बराहक्षेत्र– बराहक्षेत्र नगरपालिका-२ रेललाइन जोरखम्बाका ५५ वर्षीय काजीमान विश्वकर्माको मुटुको भल्भमा समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको छ।
मुटुमा समस्या देखिएपछि केही समयदेखि बीपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा भर्ना भइ उपचार गर्दै आएका विकको भल्भमा समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको उनकी श्रीमती रेणुले बताइन्।
उनलाई औषधीले पनि काम गर्न छोडेकोले चिकित्सकले तत्काल अप्रेसन गर्नुपर्ने बताएको रेणुले बताइन्। उनको उपचारमा करिब ४ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको छ।
आफ्नो घरबार सबै बेच्दा पनि ४ लाख नहुने भएकोले श्रीमानको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनले आग्रह गरेकी छन्। भन्छिन्, ‘उपचार नगरी घरमा लगेर अकालमा मृत्यु हुनुबाहेक अर्को विकल्प नभएकोले देश-विदेशमा हुने नेपालीहरूमा आर्थिक सहयोग उपलब्ध गराइ आफ्नो श्रीमानको जिवन रक्षाका लागि अपिल गर्छु।’
उनका छिमेकी तथा वडा नं २ का निवर्तमान वडाध्यक्ष हरिकृष्ण भटराई भन्छन्, ‘विरामी काजीमानको परिवारले ४ लाख रकम कहाँबाट ल्याउनु? ज्याला मजदुरीबाट आएको रकमले घर खर्च चलाउन र खानलाउन ठिक हुन्छ। आर्थिक रुपले कमजोर विपन्न परिवारका हो। ७ जनाको परिवार छ। आम्दानी र अन्य आयस्रोतको कुनै बाटो छैन।’
घरको आर्थिक अवस्था नाजुक भएपछि जेठी छोरी भारतको दिल्लीमा अर्काको घरमा ज्याला मजदुरी गर्दै बिरामी बाबुको औषधी उपचार र घरखर्च धान्दै आएकी छन्।
काजीमानको परिवारले सहयोग गर्न चाहनेलाई छोराको सम्पर्क नम्बर ९८२९३५०८३५ मा सम्पर्क गर्न अथवा सोही नम्बरको इसेवामार्फत सहयोग गर्न आग्रह गरेका छन्।
