कैलाली- बढ्दो गर्मी र खेतीपातीको सिजनका साथै नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ। अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तका अनुसार आवश्यकमात्रामा रगत सङ्कलन नहुँदा समस्या उत्पन्न भएको हो। चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर रगत लिने गरेका छन्।
अति आवश्यक भएकालाई रगत पुर्याइएको पन्तले जानकारी दिए। रगतको व्यवस्थापन गर्न नसक्दा अति आवश्यक बाहेकका शल्यक्रियाको समय सार्नुपर्ने अवस्थासमेत सिर्जना भएको पन्तले बताए।
केन्द्रमा दैनिक ४०/४५ युनिट रगतको माग हुने गरेको छ भने रक्तदान र केन्द्रमा नै रक्तदाता पुगेर दिने रगत १८/२० युनिट मात्र हुने गरेको उनले जानकारी दिए। रगत अभावका कारण बिरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ।
प्रदेशकै केन्द्रमा रहेकाले यहाँ आउने दुर्घटनाका घाइते, अस्पतालमा हुने प्रसुतिको शल्यक्रिया, सिकलसेलका बिरामीका लागि बढी रगत आवश्यक पर्दछ। यहाँका प्रादेशिक अस्पताल लगायत आधा दर्जन निजि अस्पतालले पनि शल्यक्रिया र अन्य उपचारका क्रममा बिरामीलाई रगत चढाउने गर्दछन्।
जेठ महीनादेखि साउनसम्म रगतको चरम अभाव हुने गर्दछ । मानिसको खेर जाने रगतले जीवन बचाउन सकिने भएकाले रक्तदानमा सहभागी भई सहयोग पुर्याइदिन नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले आज एक सुचना नै जारी गर्दै संघसंस्था र स्वयंसेवी रक्तदाताहरुलाई रगत दान गरिदिन आग्रह गरेको छ ।
प्रदेशकै राजाधानी भएका कारण उपचारका लागि अन्य जिल्लाबाट समेत उपचार गराउन आउने बिरामीको सङ्ख्या उच्च रहेकाले रगतको माग बढी रहेको स्वयंसेवी रक्तदाता दीपक उपाध्यायले बताए ।
आफुलाई समेत दैनिक ८/१० कल फोन रगतकै लागि आउने गरेको बताउदै १०५ पटक रक्तदान गरेका उपाध्यायले अहिलेसम्म जेनतेन रगतको म्यानेज गरिरहेको बताए ।
