काठमाडौँ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिनको भ्रमणका लागि आज साँझ काठमाडौँ आउँदै छन् । पाकिस्तानबाट सुरु भएको उनको भ्रमण अफगानिस्तान, भारत हुँदै नेपाल आउने तय भएको हो ।
चीनकै प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा विदेश मन्त्रालयका केही सदस्य लिएर उनी नेपाल आउने भएका हुन् । नेपाल भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङबीच शनिबार द्विपक्षीय वार्ता हुनेछ । मन्त्री खड्काले वाङ र चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा शनिबार दिवा भोजसमेत आयोजना गरेका छन्
वाङको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीच पुराना सम्झौतालाई कार्यान्वयनमा लाने गरी तयारी भएको छ । दुई देशबीच करिब एक दर्जन सम्झौता गर्ने गृहकार्य भइरहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्झौता गर्ने विषयमा नेपालस्थित दूतावाससँग समन्वय भइरहेको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतका परियोजना अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ गर्न आग्रह गरेको छ ।
नेपालले चिनियाँ पक्षसँग नाकामा भएको आवातजावतको समस्या, चीनमा एमबिबिएस पढेर इन्टर्न गर्न नपाएका विद्यार्थीको समस्याबारे छलफल गर्ने भएको छ । यस्तै, नेपालले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गरेको विषयमा समेत छलफल हुने भएको छ ।
विदेशमन्त्री वाङ साँझ ५ बजे आउने कार्य तालिका भए पनि दुई घण्टा चाँडो अर्थात ३ बजे नेपाल आइपुग्ने भएका छन् ।