Advertisement
पछिल्लो २४ घण्टामा जम्मा आठजनामा कोरोना संक्रमण पाइएको छ। दुई हजार ६५५ जनामा परीक्षण गर्दा आठमा मात्र कोभिड–१९ पजिटिभ पाइएको हो।
नेपालमा केही दिनयता दैनिक संक्रमण निरन्तर घट्दो क्रममा छ। पछिल्लो २४ घण्टाको आँकडा हेर्दा दैनिक संक्रमण शून्यमा झर्ने सम्भावना देखिन थालेको छ।
यस अवधिमा २१० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७५८ छ। पछिल्लो २४ घण्टामा पनि मृत्यु शून्य छ।
पछिल्लो २४ घण्टामा ४७ हजार ७०१ जनाले कोभिडविरुद्ध खोप पाएका छन्। त्यससँगै नेपालमा खोप लगाउनेको संख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। तीमध्ये ७५.२ प्रतिशत अर्थात दुई करोड १९ लाख ६१ हजार ९०५ जनाले पहिलो डोज खोप लिएका छन्। पूर्ण डोज खोप लिनेको संख्या ६७.८ प्रतिशत अर्थात् एक करोड ८९ लाख १६ हजार ४०० छ।