काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। कार्कीका वारेस अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार रिट निवेदन दर्ता गराएकी हुन् ।
कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन माग गरेका छन् ।
संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत माग गर्दै रिट दर्ता भएको हो । कार्कीले रिट दर्ता गर्दै गर्दा मुख्यमन्त्री कार्की शपथको तयारीमा छन् । एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद विस्तार गर्दै छन् ।
निवर्तमान मुख्यमन्त्री कार्कीले भने कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ।