नयाँदिल्ली- युरोपियन हर्ट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार चिनीको विकल्पमा प्रयोग भइरहेको आर्टिफिसियल स्विटनर जाइलिटोलले हृदयाघातको खतरा बढाएको छ।
उक्त पदार्थ बिस्कुट, चकलेट र केकमा पनि प्रयोग गर्ने गरिएको छ। जुलाई २०२३ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिनीको विकल्पमा प्रयोग भइरहेको आर्टिफिसियल स्विटनर एस्पार्टेमले टाइप-२ डाइबिटिज र हृदयाघातको खतरा बढाएको बताएको थियो।
डब्लूएचओको एजेन्सी फर रिसर्च अन क्यान्सरले यस्ता पदार्थबाट एस्पार्टेम क्यान्सरको पनि खतरा बढाएको बताएको थियो। त्यसपछि आर्टिफिसियल स्विटनर पनि प्रयोग नगर्न संगठनले चेतावनी दिएको थियो।
भारत पञ्चाबमा २ महिनाअघि १० वर्षकी बालिकाको बर्थडे केक खाएका कारण मृत्यु भएको थियो। पछि उनको शरीर जाँच गर्दा त्यसको कारण आर्टिफिसियल स्विटनर रहेको पत्ता लागेको थियो।
भारतमा मात्र ३८ प्रतिशत जनसंख्याले आर्टिफिसियल स्विटनर उपभोग गर्दै आएको छ। एक अध्ययनअनुसार संसारमा बर्सेनि १२० करोड किलो आर्टिफिसियल स्विटनर प्रयोग हुने गरेको छ। सन् २०२८ सम्ममा यसको प्रयोग १४५ करोड किलो पुग्ने अनुमान छ।
भारतको शहरी इलाकामा बसोबास गर्ने ३८ प्रतिशत मानिसले आर्टिफिसियल स्विटनर प्रयोग गर्छन्। डब्लूएचओका अनुसार संसारका ४२ प्रतिशत मानिस डाइबिटिजबाट पीडित छन्। तिनै बिरामीले चिनीभन्दा सुरक्षित हुने ठानेर आर्टिफिसियल स्विटनर उपभोग गर्छन्। जब कि, उनीहरूका लागि यो झनै हानीकारक छ।
ख्यातिप्राप्त चिकित्सक डा. ज्यासन फङले आफ्नो पुस्तक ‘द डाइबिटिज कोडः प्रिभेन्ट एन्ड रिभर्स टाइप-२ डाइबिटिज नेचुरल्ली’मा आर्टिफिसियल स्विटनर्सलाई मिथ बताएका छन्। युनिभर्सिटी अफ क्यालिफोर्नियाका इन्डोक्रोनोलोजी विभागका प्राध्यापक डा. रोबर्ड लस्टिगले आफ्नो पुस्तक ‘फ्याट चान्स’मा यसलाई स्वास्थ्यका लागि हानिकारक बताएका छन्।
क्लिभल्यान्ड क्लिनिकमा कार्डियोभास्कुलर एवं मेटाबोलिक साइन्सेजका चेयरपर्सन डा. स्टेनली हेजेनका अनुसार धेरै प्याकेज्ड फुडमा आर्टिफिसियल स्विटनर मिलाइएको हुन्छ। त्यसबाट ब्लड क्लटिङको खतरा बढेको उनको भनाइ छ।
खासमा, सुगरका रोगीले खाने सुगर फ्री वस्तुहरू सबै आर्टिफिसियल स्विटनर्सबाटै बनेका हुन्छन्। हेल्थ जर्नल ‘हेडेक’मा प्रकाशित रिपोर्टअनुसार आर्टिफिसियल स्विटनर्सले टाउको दुखाइ, डिप्रेसन र बेहोसीको समस्या निम्त्याउँछ। यस्तो समस्या पछिल्ला दिनमा स-साना बालबालिकामा पनि देखिएको छ। यस्ता पदार्थले गुड गट ब्याक्टेरियालाई बढ्न नदिई हानीकारक गट ब्याक्टेरिया बढाउन मद्दत गर्छन्। र, शरीर सुन्निने, रोग प्रतिरोधक क्षमतामा कमी, माइग्रेन र एन्जाइटीको समस्या निम्त्याउँछन्।