नयाँदिल्ली- चढ्दो गर्मीमा हिट स्ट्रोक हुने खतरा अधिक हुन्छ। त्यसैले गर्मीयाममा आफूलाई बचाउन आफैंले लाभदायी पेयमा जोड दिनु आवश्यक हुन्छ।
यस्ता केही खाद्य पदार्थ छन्, जसले गर्मीको प्रभावलाई प्राकृतिक रूपमै कम गर्छन्। र, गर्मीसँग लड्न शरीरलाई मद्दत पुग्छ।
तिनै खाद्य पदार्थमध्येमा पर्छ, काँचो आँपबाट बनाइने पेय पदार्थ। हिन्दीमा ‘आम पना’ भनिने त्यस्तो पेयमा भिटामिन-सी र ए पाइन्छ। त्यसले फ्री र्याडिकल्स र एन्टी-अक्सिडेन्टबीच असन्तुलनका कारण शरीरमा उत्पन्न हुने तनाव कम गर्न यो निकै उपयोगी हुन्छ। ‘आम पना’मा प्रशस्त तरल पदार्थ हुने भएकाले शरीरलाई हाइड्रेटेड राख्न मद्दत मिल्छ। अझ, चिनी नघोलिएको ‘आम पना’ ज्यादै लाभदायक हुन्छ।
यस्तै, कालो चनाको सातु हालेर बनाइएको पेय पदार्थ पनि गर्मीमा लाभदायक हुन्छ। यसमा प्रशस्त प्रोटिन हुन्छ। त्यसबाट शरीरमा एमिनो एसिड पनि प्राप्त हुन्छ। र, त्यसले गर्मीमा मांशपेशीहरूमा हुने क्षति रोक्छ मद्दत गर्छ।
मोहीले पनि गर्मी भगाउन अति मद्दत गर्छ। नियमित मोही पिउँदा पेटमा आराम पुग्छ। यसमा प्रशस्त प्रोबायोटिक्स हुन्छ। र, पाचन प्रणालीमा पनि लाभ दिलाउँछ।
यस्तै, गर्मीका लागि नरिबल पानी पनि अति उपयोगी हुन्छ। यसमा पोटासियम, सोडियम र म्याग्नेसियमजस्ता इलेक्ट्रोलाइट हुन्छन्। ती तत्त्वले शरीरमा तरलता सन्तुलित राख्न मद्दत गर्छन्। र, शरीरलाई डिहाइड्रेसन हुनबाट बचाउँछन्।
भास्कर डट कमबाट