काठमाडौं- गर्मी मौसममा शीतल र सहज कपडा लगाउनुपर्छ। खोजेजस्तो सहज कपडा भेट्न गाह्रो हुन्छ। त्यसमाथि पार्टीमा लगाउने ड्रेस रोज्नुपर्दा समस्या हुन सक्छ। अझ दिउँसोको पार्टी हुँदा झनै समस्या हुन्छ।
समय अभावका कारण जन्मदिनको पार्टी तथा गेट-टुगेदर कार्यक्रम पनि दिउँसो नै गर्नुपर्ने हुन सक्छ। दिउँसोको गर्मी समयमा स्मार्ट देखिनेगरी कस्ता कपडा चयन गर्न सकिन्छ त ?
निलेन्थ
हामी दिउँसोको पार्टीमा जाँदा निलेन्थ भएका वानपिस लगाउन सक्छौं। यो विभिन्न डिजाइनमा पाउन सकिन्छ। आफ्नो शारीरिक वनावटअनुसारको, खोजेको रङमा रेडिमेड नपाइन पनि सक्छ। यस्तोमा हामी फेसन डिजाइनरकहाँ जान सक्छौं।
पार्टीमा जाँदा अरूभन्दा फरक देखिने सबैको चाहना हुन्छ। त्यसका लागि डिजाइनरकहाँ गएर तयार पारेको कपडा प्रयोग गर्नु राम्रो हुन्छ। यो अरूसँग मिल्ने अथवा नराम्रो हुने सम्भावना हुँदैन।
रेडिमेड पहिरन रोज्दा पनि आफ्नो शारीरिक बनावटअनुसार रोज्न सकिन्छ। दिउँसोको पार्टीमा नटल्किने कपडा रोज्नुपर्छ। कटनको कपडा रोज्नु राम्रो हुन्छ। यदि शरीर मोटो छ भने अफ सोल्डर, भि-नेक, कट वे लाइन डिजाइन राम्रो हुन्छ। पातलो शरीर भए फिटिङ लगाउनु नै राम्रो हुन्छ।
ए लाइन कट
ए लाइन कट निलेन्थ वान पिस पनि राम्रो हो। यो जस्तो फिगर भएकालाई पनि राम्रो देखिन्छ। स्मार्ट लुक्स दिनका लागि यो डिजाइन पर्फेक्ट हो। विशेषगरी, शरीर मोटो भएकाको लागि अझ राम्रो हुन्छ। ए कट डिजाइन हुने भएकाले यो लगाउँदा पेट देखिँदैन।
धेरै कलर टोन नभएको
आइक्याची कलरको प्रयोग गर्नुपर्छ। गर्मी मौसम भएकाले ह्वाइट, बेबी पिंक, लिभेन्डर, लाइट स्काई ब्लुलगायत कपडाको प्रयोग गर्न सकिन्छ। अलि मोटो शरीर भएकाले डार्क टोनको कलर प्रयोग गर्न सकिन्छ। तर, दुई कलर टोन मात्रै प्रयोग गर्नु राम्रो हुन्छ। बढी कलर अर्थात् रंगीचंगी कलर मिलाउँदा राम्रो नदेखिन सक्छ।