कैलाली– कैलालीको धनगढीस्थित ओम प्यालेसमा आज र भोलि हुने दुईदिने श्रमाधान राेजगार मेलाको उदघाटन भएको छ। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका हुन्। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले पूर्वको कोशीबाट शुरु गरेको श्रमाधान मेला यहि जेठ २७ र २८ गते धनगढीमा संचालन हुदैछ।

श्रमाधान मेलाको उदघाटन गर्दै मन्त्री भण्डारीले यस्ता कार्यक्रमले प्रत्यक्ष रोजगारीको सिर्जना हुने बताए। उनले श्रमाधान मेलाले रोजगारीको खोजिमा रहेकाहरू र कामदारको खोजीमा रहेकाहरूको रोजगारदाताहरूसंग प्रत्यक्ष सम्पर्क हुनेहुँदा धेरै भन्दा धेरैजनाले सोझै रोजगार पाउने बताए।

त्यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफुले काठमाडौं जादा त्यहा काठमाडौं महानगरपालिकाले टुँडिखेलमा आयोजना गरेको रोजगार मेलाको अवलोकन गरेको बताउदै यस्तै मेला धनगढीमा समेत आयोजना गर्न आग्रह गरेको बताए।
उनले धनगढी उपमहानगरपालिकाले खुलामञ्चमा बेरोजगार युवाहरू लक्षित रात्रीकालिन बजारको परिकल्पना गरेको बताउदै तालिम पश्चात् ती युवाहरूलाई खुलामञ्चमा व्यवसाय संचालनका लागि सहयोग गर्ने बताए।

सूदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय भन्दा धेरैलाई राेजगारीकाे अवसर आएकाे छ। सरकारले आयाेजना गरिरहेकाे श्रमाधान राेजगार मेलामार्फत विभिन्न क्षेत्रका राेजगारदाताले अहिलेसम्म २ हजार ६६४ कामदार माग गरेका नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका महासचिव छत्रबहादुर बमले बताए। राेजगारदाताबाट कामदार माग हुने क्रम बढ्दाे क्रममा रहेकाे उनले बताए।

त्यस्तै, करिब ५ हजार भन्दा बढीले रोजगारको लागि आवेदन दिएको बताउदै महासचिव बमले भोलिसम्ममा यो संख्यामा समेत वृद्धि हुने बताए। उनले सरकारले ताेकेकाे न्यूनतम तलबभन्दा बढी दिनेगरी कामदार आवश्यक रहेकाे भनेर राेजगारदाताले माग गरेको बताए।
राेजगारीकाे खाेजीमा रहेका व्यक्तिहरूले आफ्नाे सीप र क्षमता अनुसारकाे राेजगारीका लागि आवेदन भर्न सकिने बताउदै महासचिव बमले सुदूरपश्चिमस्तरीय श्रमाधान राेजगार मेलामा सरकारी निकायका १० र राेजगारदाताका २५ गरी ३५ स्टल रहेको बताए।
