काठमाडौँ । सबैभन्दा राम्रो कलाकार बन्दै ओस्कर पुरस्कार विजेता अभिनेता विल स्मिथकी पत्नी जेडा पिकाण्टेलाई लागेको रोगबारे पछिल्लो दुई दिनदेखि विश्वभर चर्चा भइरहेको छ ।
ओस्कर अवार्ड समारोहमा कमेडियन तथा प्रस्तोता क्रिस रकले विलकी पत्नीको टाउकोको मजाक बनाउँदै उडाइरहेका थिए । सोही क्रममा रिसले चुर भएका विलले मञ्चमै पुगेर क्रिसलाई थप्पड हाने ।
रकले जेडा पिकेण्टेको टाउकोको तुलना फिल्म ‘जीआई जेन’का कलाकार डेमी मुरसँग गरेका थिए । फिल्ममा मुरले आफ्नो टाउकोको कपाल फालेकी थिइन् ।
कार्यक्रममा रकले भनेका थिए, ‘आई लभ यु जेड, म जीआई जेन टु देख्दा अधैर्य छु ।’
जेडा पिकेण्टेलाई एलोपेसिया
जेडाले आफ्नो फेसबुक वाच सिरिज, रेड टेबल टकमा सन् २०१८ मा आफूलाई लागेको रोगको बारेमा भनेकी थिइन् । यस क्रममा उनले आफूलाई एलोपेसिया भएको बताएकी थिइन् ।
‘यसबारेमा कुरा गर्न साह्रै कठिन हुने गरेको छ,’ उनले उक्त भिडियोमा भनेकी थिइन्, ‘टाउकोमा कपडा किन बाँधेको भनेर सोधियो, किनभने मेरो कपाल झरिरहेको छ, जब यो पहिलोपटक मसँग भयो, म धेरै डराएको थिएँ, एक दिन म नुहाउँदै थिएँ र मेरो टाउकोबाट मुठ्ठीभर कपाल झरेको थियो, म सोच्न थालेँ कि म टौलो हुँदैछु ।’
‘कुनै दिन कपाल राख्ने वा नराख्ने भन्ने विकल्प मेरा लागि खास थियो, तर एक दिन मेरोसामू यो विकल्प नै भएन,’ उनले भनिन् । उनले पछिल्लोपटक डिसेम्बर २०२१ मा आफ्नो इन्स्टाग्राममा भिडियो राख्दै आफूलाई एलोपेसिया भएको बताएकी थिइन ।