काठमाडौँ । भूमिगत राजनीति छाडेर एक वर्षअगाडि शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीलाई चुनावतिर मोड्ने कसरत सुरु गरेका छन् ।
तर, आसन्न स्थानीय तहको चुनावमा भाग लिने–नलिने विषयमा पार्टीमा विवाद देखिएको छ ।
शुक्रबारदेखि कपिलवस्तुमा सुरु केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनावमा भाग लिने गरी राजनीतिक प्रस्ताव पेस गरे पनि स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यले विरोध जनाएका छन् ।
शुक्रबार विप्लवले राजनीतिक प्रतिवेदन पेस गरेपछि शनिबार केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरु गरेका थिए ।
कतिपय केन्द्रीय सदस्यले महासचिव विप्लवको प्रस्तावलाई समर्थन गरेका छन् भने कतिपयले यस्तो प्रस्तावले पार्टी संसदीय भासमा फासिने भन्दै फिर्ता लिन माग गरेका छन् । विप्लवले पेस गरेको राजनीतिक प्रतिवेदनमा स्थानीय तह निर्वाचन उपयोग गरेर जानुपर्ने उल्लेख छ ।