनि आफू अनुकुलको सरकार ढलेपछि एक्लिँदै गएको भारत अब अरू छिमेकीसँग पनि सम्बन्ध सुधारको पक्षमा देखिएको विज्ञहरू बताउँछन्।
विदेश सचिव मिस्रीको नेपाल भ्रमणअघि विदेशमन्त्री एस जयशंकर ९ अगस्तदेखि माल्दिभ्सको तीनदिने भ्रमणमा गएका थिए। राष्ट्रपति मोहम्मद मुइज्जुसँगको भेटमा जयशंकरले दुवै देश र जनताको हितका लागि भारत-माल्दिभ्स सम्बन्धलाई गहिरो बनाउन नयाँदिल्ली प्रतिबद्ध रहेको बताएका थिए।
उनले माल्दिभ्सको ७ प्रतिशत जनसंख्या ओगटेका २८ टापुहरूमा ११ करोड अमेरिकी डलरको खानेपानी तथा सरसफाइ परियोजनाको उदघाटन र हस्तान्तरण पनि गरेका थिए। त्यसबाट भारतको माल्दिभ्ससँगको सम्बन्ध सुधारमा सहयोग पुग्ने नयाँदिल्लीको अपेक्षा छ।
नोभेम्बर २०२३ मा चीन समर्थक मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेयता यो नै भारतको पहिलो उच्चस्तरीय माल्दिभ्स भ्रमण हो। मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेयता भारत-माल्दिभ्स सम्बन्ध तनावमा छ। मुइज्जुकै निर्देशनमा माल्दिभ्सबाट भारत आफ्नो सेना फिर्ता गर्न बाध्य भएको थियो।
माल्दिभ्सका मन्त्रीहरूले मोदीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि भारत-माल्दिभ्स सम्बन्ध झनै बिग्रिएको थियो। दुई देशबीचको सम्बन्ध तनावमै रहेका बेला भारतीय प्रधानमन्त्री मोदीले लक्षद्वीपको भ्रमण गरे। लक्षद्वीप भारतीय टापु हो, जुन भारतीय पर्यटकका लागि माल्दिभ्सको विकल्पका रूपमा चित्रित गरियो। सामाजिक सञ्जालमा ‘ह्यासट्याग बाइकट माल्दिभ्स’को अभियान नै चलाएपछि माल्दिभ्सका तीन मन्त्रीको पद नै चैट भयो। भारतीय पर्यटकहरूले माल्दिभ्स भ्रमण रद्द गर्न थालेपछि राष्ट्रपति मुइज्जु तीन मन्त्रीहरूलाई बर्खास्त गर्न बाध्य भएका थिए।