सिरियाली राष्ट्रपति बसर अल–असदले सन् २०११ मा सिरियामा गृहयुद्ध शुरु भएयता पहिलोपटक शुक्रबार कुनै अरब राष्ट्रको भ्रमण गरेका छन्।
यूएई अमेरिकाको सबैभन्दा नजिकको मित्र हो। कुनै समय असद सरकारविरुद्ध संघर्षरत विद्रोहीलाई अमेरिकासँगै अरब मुलुकहरूले सहयोग गरेका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार दुबई पुगेपछि असदले दुबईका प्रधानमन्त्री तथा शासक शेख मोहम्मद बिन रसिद अल मकतुम र अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नह्यानसँग भेटवार्ता गरे। भेटघाटमा दुई देशका नेताले द्विपक्षीय सम्बन्धबारेमा छलफल गरेका थिए।
यूएईको सरकारी समाचार एजेन्सी डब्लूएएमको समाचारअनुसार भेटमा अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल–नाह्यानले सिरिया अरब सुरक्षाको लागि आवश्यक हुने आधारभूत स्तम्भ भएको यूएईले उसलाई थप बलियो बनाउन चाहेको बताएका थिए।
डब्लूएएमले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियोमा असद, शेख मोहम्मदसँग मुस्कुराउँदै कुराकानी गरिरहेको देख्न सकिन्छ।
अमेरिकाको कडा प्रतिक्रिया
सिरिया राष्ट्रपतिको यूएई भ्रमणलगत्तै अमेरिकाले एक विज्ञप्ति जारी गरी भ्रमणको निन्दा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले यूएईको सिरियासँग सुध्रिँदो सम्बन्धलाई ‘अत्यन्तै निराशाजनक’ बताएको छ र नयाँ विकासक्रममार्फत असदलाई वैधानिकता दिन खोजेको आरोप लगाएको छ।
सिरियाली गृहयुद्ध चलिरहेको समयमा असदले विद्रोहीहरू विरुद्ध लड्न मद्दत गर्ने उनका निकट सहयोगी मुलुकहरू इरान र रुसको मात्र भ्रमण गरेका थिए। मार्च २०११ बाट सिरियामा शुरु भएको विद्रोहको ११ वर्षपछि बल्ल असदले इरान र रुसबाहेकका मुलुकको भ्रमण गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले असदसँगको सम्बन्धलाई सामान्य बनाउने प्रयासको वासिङ्टनले विरोध गरिरहने बताए।
उनले असदविरुद्धको विद्रोहमा लाखौंको ज्यान गएको र सो द्वन्द्वले राजनीतिक निकास नपाएसम्म सिरियामाथिको प्रतिबन्ध फुकुवा नगर्ने बताए। ‘हामी ती राष्ट्रहरूलाई असद शासनसँग बढ्दो सहयोगलाई विचार गर्दै विगत दशकमा भएका भयानक अत्याचारहरू हेर्न अनुरोध गर्छौं,’ प्राइसले भनेका छन।
वार्तामा यूएई र सिरियाबीच के कुरा भयो?
गत वर्ष नोभेम्बरमा यूएईका विदेशमन्त्री स्वयम् असदलाई भेट्न दमास्कस गएका थिए। त्यसबेला पनि सिरियासँगको अरब विश्वको सुध्रिँदो सम्बन्धप्रति वासिङ्टनले चिन्ता जाहेर गरेको थियो।
पछिल्लो समय बाइडेन प्रशासनले रियाद र अबुधाबीमाथि कम रुचि दिन थालेको छ। अमेरिकाले अरब मुलुकले तिनको क्षेत्रीय प्रतिद्वन्द्वी इरानबारे व्यक्त गर्ने चिन्ता र चासोलाई पनि बेवास्ता गर्दै आएको छ।
अमेरिकाले यमनमा अरब मुलुकहरूले चलाइरहेको युद्धमा समर्थन दिन बन्द गरेको छ भने खाडी मुलुकलाई अमेरिकी हतियार किन्नको कैयौं सर्त अघि सारेको छ।
डब्लूएएमले दुवै पक्षले ‘सिरियाको क्षेत्रीय अखण्डता जोगाइराख्ने र विदेशी सेनालाई त्यस भेगबाट बाहिर राख्ने’ कुरामा जोड दिएको बताएको छ। हाल सिरियामा रुस, इरान, टर्की र अमेरिकाका सेना तैनाथ छन्।
डब्लूएएमका अनुसार दुई पक्षले सिरियाका विभिन्न चुनौतीसँग जुधिरहेका जनतालाई शान्तिपूर्ण निकास दिनेबारे पनि चर्चा गरे। यो भेटघाटको महत्त्वबारे शेख मोहम्मदले भने, ‘यो भ्रमणले सिरिया र यो सम्पूर्ण क्षेत्रको शान्ति र स्थिरताको लागि मार्ग प्रशस्त गर्नेछ।’
के कुराले अरब राष्ट्रलाई असदप्रति नरम बनायो?
यो भ्रमणले अरब विश्व सिरियासँग पुनः वार्ता गर्न चाहन्छ भन्ने स्पष्ट संकेत गरेको छ। अरब राष्ट्र र असदबीच गत वर्षदेखि नै वार्ता शुरु भएको थियो।
११ वर्षअघि सिरियामा गृहयुद्ध शुरु हुँदा उसलाई २२ सदस्यीय अरब लिगबाट निकालिएको थियो। खाडीका सुन्नी बहुसंख्यक मुस्लिम देशहरूको विश्वासमा सिरियाली गृहयुद्धका क्रममा सो सिया बहुल मुस्लिम राष्ट्रमा इरानको प्रभाव निकै बढेको थियो।
विश्लेषकहरूका अनुसार अरब राष्ट्रलाई असदसँगको सम्बन्ध नवीकरण गर्न प्रेरित गर्ने विभिन्न राजनीतिक र आर्थिक कारक छन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण कारण सिरियामा बढेको इरान र टर्कीको प्रभावलाई कम गर्नु रहेको बताइन्छ।
सिरियाली गृहयुद्धका क्रममा लाखौं मानिस मरे भने देशको झण्डै आधा जनसंख्या विस्थापित भयो। युद्धकै कारण सिरियाको ठूलो भाग ध्वस्त भयो र सो देशको पुनर्निर्माणका लागि अर्बौं डलर आवश्यक देखिएको छ।
सन् २०११ मा सिरियाका विभिन्न शहरमा शुरु भएका प्रदर्शनहरूलाई अरब मुलुक र पश्चिमी देशहरूले सहयोग गरे। बदलामा असदले ती प्रदर्शन र त्यसपछि शुरु भएको विद्रोह दबाउन रुस र इरानको सैन्य सहयोग लिए।
तर, अहिले आएर असद अरब विश्वबाट नटाढिऊन् भनेर अरब मुलुकहरू उनलाई रिझाउन शुरु गरेका छन्।