काठमाडौँ । लागु औषध खैरो हेरोइन कारोबारमा संलग्न १२ जनालाई प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।
मुलुकका विभिन्न क्षेत्रमा लागु औषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उपत्यकामा लागु औषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोज तलासमा खटिएको प्रहरी टोलीले उनीको साथबाट १९१.७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख छ ।
पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका ७ का ३३ वर्षीय विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाल छन् ।
यस्तै, नगरकोटीसँग लागु औषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका ३० वर्षीय देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा मोरङको बेलबारीकी ३१ वर्षीय कविता गुरुङ र काभ्रेपलान्चोकका ३३ वर्षीय मिलन लामा पनि पक्राउ परेका छन् । गुरुङलाई लागुऔषध उपलब्ध गराउने सुनसरीका २२ वर्षीय मिथुनकुमार याद र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको छ ।
यस्तै, सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौँबाट पक्राउ गरिएको छ । उनीहरु सबैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।