नयाँदिल्ली- धेरैले भन्छन्, पीरो नखाऊ अल्सर हुन्छ। मसालेदार खाना नखाऊ पेटमा घाउ हुन्छ। तर, त्यस्तो होइन। पीरो र मसला बढी खाँदा होइन, पेनकिलर र एन्टिबायोटिक्सको बढी प्रयोगका कारण अल्सर हुने चिकित्सकहरू बताउँछन्।
के चाहीं सत्य हो भने खुर्सानी मिसिएको मसला ज्यादा खाँदा एसिड रिफ्लेक्स हुन्छ। त्यसले अपच गराउँछ र पेटमा ग्यास भरिन्छ। तर, त्यसबाट अल्सर हुँदैन।
अल्सर भइसकेका मानिसमा भने मसालेदार खानेकुराले त्यसलाई बढाउन भने मद्दत गर्छन्। तर, मसला अल्सरको पहिलो कारण होइन। बरु मसलाको शरीरलाई न्यानो बनाउने कम्पाउन्ड क्याप्साइसिनले अल्सर गराउन ब्याक्टेरियालाई मारेर उल्टै हाम्रो शरीरलाई स्वस्थ बनाउन सहयोग गर्छ।
अल्सरको प्राथमिक कारण हो- एच. पाइलोरी नामक ब्याक्टेरियाबाट हुने इन्फेक्सन। यस्तै, एस्पिरिन, ब्रुफिन, एन्टिबायोटिक्सजस्ता ननस्टेराइडल एन्टिइन्फ्लेमेटरी औषधिले अल्सर गराउने जोखिम अत्यधिक हुन्छ। रिसर्चगेटको अध्ययनअनुसार संसारका १० प्रतिशत मानिसमा जिन्दगीमा एकपटक अल्सरको समस्या देखिन्छ।
पेटको अल्सर भनेको ग्यास्ट्रिक अल्सर हो। यो पेटको भित्री पत्रमा घाउ हुँदा हुन्छ। पेटको अल्सरका कारण जलन र दुखाइ महशुस हुन्छ। पेटको अल्सर उपचारबाट सहजै निको हुन्छ। तर, समयमै उपचार नभएमा त्यसले गम्भीर रूप लिन सक्छ। कतिपय अल्सरमा भने निरन्तर आन्तरिक रक्तश्राव हुन्छ र धेरै रगत खेर जान्छ।
पेटको अल्सरमा छाती र नाइटोको बीचमा जलन र दुखाइ हुन्छ। पेट खाली रहँदा त्यस्तो दुखाइ ज्यादा हुन्छ। त्यस्तो दुखाइ केही मिनटदेखि केही घण्टासम्म पनि हुन सक्छ। त्यस्तो लक्षण देखिएमा तत्काल चिकित्सकसँग सम्पर्कमा पुग्नुपर्छ।
पेटको अल्सरमा लगातार माइल्ड ब्लिडिङले हामीलाई बढी परेशान गर्न सक्छ। त्यसले एनिमिया पनि उत्पन्न गराउन सक्छ। गम्भीर प्रकारको ब्लिडिङले मृत्यु पनि निम्त्याउँछ।
यस्तै, गहिरो प्वाल पार्ने प्रकारको अल्सर पेटको भित्तामा हुन्छ। पेटको भित्ता नै पूरै प्वाल पार्ने जोखिम कमै हुन्छ। यसको समयमै उपचार नभएमा पेटमा एसिड र ब्याक्टेरिया मिलेर गम्भीर संक्रमण हुन सक्छ। त्यस्तो संक्रमण हाम्रो ब्लड स्ट्रिममा फैलिएर सेप्सिसको कारण पनि बन्न सक्छ।
मानिसले अलिकति पनि रुघाखोकी लाग्दा चिकित्सकको सिफारिसबिनै मेडिकल पसलबाट एन्टिबायोटिक्स या पेनकिलर किनेर खाइहाल्छन्। त्यो खतरनाक अभ्यास हो। अमेरिकी हेल्थकेयर प्रोभाइडर्सका अनुसार करिब ९९ प्रतिशत पेटको अल्सरको मुख्य कारण यही हो।
क्लिभल्यान्ड क्लिनिकका अनुसार एच. पोइलोरी ब्याक्टेरियाले संसारको आधा जनसंख्यालाई नोक्सानी पुर्याउँछ। उक्त ब्याक्टेरिया हामी सबैको पेटमा हुन्छ। सोही ब्याक्टेरियाले मौलाउने अवसर पायो भने पेटमा घाउ बनाइदिने हो।
यदि हामी सीधै मेडिकल पसलबाट औषधि ल्याएर खाइरहेका छौं भने त्यसले हाम्रो पेटलाई रक्षा गरिरहेको भित्री वाललाई खराब बनाइदिन्छ। त्यसका कारण पेटमा घाउ हुन्छ र ब्याक्टेरियल इन्फेक्सनको खतरा बढाउँछ।
ऋषिकेश एम्सका अंकोलोजी विभागकी डा. अनु अग्रवाल भन्छिन्, ‘हामी खाना खाँदै गर्दा आफ्नो जिब्रोको स्वाद मात्र विचार गर्छौं। तर, हामीले त्यसको पेटमा कस्तो असर पर्ला भनेर सोच्दैनौं। जब कि, भोजनका साथ सबै रियाक्सन पेटमै गएर हुन्छ।’
उनका अनुसार अल्सरका बिरामीले थोरै तर घरिघरि खाना खाइरहनुपर्छ। अल्सरका कारण पेटलाई एकसाथ धेरै खाना पचाउन मुश्किल हुन्छ। आफ्नो खानामा दहीलाई सामेल गराउनूस्। त्यसबाट खाना पचाउन सहज हुन्छ। र, पेटमा हेल्दी गट ब्याक्टेरिया पनि बढ्छन्। गट ब्याक्टेरियाले स्वास्थ्यलाई हेल्दी अवस्थामा ल्याउन मद्दत गर्छन्। यदि स्वस्थ व्यक्तिले निरन्तर दही खाने गरेको छ भने पेटमा अल्सर हुने सम्भावना शून्य बराबर हुन्छ।