काठमाडौं । जाजरकोट भूकम्पका कारण अन्तिम समयमा राष्ट्रपति रामचन्द्र पौडेल युरोप भ्रमण स्थगित हुदाँ सरकारलाई ५५ लाख २२ हजार घाटा छ ।
२०८० कात्तिकमा राष्ट्रपति पौडेलले अन्तिम घडीमा युरोप भ्रमण स्थगित गरेपछि बुकिङ गरेको हवाई टिकट बापतको ५५ लाख २२ हजार रकम अर्थ मन्त्रालयले भुक्तानी गर्नु परेको हो ।
राष्ट्रपति पौडेलको युरोप भ्रमण २०८० कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मलाई तय गरिएको थियो । तर २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि युरोप भ्रमण स्थगित भएको थियो ।
सोही रकम २०८० चैत महिनामा भुक्तानी गरिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । भूकम्पका कारण १५४ जनाको मृत्यु, साढे तीन सयभन्दा बढी घाइते र ६१ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणमा पनि राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण कार्यक्रमको रद्द टिकट बापतको रकम भुक्तानी गर्ने प्रयोजनार्थ ५५ लाख २२ हजार रुपैयाँ रकमान्तर निकासा गरिएको जनाएको छ ।