काठमाडौं- मेथी भान्सामा नियमित प्रयोग हुने मसला हो। मेथीलाई बहुगुणी खाद्यपदार्थका रूपमा लिने गरिन्छ।
यसलाई खाँदा स्वास्थ्यमा र प्रयोग गर्दा मुहार एवं कपाललाई चमक दिन्छ। मेथीका धेरै फाइदा छन्। यसलाई कपाल सुन्दर र चम्किलो बनाउन प्रयोग गर्न सकिन्छ। मेथीले चाया हटाउन पनि मद्दत गर्छ।
कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ। यसको पेस्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ। साथै, मुलायम र चम्किलो पनि देखिन्छ।
चायाबाट मुक्ति
यदि तपार्इंलाई चायाको समस्या छ भने मेथी तपार्इंका लागि अचुक औषधि बन्छ। सामान्यतया सुक्खापनले चाया पर्ने गर्छ। टाउकाको छाला सुक्खा भयो भने कपाल पनि रुखो हुन्छ, जसले गर्दा सौन्दर्य हराएर जान्छ।
त्यस्तो अवस्थामा मेथी सरल घरेलु उपाय हो। मेथीमा दही मिसाएर पेस्ट बनाउनूस् र यसलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुस्। अलिअलि मसाज गर्दा पनि राम्रो मानिन्छ। यसरी लगाएको करिब ३० मिनटपछि सफासँग पखाल्नुहोस्। तपार्इंको कपालमा भएको चाया सफा हुन्छ। साथै, छाला र कपाललाई पनि सुन्दर बनाउँछ। कम्तीमा महिनामा तीनपटक यो पद्दति अपनाउनुभयो भने चायाबाट हुने समस्याबाट मुक्ति पाउनु हुनेछ।