काठमाडौँ । बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुने छ।
बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए।
उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्ने भएका छन्। बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य रहेका छन्।
जसमा नेकपा एमालेका ४३, नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना रहेका छन्।