काठमाडौं- मस्तिष्कघात ३ किसिमका हुन्छन्। पहिलो हो- दिमागले पाउनुपर्ने रगतको नली एक्कासी बन्द हुन्छ। रगतको नली नै ब्लक भयो भने कोशहरू मर्दै जान्छन्, जसलाई स्केमिक स्ट्रोक भनिन्छ।
दोस्रो- हेमोराजिक स्ट्रोक हुन्छ। कुनै कारणवस रगतको नलीको भित्ता फुटेर दिमागमा वा दिमागको वरिपरि पानी खेल्ने ठाउँमा जमेर बस्यो भने त्यसलाई हेमोराजिक स्ट्रोक भनिन्छ।
तेस्रो- टीआईए स्ट्रोक हुन्छ। यो स्ट्रोकमा आफैं रगत ब्लक भएर केही समयपछि आफैं खुल्छ। त्यसले निकट भविष्यमा ठूलो अट्याक हुन सक्ने संकेत गर्छ।
हेमोराजिक स्ट्रोकको मुख्य कारण रगतको नलीको भित्ता कमजोर हुनु हो। रगतको भित्ता कमजोर हुँदा रगतको फकुण्डोजस्तो बाहिर निस्किन्छ। कुनै किसिमको प्रेसर भयो भने उक्त भित्ता फुट्छ र रत्तश्राव हुन्छ। त्यस्तो अवस्थामा भित्र गएर कोइल हालेर फकुण्डोलाई पुरिन्छ।
कहिलेकाहीं रगतको फकुण्डो नभएर जन्मजातै गुजुल्टो हुन्छ। त्यसमा पनि स-साना कमजोर धमनीहरू हुन्छन्। केही कारणवस ती धमनीहरू फुट्छन्। र, रक्तश्राव हुन थाल्छ।
पक्षघातको प्रमुख कारण स्केमिक स्ट्रोकलाई मानिन्छ। त्यस स्ट्रोकमा इन्टरभेन्सन पद्धतिद्वारा रगतको थेग्लो निकालिन्छ। पक्षघातको विश्वव्यापी कुरा गर्ने हो भने अहिले हामी चौथो एराको अन्तिम चरणमा छौं।
पहिलो एरामा पक्षघात जसलाई हुने हो त्यसलाई हुन्छ, भएपछि केही गर्न मिल्दैन भन्नेजस्ता अफवाह थिए। तर, चौथो एराको अन्तिम अवस्थासम्म आइपुग्दा अहिले पक्षघातको उपचार तथा रोकथाम गर्न सकिन्छ भन्ने कुरा अघि बढिरहेको छ। पक्षघातलाई मृत्युको दोस्रो कारण पनि मानिन्छ।
स्ट्रोक भएको बिरामीलाई ढिलो अस्पताल ल्याइयो भने केही पनि गर्न सकिँदैन। १-२ घण्टाभित्रै अस्पताल पुर्याउन सके निको हुने सम्भावना उच्च रहन्छ। त्यसैले, स्ट्रोकका बिरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन सक्यो, त्यति नै राम्रो मानिन्छ।
कारण- स्ट्रोक भएको १ मिनटमा २० लाख सेल मर्छन्। बिरामीलाई जति ढिलो अस्पताल पुर्याइन्छ, त्यति धेरै सेल मर्ने भएकाले यो निकै खतरनाक छ।
कुनै स्ट्रोकमा हातको नलीबाटै थेग्लो फुटाउने औषधि दिइन्छ। त्यो औषधि स्ट्रोक भएको ४-५ घण्टा भित्र दिन सकिन्छ।
कसरी थाहा पाउने स्ट्रोक ?
स्ट्रोक हुँदा विभिन्न किसिमका लक्षणहरू अचानक देखापर्छन्। ती लक्षणहरू हामीले छोटो रूपमा ‘स.अ.ज.ब.ह.स.’ गरी सम्झिन सक्छौं। ‘स’बाट शरीरको ‘सन्तुलन’ बिग्रनु हो। यस्तै, ‘अ’बाट ‘आँखा’ले नदेख्नु वा धमिलो देख्नु ,‘ज’बाट ‘जिब्रो वा मुख’ बांगिनु वा लत्रनु, ‘ब’बाट बोली लर्बराउनु, ‘ह’बाट ‘हात-खुट्टाहरू’ लुलो हुनु र ‘स’बाट ‘समय’मै अस्पताल पुर्याउनु हो।
यस्ता लक्षणहरू देखिनेबित्तिकै समयमै अस्पताल पुर्याउनुपर्छ। यीमध्ये कुनै पनि लक्षण देखियो भने ठीक भइहाल्छ नि भन्दै लापरवाही गरेर घरमै बस्यो भने पछि केही पनि गर्न सकिँदैन।
तारका माध्यमबाट ब्लक निकाल्न २४ घण्टाको गाइडलाइन छ। त्यसभन्दा बढी समयपछि भने त्यो पद्धतिद्वारा पनि उपचार गर्न मिल्दैन। २४ घण्टाभित्र अस्पताल आउन सकियो भने केही भागलाई बचाउन सकिन्छ।
ढिलो अस्पताल ल्याउँदा मरिसकेका भागहरूलाई पुनः जीवित बनाउन मुस्किल पर्छ। जति मर्न बाँकी अंगहरू छन्, तिनीहरूलाई बचाउन सकियो भने प्यारालाइसिस हुनबाट बचाउन सकिन्छ।
स्ट्रोक भएर ठूलो भाग मर्यो भने २-३ दिनपछि सुन्निन थाल्छ। धेरै सुन्निएर नसुन्निएको भागलाई थिच्न थाल्छ। सुन्निएको भागले अरू महत्त्वपूर्ण भागलाई थिच्यो भने मान्छेको मृत्यु नै हुन्छ। यस्तो बिरामीको खप्पर खोलेर अपरेसन गर्नुपर्ने हुन्छ।
(बी एन्ड बी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. रानाभाटसँग कुराकानीमा आधारित)