काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेले मात्रै ७० प्रतिशतसम्म तहमा जित्ने दाबी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘एमालेले कसैको बैसाखी टेक्नु पर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन, हामी एक्लै लड्न सक्छौँ’, उनले भने, ‘हामी ६० देखि ७० प्रतिशत ठाउँमा एक्लै जित्न सक्छौँ, यति जित्न अरुको साहारा लिनु पर्दैन ।’
बैठकलाई सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवी भएको बताए । उनले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीले कम्युनिष्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाए ।
‘नेकपा एमालेले कसरी जित्न सक्छ ? प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ ? कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिष्ट मिल्ने कि समाप्त हुने ? भनेर’, ओलीले भने, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ ? माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ ? यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’
उनले पाँच दललाई कम्युनिष्ट विरोधी शक्तिको संज्ञा दिँदै आगामी निर्वाचनमा परमादेशी र जनादेशी शक्तिको लडाई हुने बताए ।